२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु

वर्षा र सहकालका देवताका रूपमा लिइने 
प्रशान्त माली

ललितपुर — रातो मत्स्येन्द्रनाथको रथ यात्रा सुरु भएको छ । रथलाई बिहीबार पुल्चोकबाट सांस्कृतिक बाजागाजाका साथ पाटन गा:बहाल पुर्‍याइएको छ । सँगै टंगल टोलमा बनाइएको मीननाथको रथ पनि तानेर गा:बहाल पुर्‍याइएको छ । जटाधारी लोकेश्वर नामबाट मीननाथ प्रख्यात छ । 

रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु

जात्रामा सर्वसाधारणको उत्साहजनक सहभागिता थियो । जात्रामा इन्द्रबाजा (काहा) फुकेर व्यञ्जनकार समुदायका दुई व्यक्ति अग्रपंक्तिमा थिए । शार्दूलजंगको पल्टनको टुकडी, धिमे, नायखीलगायत बाजा बजाइएको थियो ।

‘रथ यात्राको पहिलो दिन पुल्चोकका बासिन्दाले भने जात्रा मनाउँदैनन्,’ संस्कृतिविद् हरिराम जोशीले भने, ‘लगनखेल थति टोलबाट जावलाखेलतर्फ तान्दा मात्र यहाँका बासिन्दाले मनाउने गर्छन् ।’ शुक्रबार (आज) भने गा:बहालका बासिन्दाले जात्रा मनाउँछन् । यसक्रममा मत्स्येन्द्रनाथको रथ गा:बहालबाट नुग: सुन्धारातर्फ तानिनेछ । मत्स्येन्द्रनाथलाई वैष्णवीले विष्णु, शैवले शिव, शाक्तले शक्ति, सौरले सूर्य, ब्राह्मणले लोकेश्वर र बौद्धले करुणामयका रूपमा पुज्छन् ।

‘गा:बहालबाट नुग:सम्मको रथ यात्रा ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले चलाएको किंवदन्ती छ,’ संस्कृतिविद् जोशीले भने । नुग: टोलको विकास गरी श्रीनिवासले नेपाल संवत् ७८१ (विसं १७१८) देखि चलाएको मुनीन्द्ररत्न वज्राचार्यले ‘नेपालका चार प्रसिद्ध करुणमय लोकेश्वर’ पुस्तकमा उल्लेख गरेका छन् । ‘पुस्तककमा नुग:मा मत्स्येन्द्रनाथको ‘त्वाय् (मीत)’ रहेकाले उनलाई भेट गराउन त्यहाँ लगेको कुरा पनि उल्लेख छ,’ जोशीले भने । रथलाई सुनधाराबाट चक्रबही, टंगल हुँदै लगखेल पुर्‍याइन्छ । लगनखेलमा पुगेपछि रथको हयग्रव भैरवलाई एक/एक राँगा, बोका, जिउँदो माछा र हाँसको फुल बलि चढाएर पूजा गर्ने चलन छ । यसपछि लगनखेलबाट थती टोल पुर्‍याइन्छ । भोलिपल्ट थती टोलमै रथको टुप्पोबाट नरिवल खसालिन्छ । नरिवल खसाल्ने दिनमा मत्स्येन्द्रनाथको देवाली दिन पनि तोकिन्छ । पूर्णचण्डी (सिद्धिलक्ष्मी) मन्दिरमा मत्स्येन्द्रनाथसहित बाराहीको देवाली पूजा गरिन्छ ।

यसैदिन मंगलबजारको मणिमण्डपमा चार दिशाको चारै थाममा ४ जोशी (ज्योतिष) बसेर रथलाई थती टोलबाट जावलाखेलतर्फ तान्ने साइत हेरिन्छ । साइत नजुरेसम्म रथलाई थती टोलको चारदोबाटोमै राखिन्छ । साइत जुरेको दिन रथलाई जावलाखेल पुर्‍याइन्छ । रथ जावलाखेल पुगेको ४ दिनपछि भोटो जात्रा मनाइन्छ । भोटो जात्रा सकेपछि मत्स्येन्द्रनाथको रथलाई सानो खटमा बोकेर बुङ्मतीस्थित मन्दिरमा पुर्‍याइनेछ । मीननाथलाई टंगलस्थित चक्रबहिमा पुर्‍याएपछि पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ । जात्रामा राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्ग छत्रले ओढाइ राजकीय सम्मानसाथ रथमा राखिन्छ । जात्रा देखाउन ललितपुकी जीवितदेवी कुमारीलाई हख:बहालको मूलढोकामा ल्याइएको थियो । १२ वर्षसम्म मुलुकमा अनिकाल परेकाले वृष्टि गराउन भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजू र रथचक्र भनिने ललितपुरका ललित ज्यापूले भारत असमबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको लोकोक्ति छ ।

प्रकाशित : वैशाख ७, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?