सीता महलको रेट्रोफिटिङ हुँदै

मधु शाही

काठमाडौँ — भूकम्पको लगभग तीन वर्षपछि नक्सालस्थित सीता महल जीर्णोद्वार प्रक्रिया सुरु भएको छ ।

सीता महलको रेट्रोफिटिङ हुँदै

भीमशमशेरले आफ्नी कान्छी महारानी सीतामाया तामाङको नाममा बनाउन लगाएको यो दरबारमा भूकम्पअघि राष्ट्रिय कला संग्रहालय, अरनिको आर्ट ग्यालरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल बाल मन्दिर, भारतीय सांस्कृतिक केन्द्र थिए । विसं. १९८८ मा निर्माण गरिएको यो दरबार अहिले जीर्ण छ । ललितकला प्रज्ञा प्रतिष्ठान अहिले पनि अस्थायी टहरा र टेन्टमै छ ।

जीर्ण भवन बल्ल ‘रेट्रोफिटिङ’ (प्रवलीकरण) गर्न लागिएको प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले बताइन् । सीता भवन पुरानै संरचनामा जोगाउने योजनाअनुरूप प्रबलीकरण प्रक्रिया थालिएको हो । यसका लागि लामो समय पहल गर्नुपरेको उनले बताइन् । भवन पुनर्निर्माण गर्नुभन्दा पनि रेट्रोफिटिङमा लैजानुपर्छ भन्ने मान्यता राख्दै सरकारसमक्ष अनुरोध गर्दा यति बेला बल्ल प्रक्रिया अघि बढ्न थालेको उपाध्यायले बताइन् । ‘पुनर्निर्माणभन्दा पनि पुरानै अवस्थामा भवन बनाउनुपर्ने हाम्रो जोड थियो,’ उनले भनिन्, ‘यो प्रक्रियामा सरकारले सहमति जनाउन झन्डै एक वर्ष लाग्यो ।’

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार यो भवन प्रजातन्त्रपछि सरकारको स्वामित्वमा आएको थियो । विसं. २०२२ मा तत्कालीन युवराज वीरेन्द्रको अध्यक्षतामा ‘नेपाल एसोसिएसन अफ फाइन आर्ट’ (नाफा) खोलिएको थियो । पछि वीरेन्द्र राजा भएपछि नाफालाई नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत राखेर सीता महलबाट सञ्चालन गरियो । लोकतान्त्रिक आन्दोलनपछि संस्थान खारेज गर्दै बेग्लै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान बन्यो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलसमक्ष भवनलाई रेट्रोफिटिङ गर्नुपर्ने अपिल गर्दै आएको कुलपति उपाध्यायले बताइन् ।

प्रतिष्ठानका सदस्यसचिव नवराज भट्टले भने रेट्रोफिटिङबारे प्राधिकरणबाट कुनै आधिकारिक पत्र नआएको बताए । यो विषयमा कुलपति एक्लो प्रयासमा लागिपरेको उनले बताए । यद्यपि सीता महल पुरानै संरचनामा कायम राख्न खोज्नु कला र कलाकारिताका लागि पुनर्जन्मजस्तै रहेको भट्ट बताउँछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले सीता महल रेट्रोफिटिङ प्रक्रियाको पहिलो चरणमा रहेको बताए । भवनको क्षमता, अवस्था र गुणस्तर जाँच गरेर पहिलेको जस्तै बनाउनु रेट्रोफिटिङ हो । उनका अनुसार सीता महलसहित केशर महल, दरबार हाई स्कुल, सिहंदरबारको ग्यालरी बैठक लगायत ८ सम्पदा रेट्रोफिटिङ प्रक्रियामा छन् ।

मानन्धरका अनुसार रेट्रोफिटिङ प्रक्रिया पूरा गर्न कम्तीमा २ वर्ष लाग्छ । ‘मौलिक सम्पदा पुरानै अवस्थामा ल्याउनु सजिलो छैन,’ उनले भने, ‘त्यसमा सिर्जनात्मक क्षमता पनि उत्तिकै खाँचो हुन्छ ।’

जीर्ण सीता भवन पुरानै स्वरूपमा बनाउनु कला र सम्पदा दुवैको अस्तित्व जोगाउनु रहेको संस्कृतिविद् जोशीले बताए । ‘नाफा र सीता भवनको अन्योन्याश्रित सम्बन्ध छ,’ उनले भने, ‘पुरानै ढाँचामा कायम राख्दा इतिहास मर्दैन र त्यस भवनसँग जोडिएका भावनात्मक सम्झनासमेत जीवित रहन्छन् ।’

सीता महल मर्मत नहुँदासम्म भने ललितकला प्रज्ञा प्रतिष्ठान छाप्रोमै रहेर सञ्चालन गर्नुपर्ने बाध्यता छ । भवन नहुँदा पुराना कलाकारका सिर्जना अलपत्र परेका छन् । यसलाई व्यवस्थित गर्न ‘प्रिफयाब’ को अस्थायी भवन बनाएर संग्रहालय स्थापना गर्ने योजना रहेको कुलपति उपाध्यायले सुनाइन् ।

प्रकाशित : चैत्र २३, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?