१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मन्थली बजारमा पानीको हाहाकार

रामेछाप — लिफ्ट खानेपानी प्रणाली बिग्रिएपछि रामेछाप सदरमुकाममा ४ दिनदेखि पानीको हाहाकार मच्चिएको छ । मन्थलीका करिब १ हजार धारामा पानी वितरण ठप्प भएपछि स्थानीयहरू टयांकरबाट खानेपानीको जोहो गर्न बाध्य भएका छन् ।

मन्थली बजारमा पानीको हाहाकार

जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएपछि लिफ्ट सिँचाइ सुरु गरिएको थियो । त्यसयता मन्थली पूर्णत: लिफ्ट योजनामा भर पर्दै आएको हो ।


मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तामाकोसीदेखि बादीचौरसम्म पानी फाल्ने प्रणालीमा जडित विद्युत् ट्रान्सफर्मर जलेपछि खानेपानीको समस्या भएको हो । जलेको ट्रान्सफर्मर फेर्न विद्युत् प्राधिकरणले नयाँ ट्रान्सफर्मर उपलब्ध गराए पनि पम्पमै समस्या देखिएको समितिले जनाएको छ ।


‘ट्रान्सफर्मर जडान गरी पानी सञ्चालन गर्न खोज्दा पम्पमै समस्या देखियो,’ समितिका प्रबन्धक जगदीश सुवेदीले भने । सुवेदीका अनुसार ३ पम्पले काम नदिएपछि चौथो पम्प फेर्ने काम बल्ल सकिएको छ । समितिले पम्प फेरे पानी आउला भनेर आशामा बसेका उपभोक्ता विद्युत् सेवासमेत अवरुद्ध भएपछि थप निराश भएका छन् । शनिबार मध्याह्नदेखि विद्युत् सेवासमेत अवरुद्ध छ ।


सुवेदीका अनुसार विद्युत् नहुँदा चलाइने गरिएको जेनेरेटरको ब्याट्री बिग्रिएकाले चालू अवस्थामा छैन । समितिका

पदाधिकारीले चालू अवस्थामा भए पनि जेनेरेटरले पानी तान्दा धेरै तेल खर्च हुने जनाउँदै जेनेरेटरले पानी तान्न आनाकानी गर्छन् । भएको जेनेरेटर सञ्चालन नगर्दा बिजुली जति दिन आउँदैन त्यति दिन पानी वितरण बन्द हुने गर्छ ।


उपभोक्ताले समितिले तोकेको पानी महसुल तिरेपछि जतिसुकै महँगो परे पनि जेनेरेटर सञ्चालन गरेर पानी पम्प गरी वितरण गर्नुपर्ने माग राख्दै आएका छन् । तर समिति उक्त मागप्रति मौन छ ।


शनिबार साँझसम्म पानी पम्प सुचारु भएको छैन । विद्युत् नभई पानी तान्ने काम हुँदैन । विद्युत् प्राधिकरणले दोलखातर्फको ३३ केभी प्रसारण लाइनमा समस्या आएकाले विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ । अर्को ३३ केभी सिन्धुली–मन्थलीको विद्युत्समेत सञ्चालनमा छैन ।

प्रकाशित : वैशाख ९, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?