३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बाँदरले बस्ती नै विस्थापित

राजेन्द्र मानन्धर

दोलखा — बाँदरले बाली क्षति गरेको त सुनिएकै हो । दोलखाको बोचस्थित बाह्रकुच्चेका बासिन्दा भने बस्ती नै छाडेर भाग्नुपर्ने अवस्थामा पुगेका छन् । अचेल बाँदरको निसानामा बाली नभएर स्थानीय बासिन्दा पर्न थालेका छन् ।

बाँदरले बस्ती नै विस्थापित

भूकम्पले घर भत्काएपछि टहरामा बस्दै आएका उनीहरू बाँदरको कुटाइमा पर्न थालेको बताउँछन् । भीमेश्वर नगरपालिका–८ का वडाध्यक्ष नकुल केसीले बाँदरको त्रासले बाह्रकुच्चेका २५ परिवारले बस्ती छाडेको बताए । ‘भूकम्पले थातथलो जोखिममा परेको यो बस्तीमा बाँदरले अचाक्ली दु:ख दिन थालेकाले बाह्रकुप्चेका बासिन्दा अन्यत्र सरे,’ उनले भने ।


स्थानीय शिक्षक धनबहादुर तामाङले बाँदरले अन्त पनि दु:ख दिने गरेको भए पनि बाह्रकुच्चेका बासिन्दा भने बस्ती नै छाडेर हिँड्न बाध्य भएको बताए ।

बाँदरकै कारण मानेटोलका ३० र उर्लिनीका २० घरधुरी पनि पीडित भएको उनले बताए । ‘यी दुई बस्तीका बासिन्दाले बस्ती नछाडे पनि बाली लगाउन भने छाडेका छन्,’ उनले भने ।


अहिले उक्त क्षेत्रको जग्गा बाँझै छ । लगाएको खेती बाँदरलाई ठिक्क भएपछि उनीहरू जीविकोपार्जनका लागि बनीबुतो गर्ने, श्रमज्याला र वैदेशिक रोजगारीमा जान थालेका छन् । बाँदरबाट लेखेटिए तापनि वृद्धवृद्धा भने बाह्रकुच्चेस्थित थातथलोमै आएर दिन कटाउँछन् । दैनिक एक घण्टाको बाटो हिँडेर आउँछन् र डिलको धाराबाट बाँदरको रजाइँ हेरेर फर्कन्छन् । ‘जन्मेखेलेको ठाउँ चटक्कै कसरी बिर्सन सकिन्छ र ?’ ७१ वर्षीय यमबहादुर बस्नेतले भने, ‘बाह्रकुच्चेमा आएर दिन बिताउने गरेका छौं ।’ उनीहरूका अनुसार १ घण्टा पैदलमा पुगिने पँmुयाल गाउँमा भने घनाबस्तीका कारण बाँदरको डर छैन ।


बाह्रकुच्चेमा भूकम्पले क्षतिग्रस्त भग्नावशेष छन् । चित्राका अस्थायी टहरामा बाँदर छिरेर भत्काएका, चित्राहरू च्यातेका दृश्य देख्न सकिन्छ । ‘यी ढेडुहरूले केही गरिखान दिएनन्,’ ७० वर्षीय कमलबहादुर बस्नेतले भने, ‘सबै खेतीपाती बाँदरकै भोजनका लागि गरिदिएजस्तो भएपछि बस्ती नै बाँदरको जिम्मा लगाएर हिँडयौं ।’ भूकम्पपछि बाँदर आक्रमक बनेको र संख्या पनि बढेको शिक्षक धनबहादुर तामाङले बताए । धान, कोदो, मकै र गहुँलाई पहिला पनि असर गथ्र्यो । अहिले त अलैंची र किबीलाई समेत असर गर्न थालेपछि किसान बाँदरबाट झनै पीडित भएका छन् । बाँदरले हैरान गर्न थालेपछि स्थानीयले सुरुवातमा लखेट्ने र खोरमा हाल्नेजस्ता काम गरेका थिए । त्यसबाट पनि नियन्त्रण सम्भव नभएपछि चार रोपनी जग्गा किनेर अन्यत्र सरेको कमल बस्नेतको दु:खेसो छ । स्थानीय भीमबहादुर एक वर्षअघि बाँदरले घेरेर आक्रण गरेपछि हतारहतार थातथलो छाडेको बताउँछन् । ‘घरमा पस्ने, भाँडाकुँडा फाल्ने, लुगा च्यतिदिने गरेपछि नभागेर के गर्नु ?’ उनले भने । यहाँ करिब हजारको संख्यामा बाँदर छन् । छिमेकी गाउँमा पनि दु:ख दिँदै आएका छन् । वडाअध्यक्ष नकुलले नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताए । ‘यातना नदिई नियन्त्रण गर्नु भन्ने जवाफ आएपछि के गर्ने भन्नेबारे सोच बनाइरहेका छौं,’ उनले भने ।


जिल्लाभरि नै बाँदरको समस्या भएपछि गएको चुनावमा मतदाताले बाँदर नियन्त्रण गरिदिन मागपत्र पेस गरे । उम्मेदवारले नियन्त्रण प्रयास गर्ने भनेर वाचा दिएका थिए । आफूले पनि त्यस्तो वाचा गरेको तर नियन्त्रणका उपाय निकाल्न नसकेको वडाअध्यक्ष केसीले बताए । उनले हाललाई बाह्रकुच्चेका विस्थापितलाई घडेरी उपलब्ध गराइदिन र बाँदरले क्षति पुर्‍याउन नसक्ने खेतीपाती गर्नका लागि सहयोग कार्यक्रम ल्याउने बताए ।

प्रकाशित : चैत्र २१, २०७४ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?