कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हिमाली जिल्लामा पहिलाेपटक वैज्ञानिक वन व्यवस्थापन

राजेन्द्र मानन्धर

दोलखा — दोलखामा वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएको छ । सदरमुकाम चरिकोट स्थित खोर्थली सामुदायिक वनबाट हिमाली जिल्लामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको कार्य सुरु गरिएको छ । 

हिमाली जिल्लामा पहिलाेपटक वैज्ञानिक वन व्यवस्थापन

वन क्षेत्रभित्र वैज्ञानिक पद्दति अनुसार रुख काट्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले हिमाली जिल्लामा पहिलोपटक उक्त अभियान सुरु भएको घोषणा गरे ।


नमूनाको रुपमा सुरु गरिएको वन व्यवस्थापन अभियान अन्तर्गत पहिलो चरणमा एक सय ४० हेक्टरमा सुरु हुने खोरथली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायण थापाले बताए । एक सय ७८ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा वार्षिक कार्ययोजना अनुसार वार्षिक १४ सय वटासम्म रुख काट्न सकिने उनले बताए । काटिएका स्थानहरुमा सल्लाको नयाँ विरुवाहरु रोपिने छ ।


जिल्ला वन अधिकृत गोविन्द दाहालले हैसियत बिग्रिएका वनको गुणात्मक सुधार गर्न उक्त कार्यक्रम सुरु गरिएको बताए । जिल्लाव्यापी रुपमा यो अभियान सुरु गर्ने तयारी भैरहेको उनले बताए । उनका अनुसार दोलखाका अधिकांश रुखहरु बुढा भएकाले काठका लागि समेत अनुपयुक्त हुन छाडेका छन् । जैविक र पर्यावरणिय महत्व समेत घट्दै गएको छ । यस्ता वन क्षेत्रलाई यथास्थितिमा राख्दा अर्थहीन हुने हुँदा वैज्ञानिक व्यवस्थापन थालिएको हो ।


समूहमा हस्तान्तरण भएपछि उपभोक्ता समूहले लामो समयदेखि वन संरक्षण गर्दै आएका छन् । धेरै पुराना रुखहरु धोद्रा हुँदै गएकाले कुहिएर खेर जाने अवस्थामा छन । त्यस्ता रुखहरुले नयाँ विरुवा उत्पादनमा समेत वाधा पर्ने बैज्ञानिक वन व्यवस्थापनको महत्वका बुदाँमा उल्लेख छ । पुराना रुखहरुले अक्सिजन उत्सर्जन गर्न नसक्ने, भूक्षयलाई थेग्न नसक्ने, जतिखेर पनि ढल्नसक्ने भएकाले खतरा हुने र सौन्दर्य पनि दिदैन । त्यसैले उक्त अभियानलाई अंगिकार गरेको सामुदायिक वनका अध्यक्ष थापाले बताए ।


एकैपटक ठूलो मात्रामा वन विनास गरिने हुँदा प्राकृतिक चिडियाखानाको परिकल्पना गरिएको क्षेत्रमा पर्ने असरबारे गहिरिएर अध्ययन भएको चाही देखिदैन । वैज्ञानिक वन व्यवस्थापनले काठको परनिर्भरता हटाउन मद्दत गरिने कुरालाई भने जोड दिइएको छ । उक्त अभियानको कार्ययोजनामा काठको निर्यातमा प्रवर्धन गर्ने, मुलुकको ग्राहास्थ उत्पादनमा टेवा पुग्ने र रोजगारीको अवसर सिर्जना गर्ने कुरा उल्लेख छ ।


पुराना रुखहरुलाई विस्थापित गर्दै नयाँ योग्य रुख विरुवा उत्पादन गर्ने प्रक्रियालाई वैज्ञानिक वन व्यवस्थापन भनिन्छ । यो पद्दतीमा विरुवा रोप्ने, हुर्काउने र काट्ने तीन चरणको सन्तुलन मिलाइन्छ । ठूलो मात्रामा रुख कटान गरिने हुँदा पारदर्शितामा समस्या हुनसक्ने एक उपभोक्ता बताउँछन् । लगातार वृक्षाराेण गरिरहनु र त्यसलाई हुर्काउनु अर्को समस्या हुने पनि उपभोक्ताहरुको टिप्पणी छ ।


जिल्ला वन कार्यालयका अनुसार पारदर्शिता कायम राख्न विरुवाको वैज्ञानिक अभिलेख राखिन्छ । असरहरुलाई न्युनिकरण गर्नका लागि कटानमा आधुनिक मेसिन औजारको प्रयोग गरिन्छ । प्रत्येक रुखमा संकेत हुने र त्यसको नाप, आकार, जीपीएस तथ्याङ्क राखिनाले दुरुपयोग हुन पाउँदैन । उक्त अभियान तराईका केही जिल्लामा यसअघि नै सञ्चालन भैइरहेका छन् ।

प्रकाशित : वैशाख ५, २०७५ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?