कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गढपर्खाल संरक्षण गरिने

शिल्पा कर्ण

काठमाडौँ — पृथ्वीनारायण शाह सन् १७६६ मा कीर्तिपुर विजय गर्नुअघि दुईपल्ट हारिसकेका थिए । कीर्तिपुरेको वीरताका साथै पृथ्वीनारायणको सेनालाई भित्र पस्न नदिन त्यहाँको गढपर्खालको भूमिका महत्त्वपूर्ण रहेको बताइन्छ । इतिहास हेर्दा गढपर्खाल नाघ्न नसकेकै कारण दुईपल्टको आक्रमणमा पनि गोर्खाली सेनाले विजय हासिल गर्न सकेको थिएन ।

गढपर्खाल संरक्षण गरिने

कीर्तिपुर युद्धका तस्बिरहरूमा पर्खालमा सिँढी लगाएर चढ्ने प्रयास गरिरहेका गोर्खाली सेना देख्न सकिन्छ ।


बस्ती विकाससँगै गढपर्खालको अस्तित्व हराउँदै गयो । अहिले भने नगरपालिकाले त्यसको संरक्षणका लागि अध्ययन गरिरहेको छ । फागुनमा गढपर्खालको अध्ययन र संरक्षणका लागि गर्न सकिने कार्यबारे सुझाव दिन स्थानीय, अध्येता र नगरपालिका कर्मचारी सम्मिलित पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलको अध्ययन लगभग सकिसकेको छ । यद्यपि प्रतिवेदन तयार भइनसकेको नगरपालिकाले जनाएको छ । कार्यदलका सदस्य तथा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनुज प्रधान अहिले गढपर्खालका अधिकांश क्षेत्र बस्तीले ढाकिसकेको बताउँछन् ।


विशेषगरी वडा नं. १, २, ३, ९ र १० मा बढ्दो बस्तीले पर्खाल छोपिइसकेको छ । प्रधानले भने, ‘९ र १० को आंशिक क्षेत्र नयाँबजार, खसीबजार जस्ता ठाउँ प्राचीन बस्तीमा पर्छन् । त्यहाँ पर्खालका अवशेष छन् तर ठूला–ठूला घरले छोपिएका छन् । ढोकाहरू पनि हराइसके, देवढोका मात्र पहिलेझैं छ ।’ अहिले पर्यटकीय महत्त्वका दृष्टिले र इतिहास तथा अन्य विषयमा अध्ययन गर्नेका लागि महत्त्वपूर्ण हुने भन्दै नगरपालिका आफ्नै इतिहास खोजी संरक्षण गर्न लागिपरेको छ ।


कार्यदल सदस्य प्रधानका अनुसार बाँकी रहेका पर्खाल र ढोकालाई नगरपालिकाले संरक्षण गर्ने योजना छ । उक्त पर्खालको अधिकांश भाग ढुंगा र माटोले बनेको छ भने कतै कतै मल्लकालीन इँटा पनि भेटिएका छन् । अध्ययनका क्रममा गढपर्खालको चौडाइ ४ फिट हाराहारीमा रहेको देखिएको छ । डेढ किलोमिटरभन्दा बढी लम्बाइको पर्खाल कीर्तिपुरको थुम्कोलाई, दरबारसहितको भित्री बस्तीलाई बाहिरी आक्रमणबाट जोगाउन लगाइएको थियो ।


पर्खालमा आवतजावत सहज बनाउन ठूला ढोकामा काठका पल्ला लगाइएका हुन्थे । यसले उक्त क्षेत्रका कलालाई पनि प्रतिविम्बित गर्ने स्थानीयको बुझाइ छ । भित्री बस्ती वरपर र दरबार क्षेत्र नजिक किलाको सुरक्षाको हिसाबमा लगाइएको पर्खालमा १२ वटा ढोका रहेको भेटिएको छ । जसमा अहिले ५/६ वटा मात्र छन् । त्यसमा पनि पल्ला छैनन् । कतिपय त पछि मात्र पुनर्निर्माण गरिएका हुन् । ‘नयाँ बनाइएका ढोकामा पल्ला राख्नु अब व्यावहारिक पनि देखिएन,’ स्थानीय वीरेन्द्र शाक्यले भने, ‘तर यसले त्यसबेला सुरक्षाका मामिलामा कीर्तिपुर कति संवेदनशील थियो र सुरक्षाका उपायबारे सचेत थियो भन्ने देखाउँछ ।’


पर्खालसँगै जोडिएका सबै ढोकाको उद्देश्य फरक–फरक हुन्थ्यो । जस्तो नगरपालिकाको पछाडि रहेको ‘देवढोका’ बाट कीर्तिपुरका जात्रा तथा धार्मिक कार्य सुरु हुन्छन् । त्यसैगरी शव लान ‘सिं ढोका’ प्रयोग गरिन्थ्यो । अहिले देवढोका मात्र पुरानो शैलीमा छ । एकातिर इँटा र सिमेन्ट प्रयोग गरी पुनर्निर्माण गरिए पनि अर्कोतिर भने पुरानै शैलीको पर्खाल छ ।

मेयर रमेश महर्जनले शनिबार सरोकारवाला तथा स्थानीयद्वारा आयोजित कार्यक्रममा पर्खाल संरक्षणका लागि तत्काल गर्न सक्ने कार्य गरिने बताए । उनले भने, ‘तत्काल नमुनाका रूपमा भए पनि भत्किएका क्षेत्रलाई संरक्षण र पुनर्निर्माण गर्नेछौं । उक्त क्षेत्रमा नयाँ घर निर्माण गरे नक्सापास रोक्ने वा अन्य के गर्न सकिने हो गर्छौं ।’

प्रकाशित : वैशाख १०, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?