१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

घर छेउमै उपचार पाएपछि गाउँले दंग

मकवानपुर — मकवानपुर र चितवनको सिमानामा पर्ने विकट चेपाङ बस्तीका बासिन्दा घरछेउमा नै नि:शुल्क रूपमा औषधोपचार गराउन पाउँदा दंग परेका छन् ।

घर छेउमै उपचार पाएपछि गाउँले दंग

नेपाली सेनाको १ नम्बर जगदल गण सुनाचुरी र चितवन मेडिकल कलेजको संयुक्त आयोजनामा राक्सिराङ गाउँपालिका ६ खर्कनटारमा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । आइतबारसम्म सञ्चालन हुने शिविरमा शनिबार बेलुकासम्म ६ सय ५० जनाको स्वास्थ्य परीक्षण गर्नुको साथै नि:शुल्क औषधि वितरण गरिएको जगदल गणका गणपति रामचन्द्र थापाले बताए । काँकडाको धिराङबाट ६७ वर्षीया ठूलीमाया चेपाङलाई उपचारका निम्ति शिविरमा बोकेर ल्याइएको थियो । देब्रे खुट्टा र हात नचल्ने चेपाङलाई चार घण्टाको दूरीबाट बोकेर ल्याइएको थियो ।


चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरेर तत्काललाई औषधि उपलब्ध गराएका थिए । थप उपचारका निम्ति चितवन मेडिकल कलेजमा आउन अनुरोध गरेका थिए । ठूलीमायालाई मात्र होइन, काँकडाको सिलाधुनी, दामराङलगायत क्षेत्रबाट हिँड््न नसक्ने वृद्धवृद्धाहरूलाई उपचारको निम्ति शिविरमा बोकेर ल्याएको थियो ।


चेपाङबस्तीका बासिन्दालाई लक्षित गरेर आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा वृद्धवृद्धा, बालबालिका र किशोरी उमेरमा नै आमा बनेको चेपाङ महिलाको सहभागिता थियो । स्वास्थ्य परीक्षण गरिएका ६ सय ५० जनामध्ये २ सय १० चेपाङ बालबालिका मात्र थिए । ‘अधिकांश चेपाङ बालबालिका कुपोषणबाट ग्रसित थिए,’ चिकित्सक सुरज थापाले भने, ‘बालबालिकामा कुपोषणलगायत विभिन्न समस्या देखियो ।’ २० वर्षको उमेरका ३ सन्तानकी आमा बनेकी दामराङकी सविता चेपाङ आङ खस्ने रोगबाट ग्रसित भेटिइन् । उनी ७ महिनाको बच्चा च्यापेर शिविरमा आएकी थिइन् ।


उनी मात्र होइन, दामराङ, धिराङ र सिलाधुनीबाट आएका २० वर्षदेखि २५ वर्षसम्मका आधा दर्जन किशोरीहरू आङ खस्ने रोगबाट पीडित भेटिएका थिए । शिविरमा मुटुरोग, नाक, कान, घाँटी, स्त्रीरोग, बालरोग, दाँत, हाडजोर्नी, छाला रोगका विशेषज्ञ चिकित्सकले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए । शिविरमा ८ विशेषज्ञ चिकित्सकसहित ३६ स्वास्थ्यकर्मी थिए ।


शिविरमा चितवनको राप्ती नगरपालिका ११ कोराकका चेपाङहरू आएका थिए । विशेषगरी दुर्गम क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालित उक्त शिविरमा मध्यपृतना मुख्यालयका वरिष्ठ सैनिक अधिकृत जोतेन्द्र महत, चितवनका सामाजिक कार्यकर्ता निर्मल पौडलको पनि उपस्थिति थियो ।


शिविरमा हेल्थ क्लिनिक नेपालले औषधि नि:शुल्क उपलब्ध गराएको गणपति थापाले बताए । उक्त शिविरमा अल्ट्रा साउन्डको सुविधा पनि थियो । नि:शुल्क स्वास्थ्य शिविरमा लौरोका सहारामा ५ घण्टा हिँडेर वृद्धवृद्धा आएका थिए । राक्सिराङ गाउँपालिका ६ का सिंहबहादुर चेपाङले यस्तो शिविर वडाका विभिन्न भागमा सञ्चालन गरिदिन अनुरोधसमेत गरे । उनीहरूलेबर्सेनि यस क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आग्रहसमेत गरेका थिए ।

प्रकाशित : वैशाख ९, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?