स्थानीय तहको काम ठप्प

भक्तपुर — मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि शनिबार साँझ भएको आक्रमणको विरोध गर्दै जिल्लाका तीनवटा स्थानीय तहको काम कारबाही आइतबार दिनभर ठप्प रह्यो ।

स्थानीय तहको काम ठप्प

जिल्लाको मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले नगरप्रमुख श्रेष्ठमाथिको सांघातिक आक्रमणको भत्र्सना गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरी नगरपालिकाको काम ठप्प पारे ।


स्थानीय तहको काम कारबाही ठप्प हुँदा सेवाग्राही खाली हात फर्किन बाध्य भए । भक्तपुरका जनप्रतिनिधिहरूले सुरक्षाका कारण जनताको काम गर्न समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालयसमक्ष उचित सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन् । जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलालको नेतृत्वमा जनप्रतिनिधि तथा राजनीतिक दलहरूले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सुरक्षा माग गरेका हुन् ।


‘यदि जनप्रतिनिधिलाई भयरहित वातावरण नभए विकास निर्माणको काम गर्न समस्या हुन्छ,’ गेलालले भने । उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणमा संलग्न व्यक्ति, आपराधिक समूहलाई यथाशीघ्र पत्ता लगाई जनप्रतिनिधिलाई निर्धक्क भएर जनसेवा गर्ने वातावरण सिर्जना गर्न प्रशासनसँग माग गर्दछौं ।


कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य हरिशरण लामिछाने, सूर्यविनायक नगरप्रमुख वासुदेव थापा, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, मध्यपुर थिमि नगरउपप्रमुख अञ्जनादेवी मधिकर्मी, एमाले जिल्ला कमिटी भक्तपुरका कार्यवाहक अध्यक्ष बचन देउजालगायतले आक्रमणकारीलाई यथाशीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारी पोखरेलमार्फत सरकारसँग माग गरेका छन् ।


नगरप्रमुख श्रेष्ठ शनिबार साँझ मध्यपुर थिमि–३ गठ्ठाघरस्थित निवासमै आक्रमणमा परेका छन् । आक्रमणकारीको रड प्रहारबाट घाइते श्रेष्ठको नेपाल–कोरिया मैत्री अस्पताल थिमिमा उपचार भइरहेको छ । आक्रमणकारीले श्रेष्ठको बा८च ८७२० नम्बरको कारसमेत तोडफोड गरेका छन् । कारको सिसा फुटेको छ ।


जिल्ला प्रशासन कार्यालय भक्तपुरले नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको भत्र्सना गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा आक्रमणमा संलग्नहरूको खोजी कार्य तीव्र रहेको उल्लेख छ । आक्रमणमा संलग्न व्यक्ति वा समूहलाई यथाशीघ्र पक्राउ गरी कानुनबमोजिम कारबाहीका लागि स्थानीय प्रशासन प्रतिबद्ध रहेको पोखरेलले बताए ।

प्रकाशित : वैशाख १०, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?