१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सडकले फेरियो जीवन

राजकुमार कार्की

सिन्धुली — गोलन्जोर गाउँपालिका २ बितिजोर मुर्कीबेंसीका जनकबहादुर परियारको जीवन क्रमश: फेरिँदै छ । दैनिक अभाव झेलिरहने उनको जीवनको दैनिकी फेरिएको मध्यपहाडी लोकमार्गले हो ।

सडकले फेरियो जीवन

परम्परागत खेतीले ३ महिना जेनतेन खान पुग्ने उनलाई मध्यपहाडी सडक सञ्चालनमा आएसँगै गरेको तरकारी खेतीले वर्षैभरिको अभाव टरेको छ । हाल उनले ५ रोपनी जमिनमा तरकारी खेती लगाएका छन् । सरकारी तथा गैरसरकारी निकायबाट तालिम लिएर तरकारी खेती गरेयता उनलाई अभाव भन्ने थाहा छैन ।

‘कालोपत्रे सहितको फराकिलोमध्ये पहाडी सडकले मेरो जीवन बदलियो,’ उनले भने, लोकमार्ग आफू र अरू विपन्नका लागि वरदान साबित भएको उनको भनाइ छ । बनेपादेखिका व्यापारी बेमौसमी तरकारी खरिद गर्न भुवनेश्वरीको ग्वाल्टार र मुर्कीबेंसीमा पुग्छन् । गाउँपालिकाले पनि तरकारी खेतीमा हौसाएको छ । सुनकोसी नदीको पानीलाई लिफ्ट सिँचाइमार्फत करिब ७ सय रोपनीमा तरकारी खेतीका लागि योजना बनाएको छ । गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीका अनुसार धान खेतीभन्दा बाहेकको सबै समयमा तरकारी खेती गर्ने गरी योजना बनाइएको छ । ‘तरकारीमा आत्मनिर्भर मात्र नभई ३ जिल्लामा समेत निर्यात गर्ने गरी लिफ्ट सिँचाइमा लगानी गर्दै छौं,’ उनले भने ।

लोकमार्गले आउजाउमा मात्र होइन, जुनार कृषकको जीवनमा समेत कायापलट गरेको छ । ‘डोकोमा बोकेर बीपी राजमार्गसम्म लगेपछि मात्र जुनार, सुन्तला बजार लैजान सकिन्थ्यो, अहिले सजिलो भयो,’ बासेश्वरका कृषक हस्तबहादुर अस्तानी मगरले भने । त्यसो त तरकारी मात्रै होइन, बीपी राजमार्गको खुर्कोटदेखि उदयपुरको घुर्मीसम्मको ६१ किलोमिटर मध्यपहाडी लोकमार्ग कालोपत्रे भई सञ्चालनमा आएपछि सबैभन्दा बढी होटल व्यवसाय फस्टाएको छ ।

बीपी राजमार्गको पुरानो झाँगाझोलीस्थित रातमाटामा होटल व्यवसाय सञ्चालन गर्दै आएका बद्रि दाहालले मध्यपहाडी लोकमार्ग सञ्चालनसँगै भुवनेश्वरीको ग्वाल्टारमा शाखा विस्तार गरेका छन् । पूर्वी पहाडबाट आउने सवारी साधनलाइ पायक पर्ने स्थानको छनोट गरी आफूले होटलको शाखा विस्तार गरेको उनले बताए ।

मध्यपहाडी लोकमार्गले गोलन्जोर गाउँपालिकाको भीमेश्वर, बासेश्वर, भुवनेश्वरी, बितिजोर, डुडभन्ज्याङ, फिक्कल गाउँपालिकाको खाङसाङ, रत्नावती, पोखरी, महादेवडाँडा, र दुधौली नगरपालिकाको जिनाखु, ककुरठाकुर लगायतका वडावासीलाई प्रत्यक्ष फाइदा पुगेको छ भने आसपासका बासिन्दाको समेत व्यापार–व्यवसाय बढेको छ । मध्यपहाडकै ओखलढुंगा जोड्ने सुनकोसीमा पक्की पुल बनेपछि लोकमार्ग व्यस्त हुन थालेको हो । मध्यपहाडी लोकमार्गले विकासको ढोका खुलेको स्थानीयको भनाइ छ ।

सडकले कृषि, अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, रोजगारीका साथै जीवनस्तरमा महत्त्वपूर्ण परिवर्तन ल्याउन थालेपछि विकासका दृष्टिले वर्षौंदेखि पछि परेका, सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर, खोटाङ, सोलुखुम्बु लगायतका मध्यपहाडी जिल्लाको विकासका सम्भवनाको उदय भएको हो ।

लोकमार्गका कारण विद्युत् आयोजनाका निर्माण सामग्री ढुवानी, स्थानीय स्तरमा उत्पादित कृषि जन्य वस्तुको बजारीकरणदेखि उद्योग र रोजगारको सम्म सम्भावना बोकेको भीमेश्वरका स्थानीय शरद आचार्यको बुझाइ छ । लोकमार्गले यहाँको कृषि, स्वास्थ्य, शिक्षा अर्थतन्त्र, रोजगारी र सर्वसाधारणको दैनिकीमा समेत परिवर्तन ल्याएको छ,’ आचार्यले भने, ‘सडकका कारण ग्रामिण क्षेत्रमा पनि बजारीकरण हुनुका साथै भौतिक संरचनाको निर्माण तथा व्यवसाय विस्तारसँगै रोजगारको अवसर खुलेको छ ।’

लोकमार्गसँग जोडेर घरघरसम्म कृषि सडक निर्माणपछि तरकारी तथा फलफूल खेती र गाईभंैसी पालनमा कृषक लागेका छन् । ५ वर्ष अघिसम्म नुन, तेल, खाद्यान्न लगायत सामग्री एक दिनको पैदलबाटो बोकेर ल्याउने गरेको भुवनेश्वरी वडाध्यक्ष पुष्कर बराललाई याद ताजै छ । चाडबाडलगायत अन्य समयमा सामानको भारी ल्याउँदा दुखेको थाप्लोको डाम अझै मेटिएको छैन, यसरी सरर गाडीमा आउन पाइएला भन्ने कसलाई लागेको थियो र ? उनले भने, ‘अब कृषकका हितमा काम गर्न सके समृद्धितिर अगाडि बढिन्छ ।’

प्रकाशित : वैशाख १०, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?