२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

सामुदायिक स्कुलमा विद्यार्थी घट्दै, शिक्षक बढ्दै

राजेन्द्र मानन्धर

दोलखा — भीमेश्वर नगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घटिरहे पनि शिक्षकको संख्या बढ्दो छ । पहुँचवाला शिक्षकले नेतृत्व गर्ने विद्यालयमा त झन् शिक्षक आवश्यकभन्दा निकै बढी छन् ।

सामुदायिक स्कुलमा विद्यार्थी घट्दै, शिक्षक बढ्दै

नगरभित्रका प्राथमिक विद्यालयमा एकजना शिक्षकको भागमा औषतमा ९ विद्यार्थी छन् । तर पनि शैक्षिक गुणस्तर भने चित्त बुझ्दो नभएर अभिभावकले आफ्ना बच्चालाई निजी विद्यालयमा भर्ना गर्छन् । जिल्ला शिक्षा कार्यालयले हातहातै पुस्तक दिएर विद्यार्थी भर्नाको लागि सामुदायिक विद्यालयमा आमन्त्रण गरे पनि अभिभावक निजीतिरै गइरहेको देखिन्छ ।


भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण घट्नुको प्रमुख कारण शिक्षक भएको बताए । नगरले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि नि:शुल्क पोसाक वितरण अभियान सुरु गरेको छ । उनकै शब्दमा, ‘भीमेश्वर नगरभित्रका सामुदायिक विद्यालयमा शिक्षकको ओइरो छ भने निजी विद्यालयमा विद्यार्थीको ।’ केहीदिन अघि साखिने निम्न माध्यमिक विद्यालय भवनको उद्घाटन गर्ने क्रममा भीमेश्वरका मेयर केसीले शिक्षकहरुले मेहनत र आफ्नो गुणस्तरीयता कायम नगरे विकल्प खोज्नसमेत चेतावनी दिएका थिए ।


करिब ४० हजार जनसंख्या रहेको भीमेश्वर नगरमा ४४ वटा प्राथमिक विद्यालय छन् । विद्यालयमा शिक्षकको संख्या २ सय ३२ छ । तथ्यांक अनुसार त्यति संख्याको शिक्षकले सामुदायिक विद्यालयमा २ हजार ९ सय ४ विद्यार्थीलाई पढाउँछन् । जिल्ला शिक्षा कार्यालयका अनुसार नगरभित्र १२ निजी विद्यार्थी छन् । कक्षा १ देखि ५ सम्मको भर्नादर हेर्दा निजीले सामुदायिक स्कुलहरुलाई उछिनिरहेको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कले देखाउँछ ।


कक्षा विस्तार तथा उपग्रेडका लागि उपत्यका तथा तराईमा ५० जना विद्यार्थी एउटा कक्षा कोठामा हुनुपर्छ । पहाडमा ४५ जना हुनुपर्छ भने हिमाली जिल्लामा एउटा कक्षा कोठामा ४० जना विद्यार्थी हुनुपर्ने व्यवस्था छ । तर, नगरभित्रका विद्यालयहरु एउटा कक्षामा सरदर नौ/दस जना विद्यार्थी हुन्छन् ।


जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार भीमश्वर-८ स्थित पृथ्वीनारायण आधारभूतमा प्रावि तह १(५) कक्षामा ५९ जना विद्यार्थी छन् । त्यहाँ सात जना प्रावि शिक्षकको दरबन्दी छ । माथिल्लो माटी आधारभूत विद्यालय प्रावि तहमा ३३ जना विद्यार्थीलाई छ जना शिक्षकले पढाउँछन् ।


नगरभित्र २० जना विद्यार्थी पनि नभएको आठ वटा विद्यालय छन् । उक्त आठ वटा विद्यालयको विद्यार्थीहरु जोडा जम्मा एक सय ५० जना पुग्छन् । तर, शिक्षकको संख्या भने २६ जना छन् । उक्त विद्यालयहरुमा पाँच जना विद्यार्थीलाई एक जना शिक्षकले पढाउँदै आएका छन् । शिक्षाका एक जना कर्मचारीको भनाइमा सिकाई र उपलब्धिको मापनमा उक्त विद्यालयका विद्यार्थीहरु नै कमजोर पाइएको छ ।


नगरभित्रका १८ वटा प्राविहरुमा जोडा चार सय ५५ विद्यार्थी भेटिए । उनीहरुका लागि ६५ जना शिक्षक छन् । यो अनुपातले सात जना विद्यार्थीलाई एक जना शिक्षकले दिनहुँ पढाइमा रटाइरहेका छन् । विद्यालय शिक्षा व्यवस्थापनको जिम्मेवारी आएसँगै अनावश्यक विद्यालय गाभ्ने र शिक्षकहरु समायोजन गर्ने भीमश्वर नगरपालिकाले योजना बनाइरहेको छ ।


जम्मा ११ जना विद्यार्थी भएको नगरको वडा नं १ स्थित बोसिम्पा प्राविमा दुई जना शिक्षक र एक जना कार्यालय सहायक खटिरहेका छन् । जहाँ कक्षा १ देखि ३ सम्म पढाइ हुन्छ । छात्राहरुमात्रै अध्ययन गर्ने पशुपति कन्या माविको प्रावि तहमा ८२ जना विद्यार्थीका लागि नौ जना प्रावि शिक्षक छन् । चेतनशील प्रावि जिलू २८ जना विद्यार्थीका लागि चार जना शिक्षक छन् । कुप्रीडाँडा आधारभूत विद्यालय प्राविमा २३ जना विद्यार्थी छन् । त्यहाँ चारजना जना शिक्षक छन् । सर्व मावि जिलूको प्रावि तहमा ५४ जना विद्यार्थी छन् । यी विद्यार्थीका लागि ८ जना प्रावि तहका शिक्षक छन् । बुढाभीमसेन प्राविमा ८१ जनाका लागि ७ सात जना शिक्षक छन् ।


कालिञ्चोकमा दुई सय दुई जनाका लागि १३ शिक्षक छन् । महेन्द्रोदय माविमा ६४ जनाका लागि छ र महांकाल प्रावि चोथाङमा ३८ जनाका लागि ४ जना शिक्षक छन् । सुर्केमावि भण्डारेमा ६५ जनाका लागि पाँच जना, राकुलेश्वरमा ४४ जनाका लागि ५ जना र तिखातल प्राविमा ४८ जनाका लागि छ जना शिक्षक छन् ।

प्रकाशित : वैशाख ४, २०७५ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?