कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यापारिक थलो बन्दै सार्वजनिक शौचालय

शौचालयको व्यवस्थापन दिनप्रतिदिन खस्कँदो छ दुर्गन्धित र छिर्नै नसकिने
फातिमा बानु

काठमाडौँ — सर्वसाधारणका लागि दिसापिसाब गर्न बनाइएका सार्वजनिक शौचालय व्यापारिक थलो बन्दै गएको पाइएको छ । दिनभरि शौचालयकै रूपमा प्रयोग भए तापनि राति भने त्यहाँ फुटपाथे व्यापारीले सामान थन्काउने गरेका छन् ।

व्यापारिक थलो बन्दै सार्वजनिक शौचालय

मोबाइलसम्बन्धी सामानका पोका, नाङ्लो व्यापारीका सामान, जुत्तामोजा र लत्ताकपडा जस्ता सामानले भरिन्छ, सार्वजनिक शौचालय । समान राखिदिएबापत सञ्चालकले पाँच सयदेखि १५ सयसम्म भाडासमेत उठाउने गरेका छन् ।


विशेष गरेर रत्नपार्क क्षेत्र वरपरका सार्वजनिक शौचालयमा यस्तो अभ्यास बढ्दो छ । रत्नपार्क वरपर मात्रै पाँच सार्वजनिक शौचालय छन् । शौचालयको व्यवस्थापन दिन प्रतिदिन खस्कँदो छ । दुर्गन्धित र छिर्नै नसकिने । ती शौचालय अपांगमैत्री, बालबालिकामैत्री र महिलामैत्री बन्न सकेका छैनन् । विशेषगरी सडक व्यापारी र महिला यसको मारमा परेका छन् । पर्याप्त पानी, सेनेटरी प्याड र बत्ती केही पनि छैन । साबुन, टावेल पनि राखिएको छैन ।


कतै त ढोका पनि छैन, ढोका भए चुकुल छैन । मुख्य ठाउँहरूमै सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई दिसापिसाब च्यापेर हिँड्नुपर्ने बाध्यता छ । सार्वजनिक शौचालय चलाएबापत सञ्चालकले महानगरलाई मासिक २ लाख ५० हजार बुझाउनुपर्ने हुन्छ । तर शौचालय मर्मत सम्भारमा महानगरले लगानी गर्ने गरेको छैन । महानगरले शौचालय बनाएर छाडेको छ, मर्मत सम्भार गरेको छैन । सञ्चालकले आफ्नै खर्चमा मर्मत गर्दै आइरहेका छन् ।


खर्चजति भौतिक मर्मतमा लगानी गर्नुपर्ने हुँदा सरसफाइका सामान किन्न नसकेको उनीहरू गुनासो गर्छन् । सार्वजनिक शौचालय सञ्चालक विनोद अवाले भन्छन्, ‘चर्पी बनाउनु कि, साबुन/फिनेल किन्नु, फेरि कर्मचारीलाई तलब पनि दिनैपर्‍यो ।’ कर्मचारीलाई तलब दिन नसक्दा आफूले फुटपाथे व्यापारीका सामान राखिदिएर खर्च उठाउने गरेको उनले सुनाए । शौचालयबाट निष्कासन हुने दिसापिसाबको पनि उचित व्यवस्थापन हुन सकेको छैन ।


सरसफाइ नगरिएको शौचालयमा प्रयोगकर्ताको स्वास्थ्य त जोखिममा छ नै, वरपरका बस्ती पनि उत्तिकै जोखिममा छन् । राजधानीका शौचालयबाट निस्कने लेदो प्रशोधन नभई सिधै मिसिएको छ, विष्णुमती र वाग्मती नदीमा । सरसफाइ विज्ञ विपिन डंगोल भन्छन्, ‘सेफ्टी ट्यांकीको दिसापिसाब पनि सिधै वाग्मतीमा मिसाउँछन्, यो त काठमाडौंका सबैले खुला दिसापिसाब गरेजत्तिकै भयो ।’ शौचालयको सरसफाइ नहुनुमा सञ्चालक र प्रयोगकर्ता मात्रै दोषी छैनन् । सरसफाइसम्बन्धी नियमहरू नबन्नु, भएका पनि स्पष्ट नहुनु पनि मुख्य कारक तत्त्व हुन् । वातावरण इन्जिनियर कृष्णराम यन्दो भन्छन्, ‘ऐनले सार्वजनिक शौचालय दैनिक तीनपटक सफा गर्ने भनिए तापनि कहिले र कुन चिजले सफा गर्ने भनिएको छैन ।’ राजधानीका शौचालयको अवस्था नाजुक हुँदै गएको उनी बताउँछन् । युरोलोजिस्ट डा. नाजिया कुरेशका अनुसार प्रत्यक तीन घण्टामा पिसाब नगरे संक्रमणको जोखिम हुन्छ । तर सर्वसाधारणलाई घन्टौंसम्म दिसापिसाब च्यापेर हिँड्नुपर्ने बाध्यता छ ।


उनी भन्छिन्, ‘फोहोर शौचालयको मारमा बढी महिलाको स्वास्थ्य जोखिममा छ, महिला अस्वस्थ हुँदा परिवार नै रोगी बन्न सक्छन् ।’ सरसफाइ अभियन्ता प्रकाश अमात्य भन्छन्, ‘शौचालयबाट निष्कासित दिसापिसाबलाई आम्दानीको स्रोत बनाउन सकिन्छ, आम्दानी र स्वच्छ सहर निर्माण दुवैमा सघाउ पुग्न सक्छ ।’ शौचालय सफा राख्न सकेमा प्रयोगकर्ता बढी आम्दानी वृद्धि हुने उनको भनाइ छ । मानव मलमूत्रबाट बायोग्यास उत्पादन गर्न सकिने विज्ञहरू बताउँछन् । रत्नपार्कको एक शौचालयमा यस्तो अभ्यास सुरु पनि गरिएको छ । सार्वजनिक शौचालय फोहोर भएकै कारण खुला दिसापिसाब बढेको छ । आकाशेपुल, सडक र र खुलामञ्च अत्यधिक फोहोर हुँदै गएको देखिन्छ ।


आजभोलि ‘स्मार्ट शौचालय’ चर्चामा छ । यस्तो शौचालय स्वचालित हुन्छ ।काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रममा ‘स्मार्ट शौचालय’ बनाउने घोषणा गरेको थियो । तर सडक विभागसँगको सहकार्य नमिल्दा ‘स्मार्ट शौचालय’ बन्न अप्ठ्यारो भएको महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।


‘महानगरको नाममा सडक छैन, हामीले मात्रै चाहेर राजधानीमा शौचालय बन्न सक्दैन,’ कार्कीले भने । हाल राजधानीमा ७५ वटा मात्रै सार्वजनिक शौचालय छन् । पानीको अभावका कारण सार्वजनिक शौचालयहरू व्यवस्थित गर्न कठिनाइ भइरहेको खानेपानी तथा ढलनिकासको वातावरण शाखा प्रमुख प्रेमकृष्ण श्रेष्ठले बताए ।

प्रकाशित : वैशाख १०, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?