कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समृद्ध दोलखाको प्रतिबद्धता

दोलखा — नयाँवर्षको अवसरमा आयोजित समारोहमा २०७५ सालमा समृद्ध, विभेदरहित र विकसित दोलखा निर्माण गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।

समृद्ध दोलखाको प्रतिबद्धता

पहाडी पर्यटकीय सदरमुकाम चरिकोटमा पहिलोपटक आयोजना गरिएको सडक महत्सवमा दोलखाका अगुवाहरूले जलविद्युत्, पर्यटन र कृषिको माध्यमबाट दोलखालाई समृद्ध बनाउने अठोट गरेका हुन् । चरिकोट बजारस्थित बुद्ध टोलको आयोजनामा भएको कार्यक्रममा दोलखा विकासको आधारशिला भीमेश्वर नगर भएकोले यसको विकासमा विशेष ध्यान दिइने प्रतिबद्धता पनि गरिएको छ ।


एमाले, कांग्रेस र माओवादी केन्द्रका स्थानीय नेताहरू एउटै मञ्चमा उभिएर २०७५ साल समन्वय, सहकार्य र दोलखा निर्माणको वर्ष भएको बताए । स्थानीय, देश, विदेशका पर्यटकको उपस्थिति रहेको कार्यक्रममा एमालेका गोपाल न्यौपाने, कांग्रेसका सन्तोष रिमाल र माओवादीका नरबहादुर पाख्रिनले दोलखा विकास र समृद्धिका लागि प्रतिपक्ष नै नहुने बताए ।


स्थानीय भेषभुषा, संस्कृति, बाजागाँजा, गीत, नाँचले मनोरञ्जन दिइरहेको कार्यक्रममा प्रदेश सभाका माननीय सांसद पशुुपति चौलागाईं र विशाल खड्काले भीमेश्वर नगरको मौलिक विशेषताहरूसहितको पर्यटकीय केन्द्र बनाउने योजना अघि सारे । नगरभित्रको भीमेश्वर मन्दिर, तामाकोसी नदी, दोलखा बजार, चरिकोट बजार, खरिढुंगा र फिल्म सिटी जस्ता आकर्षक गन्तव्यलाई प्रचारमा ल्याउनुपर्ने प्राय वक्ताहरूको जोड दिए ।


स्थानीय स्वादको खानपान, दोलखाको पर्यटकीय क्षेत्रको प्रदर्शन आदि राखिएको महोत्वसमा भीमेश्वर नगरका मेयर भरत केसीले २०७५ सालभित्र गरिने नगर विकासको खाका प्रस्तुत गरे । महोत्सवका आयोजकहरूले मेयर केसी, चरिकोट बजार क्षेत्रभित्र पर्ने वडा नं. ३ का वडाअध्यक्ष हरिशरण शिवाकोटी र वडा नं. ६ का वडाअध्यक्ष नवीन लामालाई चार वर्षे कार्यकालमा काम गर्ने उत्साह भर्दै नागरिक अभिनन्दनसमेत गरे ।


अभिनन्दन पत्रमा नगर विकासका लागि चार वर्ष कार्यकालमा नागरिकको हातेमालो कायम रहने उल्लेख छ । महोत्सव आयोजक कमिटीका संयोजक सविना श्रेष्ठ मानन्धरले नगरवासीले एक भएर निर्वाचित जनप्रतिनिधिहरूलाई समृद्ध नगर बनाउन जुटिरहेको बताइन् । दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा चरिकोट बजारमा सक्रिय ११ वटा टोलको सक्रियता छ । भीमेश्वर नगरपालिकाले हरेक नयाँ वर्षमा सडक महोत्सवलाई निरन्तर गर्ने घोषणा पनि गरेको छ ।

प्रकाशित : वैशाख ३, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?