मृगौला प्रत्यारोपण गराउन विदेशबाट

विदेशमा बसोबास गरिरहेका गैर–आवासीय नेपाली प्रत्यारोपण र अन्य उपचारको लागि केन्द्रमा आइरहेका छन
अतुल मिश्र

भक्तपुर — नेताहरू देशमै सहज उपलब्ध स्वास्थ्य सेवा पाउन विदेश जाने गरेकै बेला एक व्यक्ति अमेरिकाबाट भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र आएर मृगौला प्रत्यारोपण गराएका छन् । उनले नेपालमै प्रत्यारोपण गराउने कारण पैसाको अभाव वा कानुन बाधक भएर होइन ।

मृगौला प्रत्यारोपण गराउन विदेशबाट

बिमाको सुविधा भएका उनी मानव अंग प्रत्यारोपण केन्द्रको उपचार प्रक्रियामा ढुक्क भएर श्रीमतीबाट प्राप्त मृगौलालाई प्रत्यारोपित गराएका हुन् । भर्जिनियामा बस्ने ५७ वर्षीय गणेश दाहालले बुधबार एक साता अस्पताल बसेर पछि डिस्चार्ज भए ।

आफूले मृगौला प्रत्यारोपण गराउन भक्तपुरको केन्द्रलाई रोजेको बताउँदा त्यहाँ भएका आफ्ना नजिकको साथीभाइ, इष्टमित्रले ‘किन गएको’, भन्ने जस्तो प्रतिक्रिया नदिएको उनको अनुभव छ ।

‘काठमाडाैंमा सबैले यही सोध्छन्, हामी उपचारका लागि उता जान खोज्छौं तर तपाईं यहाँ किन आउनुभयो,’ दाहालले भने, ‘आफ्नो ज्यानको सवालमा कसैले कुनै सम्झौता गर्छ र ? म ढुक्क भएपछि मात्र उपचार प्रक्रियामा संलग्न भएको हुँ ।’ आफू ६५ वर्षभन्दा कम उमेरको भएकाले अमेरिकामा प्रत्यारोपण गर्दा लाग्ने शतप्रतिशत खर्च बिमाले नै बेहोर्ने उनी दाबी गर्छन् ।

दाहालले युट्युबमा केन्द्रका निर्देशक एवं प्रत्यारोपण शल्यचिकित्सक पुकारचन्द्र श्रेष्ठबारे जान्ने प्रयास गरेका थिए । यसै क्रममा प्रत्यारोपणका लागि नेपाल अत्यन्त राम्रो हुने थाहा पाएको र त्यसपछि मात्र आफूले उचित ठानेरै उपचार प्रक्रियामा संलग्न भएको उनी बताउँछन् । प्रत्यारोपणमा सफलताको दर पनि ९९ प्रतिशत रहेको थाहा पाएपछि उनलाई आफ्नो रोजाइ सही रहेको लाग्यो ।

केही साताअघि अर्का ग्रिनकार्ड होल्डर साथी पनि मृगौला उपचारका लागि भक्तपुरकै केन्द्र आएको समेत उनी सम्झन्छन् । ‘अमेरिकामा प्रविधि र सुविधा राम्रो छ । तर यहाँ पनि खराब छैन,’ दाहालले भने, ‘सरकारी अस्पताल भएकाले यो आर्थिक रूपमा कमजोर देखियो । अन्य सबै राम्रो छ । प्रत्यारोपण गरिएको साता नबित्दै म तंग्रिएँ, आज घर फर्कंदै छु ।’

उनी फलोअप गर्न अझै ३–४ महिना नेपालमै बसेर पूर्ण स्वस्थ भएपछि अमेरिका फर्कने बताउँछन् । ‘भारतीय, नेपाली मात्र नभएर अमेरिका, बेलायत, अस्ट्रेलिया, अस्ट्रियामा बसोबास गरिरहेका गैरआवासीय नेपाली प्रत्यारोपण र अन्य उपचारका लागि केन्द्रमा आइरहेका छन्,’ डा. श्रेष्ठले भने ।

‘अमेरिका र अरू विकसित देशमा समेत सजिलै प्रत्यारोपण, उपचार गर्न सक्ने हैसियत भएकाले हाम्रो केन्द्रमा विश्वास देखाउनुले हामीलाई काम गर्न झन् हौस्याउँछ,’ उनले थपे । बुधबारसम्म केन्द्रले ४ सय १७ मृगौला र दुईको कलेजो प्रत्यारोपण गरिसकेको छ ।

चुनौती 
-केन्द्रलाई स्थानको अत्यन्त अभाव छ । निर्देशक डा. श्रेष्ठका अनुसार तत्काल स्थान उपलब्ध गराउन सके हाल दिइएको सेवा तीन गुना थप्ने अवस्था छ । यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकसित गर्न सके देशको ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने योजनासमेत रहेको उनी बताउँछन् ।

लक्ष्य 
-हाल मस्तिष्क मृत्युबाट आएको मृगौला तथा कलेजो प्रत्यारोपण नियमित गर्दै जाने केन्द्रको योजना छ भने भविष्यमा मुटु र फोक्सोको समेत प्रत्यारोपणको लक्ष्य राखेको छ ।

उपलब्ध चिकित्सा सेवा
-मृगौलाको सबै प्रकारको उपचार, योसम्बन्धी रोगको रोकथाम, मृगौला प्रत्यारोपण र डायलासिस सेवा
-मुटु र फोक्सोको प्रत्यारोपणबाहेक सबै उपचार सेवा
-पेट तथा कलेजो रोगको उपचार रोकथाम तथा कलेजो प्रत्यारोपण सेवा
-पियर एक्सचेन्ज प्रणालीअन्तर्गत आफ्नो परिवारबीच म्याच नभएका अंगदाता र ग्रहणकर्तामध्येबाट दुई वा दुईभन्दा बढी परिवारमा म्याच गरेर गरिने प्रत्यारोपण सेवा
-केन्द्रमा २४ सै घण्टा अंगदान र प्रत्यारोपण परामर्श सेवा
-मस्तिष्क मृत्यु भएका व्यक्तिबाट आएको अंग प्रत्यारोपण गर्नका लागि नेपाली बिरामीको केन्द्रीय अभिलेख राख्ने व्यवस्था
-अत्याधुनिक प्याथोलोजी सेवा उपलब्ध, रेडियोलोजीतर्फ २५६ स्लाइसको सिटिस्क्यान दुई साताभित्रै जडान हुँदै

नि:शुल्क 
-सरकारले तोकेको मापदण्डअनुसार मृगौला र मुटुको सम्पूर्ण उपचार सेवा
-मृगौलामा डायलासिस साताको दुई वा तीनपटक गरी पूर्ण रुपमा आजीवन
-मृगौला प्रत्यारोपणका लागि प्राथमिक जाँच गर्न ५० हजार रूपैयाँ र प्रत्यारोपण गर्न ४ लाख रूपैयाँसम्म र प्रत्यारोपणपछि औषधि खानका लागि १ लाख रूपैयाँ केन्द्रमार्फत सरकारले उपलब्ध

प्रकाशित : चैत्र ८, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?