१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ध्वस्त वस्तीमा मच्छिन्द्रनाथको रथ तानिदै

राजेन्द्र मानन्धर

दोलखा — भूकम्पले तहसनहस पारेको ऐतिहासिक दोलखा बजारको प्राचीन ध्वंस स्वरुपहरु पन्छाउदै मच्छिन्द्रनाथको रथयात्रालाई स्थानीयले निरन्तरता दिएका छन् ।

ध्वस्त वस्तीमा मच्छिन्द्रनाथको रथ तानिदै

भूकम्पले सतप्रतिशत घरहरु भत्किएको पिङ्गलटोल वस्तीमा ठडिएको अग्लो आकर्षक रथमा आइतबार साँझ मच्छिन्द्रको मूर्तिलाई स्थानीयले बाजा बजाउदै प्रतिस्थापन गरे । मल्लकालीन कला संस्कृतिको झल्को दिनेगरी निर्मित मूर्तिलाई डोकलुङा टोलबाट बाजा बजाउदै पिङ्गलमा ल्याइएको थियो । सो अवसरमा ठूलो संख्यामा स्थानीयहरु सहभागी थिए ।

पुर्ननिर्माणको सकसमा रहेको दोलखा बजारका स्थानीय नेवारी समुदायले मच्छिन्द्रनाथको यात्रालाई यस वर्ष पनि नौ दिनसम्म उत्साहपूर्वक सम्पन्न गर्ने अठोट गरेका छन् ।

स्थानीय जात्रा, पर्व र सांस्कृतिक पक्षहरुलाई एकताको मालामा उन्दै अघि बढेको कालिञ्चोक युवा क्लबको व्यवस्थापनमा चैत्र शुक्ल पूर्णिमाको दिनदेखि मच्छिन्द्रनाथको जात्रा आरम्भ गरिएको हो ।

पूर्णिमाको अवसरमा शनिबार डोकुलुङा टोलमा मच्छिन्द्रनाथ देवताको मूर्तिलाई दुधमा राखी विधिवत् स्नान गरिएको थियो । उक्त दिनदेखि जात्रामा व्रत बस्न, रथ र मन्दिरलाई ढोगेर पुण्य कमाउदै चिताएको इच्छा पूरा गर्न मानिसहरु आउन थालेका छन् । भीमेश्वर नगरपालिका— २ स्थित ऐतिहासिक सहर दोलखा बजारमा जात्रा सुरु हुनु अगावै चेलीबेटीहरु पनि पुजापाठ र व्रत बस्नका लागि माइतीघरमा आएको स्थानीय ज्ञानेद्र प्रधानले बताए ।

सोमबारदेखि पिंगलटोलबाट रथ तान्न सुरु हुन्छ । पिंगलबाट नक्छेटोलमा रथ पुर्‍याउँदा उक्त टोलमा चाडपर्व जस्तै व्रत बस्ने, पुजापाठ गर्ने र आफन्तलाई निम्ता गरी भोज खुवाउने गरिन्छ ।

किसानहरुका लागि सहकालका देवताको रुपमा लिईने मच्छिन्द्रनाथलाई मंगलबार कोर्छेँटोलसम्म पुर्‍याएर विश्राम गरिन्छ । हरेक साँझपखबाट सुरु हुने रथयात्रा बुधबार टसिचा टोलमा पुर्‍याइन्छ । जहाँ रथ पुग्छ, त्यहाँ चाडपर्वको रुपमा मान्ने भएकाले पनि दोलखा बजार रथ तान्ने अवधिभर गुल्जार हुन्छ ।

जात्राको सबैभन्दा रोचक क्षेण ६० डिग्रीको उकालो डास्नीबाट रथ अघि बढाइदाको प्रयासलाई लिइन्छ । बिहीबार डास्नीको उकालोबाट माथिल्लो टोल स्वयम्भु स्तुपसम्म मच्छिन्द्रनाथको रथको चुनौतीपूर्ण यात्रा हेर्न धरै मानिस भेला हुने स्थानीय भरत प्रधान बताउँछन् । चट्टानका खुडकीलाबाट डोरीको साहरामा मानिसहरुको बलले तानेर रथलाई माथ्लो टोलमा उतार्दा खुसियालीमा भोज खाने र खुवाउने चलन छ ।


नौ दिनसम्म रथ तान्नुलाई स्थानीयहरु खडेरी छ भने पानी पर्छ भन्ने विश्वास राख्छन् । बालीनाली सप्रिने र लोकलाई शुख शान्ति प्राप्त हुन्छ भनेर जनविश्वास प्रकट गर्छन् । मच्छिन्द्रनाथको जात्रा हेर्न काठमाडौ उपत्यकाबाट उल्लेख्य भक्तजनहरु आउँछन् ।

काठमाडौ र ललितपुरमा हुने मच्छिन्द्रनाथ रथ यात्राको प्रभावबाट प्राचीन राज्य दोलखा बजारमा पनि सुरु भएको अभिलेखहरुमा भेटिन्छ । गुठीको आयस्ता गुम्दै गएपछि उक्त जात्रा १४ बर्षसम्म रोकिएको थियो । खट बनाएर मानिसले बोकेर घुमाउदै परम्परा धान्दै आएका उक्त जात्रालाई स्थानीय कालिञ्चोक युवा क्लबले व्यवस्थापन गर्न थालेपछि भव्य रुपमा सम्पन्न हुँदै आएको छ । भुकम्पको चोटका बाबजुद पनि ध्वस्त भौतिक संरचना पन्छाउदै जात्रालाई निरन्तरता दिनका लागि भीमेश्वर नगरपालिका र स्थानीयको आर्थिक सहयोगमा जात्रा चल्दै आएको छ ।

प्रकाशित : चैत्र १९, २०७४ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?