निर्माण छिटो सक्न मन्त्रीको निर्देशन

मध्यभोटेकोसी जलविद्युत् आयोजना
अनिश तिवारी

जम्बु (सिन्धुपाल्चोक) — ऊर्जामन्त्री वर्षमान पुनले मध्यभोटेकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै अवधि तोकेर काम गर्न निर्देशन दिएका छन् ।

निर्माण छिटो सक्न मन्त्रीको निर्देशन

निरीक्षणका क्रममा शनिबार आयोजना स्थल आएका पुनले निर्माण ढिलाइ नगर्न भन्दै आवश्यकता परे छिटो पूरा गर्न आफूले माथिल्लो तहबाटै पहल गर्ने बताए । सन् २०१७ सम्ममा पूरा गर्ने लक्ष्यसहित निर्माण गरिएको १०२ मेगावाट क्षमताको आयोजना लक्ष्यअनुसार सम्पन्न नभएपछि पुनले यस्तो निर्देशन दिएका हुन् ।

निर्माण कम्पनीसँग अलग्गै बसेर कुरा गर्ने जानकारी दिँदै उनले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न मुलुकभरिकै निर्माणाधीन आयोजनाहरूको काममा समयावधि तोकेर गर्नुपर्ने बताए । आयोजनाको बाँधस्थल, सुरुङलगायत भौतिक संरचनाको अवलोकनपछि उनले निर्माणमा संलग्न चिनियाँ ठेकेदार कम्पनी र परामर्शदाताहरूसँग छलफल गरेका थिए । भूकम्प र स्थानीय समस्यालाई आधार बनाएर निर्माण कम्पनीले काममा ढिलाइ गरेको आवाज उठेपछि पुनले त्यसको समाधानका लागि माथिल्लो निकायमा छलफल गर्ने बताए हुन् ।

उनले जनशक्ति थपेर भए पनि आयोजना निर्माणमा अलिकति पनि ढिलाइ नगर्न भनेका थिए । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको डिजाइन नक्सालाई फाइनल रूप दिने तयारी भइरहेको बताए । ‘नक्साको इस्युले केही समस्या देखिएको छ, त्यसलाई छिटोभन्दा छिटो टुंग्याउनेछौं,’ उनले भने । उनले स्थानीयलाई सेयर, सामाजिक सुरक्षाका योजना र स्थानीय संरचनाका लागि गरिएको प्रतिबद्धता पूरा हुने जानकारी दिए ।

आयोजनाको निर्माणमा राजनीतिक दलहरूबाटै बेलाबलामा अवरोध हुँदै आएको थियो । भूकम्पपछि भने स्थानीय अवरोध नभए पनि आयोजनाको आन्तरिक समस्याले नै निर्माणमा तीव्रता आउन सकेको छैन ।

चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवद्र्धक रहेको भोटेकोसी निर्माण सुरुवात ५ वर्षअघि घिसिङले नै गराएका थिए । भोटेकोसीका अध्यक्ष तथा प्रबन्धक सञ्चालक घिसिङलाई २०७१ सालमा तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले त्यहाँबाट हटाएपछि आयोजना निर्माणमा लामो समय अन्योल भएको थियो । त्यसपछि आयोजनाको प्रमुख कार्यकारी अधिकृत ४ जना फेरिएका छन् । छिटोछिटो हुने कर्मचारीको फेरबदलले पनि आयोजना निर्माणमा बाधा पुगेको एक प्राविधिकको अनुभव छ ।


करिब १४ अर्बमा निर्माण पूरा गर्ने लक्ष्य रहेको आयोजनाको काम सुस्त देखिएको छ । निर्माणमा ढिलाइ भएपछि तोकिएभन्दा २ वर्षपछि २०१९ जुलाईमा पूरा गर्ने लक्ष्य राखिएको छ । मन्त्री पुनसँगै सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटासहितको टोली निरीक्षणमा सहभागी थियो ।

आयोजनाको ७ दशमलब १ किमिमध्ये २ दमलब ७ किमि मुख्य सुरुङ निर्माण भइसकेको छ । यसैगरी ३ सय ७० मिटर पेनस्टक पाइपमा नै संरचना निर्माण भइसकेको छ । यसको लम्बाइ भने ७ सय मिटर हुनेछ । आयोजनाका प्रमुख सुनीलकुमार लामाले छिटोभन्दा छिटो काम सक्ने प्रयास भइरहेको जानकारी दिए । स्थानीय चाकु भन्ने स्थानमा बाँध निर्माण गरी बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने स्थानमा पावर– हाउस निर्माण गरिनेछ ।

प्रकाशित : वैशाख ९, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?