द्रुतमार्गका काठ सामुदायिक वनलाई

प्रताप विष्ट

हेटौंडा — नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्गको ट्रयाक खोल्ने क्रममा कटान भएका काठ तथा दाउरा सामुदायिक वनलाई हस्तान्तरण गरेको छ ।

द्रुतमार्गका काठ सामुदायिक वनलाई

बहुप्रतीक्षित नेपाली गौरवको आयोजना ‘फास्ट ट्रयाक’ निर्माणको जिम्मा पाएको सेनाले हाल मकवानपुर क्षेत्रमा रुख कटानको कार्य गरिरहेको छ । सेनाले सोमबार ३ सामुदायिक वन क्षेत्रमा कटान भएका काठ तथा दाउरा सामुदायिक वनलाई हस्तान्तरण गरेको हो ।

सेनाले हेटौंडा–१८ स्थित पञ्चकन्या र गोरक्षनाथ सामुदायिक वन तथा बकैया–५ को दुर्गामाई सामुदायिक वन क्षेत्रका काठ हस्तान्तरण गरेको हो ।

नेपाली सेनाका सहायक रथी तथा काठमाडौं–तराई मधेस द्रुतमार्गका कार्यकारिणी प्रमुख भरतबहादुर खड्काले सामुदायिक वन अध्यक्ष तथा पदाधिकारीलाई काठ हस्तान्तरण गरेका हुन् । सेनाले पञ्चकन्या सामुदायिक वनमा माघ १५ गतेबाट चैत २ गतेसम्म काम गरेको थियो । सेनाले उक्त वन क्षेत्रमा ३ हजार ७ सय ७० रुख कटान गरेको थियो । पञ्चकन्यालाई ६ हजार ९६ गोलिया (४६ हजार ९४ क्युफिट) तथा ८७ दशमलव पाँच चट्टा दाउरा हस्तान्तरण गरेको छ ।

फागुन २६ गतेदेखि चैत २ गतेसम्म गोरक्षनाथमा सामुदायिक वन काम थालेको सेनाले १ सय ७४ वटा रुख कटान गरेको थियो । सेनाले २ सय ६५ थान गोलिया (२ हजार ८९ क्युफिट) र ५ दशमलव ५ चट्टा काठ गोरक्षनाथ सामुदायिक वनलाई हस्तान्तरण गरेको हो । फागुन २८ गतेदेखि चैत २९ गतेसम्म दुर्गामाई सामुदायिक वन काम गरेको सेनाले धरान–चतरा रोडभन्दा उत्तरपट्टि काठ काट्ने काम सम्पन्न गरिसकेको छ । सेनाले गोरक्षनाथ वन क्षेत्रमा एक हजार चार सय ८४ रुख कटान गरेको थियो भने तीन हजार एक सय ९६ थान गोलिया र ७४ चट्टा काठ हस्तान्तरण गरेको छ ।

सामुदायिक वन प्रतिनिधिलाई काठ हस्तान्तरण गर्दै नेपाली सेना । तस्बिर : प्रताप

सेनाका सहायक रथी तथा काठमाडौं–तराई मधेस द्रुतमार्गका कार्यकारिणी प्रमुख खड्काका अनुसार तीनवटा सामुदायिक वनमा गरी कुल ६ किलोमिटर क्षेत्रमा रुख कटान भएको छ । ‘द्रुतमार्गको काम तीव्र रूपमा भइरहेको छ । कटान सम्पन्न नभएसम्म अरू काम नदेखिने भयो ।’ उनले एउटा रूख काटिएकोमा ३ ठाउँमा वृक्षरोपण गर्ने योजना रहेको बताए ।

‘सामुदायिक वनले उपलब्ध गराउने जग्गामा सेना वृक्षरोपण गर्न तयार रहेको छ,’ उनले थपे । उनका अनुसार रुख कटानमा दैनिक दुई सय जना सेना र आवश्यकताअनुसार बाहिरका कामदाहरू परिचालन भइरहेका छन् ।

‘हामी तोकिएको समयमा काम पूरा गर्ने गरी अगाडि बढिरहेका छौं । केही अड्चन छन्,’ उनले ट्रयाक खन्ने क्रममा बिरुवा नपुरिने र गाउँलाई असर नगर्ने गरी काम गर्न निर्देशन समेत दिए । उनले स्थानीयवासी, ठेकेदार तथा सेनाबीचको समन्वयको कारण तीव्र रूपमा काम अगाडि बढिरहेको दाबी गरे ।

प्रमुख जिल्ला वन अधिकृत प्रह्लादप्रसाद धितालले द्रुतमार्गले मकवानपुरका १४ वटा सामुदायिक वनक्षेत्र भएर जाने बताए । ‘हाम्रो प्रत्यक्ष सहभागिता, सामुदायिक वनको उपस्थितिमा काम भइरहेको छ’, उनले भने । हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँले सामुदायिक वनलाई सेनाले काठ उपलब्ध गराएको र अब पारदर्शी ढंगबाट उपभोक्तलाई आवश्यक काठ वितरण गरी बाँकी टेन्डरमार्फत बिक्री–वितरण गरिने बताए ।

‘अब पारदर्शी ढंगबाट काम गरेर वनको नियमअनुसार सामुदायिक वन, गरिबीको रेखामुनि रहेकाका लागि र वनको विकासमा खर्च गर्नुपर्छ ।’ उनले भने । सामुदायिक वनले प्राप्त गर्ने आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका र बाँकी ४० प्रतिशत स्थानीय क्षेत्रको विकासमा खर्च गर्न पाउने प्रावधान छ ।

पञ्चकन्या सामुदायिक वन अध्यक्ष मञ्जु पण्डितको सभाध्यक्षतामा भएको काठ हस्तान्तरणमा दुर्गामाई सामुदायिक वन अध्यक्ष शेरमान घलान, पञ्चकन्या पूर्वअध्यक्ष केशव पण्डित, गोलरक्षश्वर सामुदायिक वन अध्यक्ष ललितादेवी बानियाँलगायतले आफ्नो धारणा राखेका थिए ।

७६ किलोमिटर लामो द्रुतमार्ग ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य सेनाले राखेको छ । सेनाले द्रुतमार्ग निर्माणलाई दस क्षेत्रमा विभाजन गरेर निर्माण कार्यलाई अगाडि बढाइरहेको छ । ललितपुरको खोकना, चाल्नाखेल, मकवानपुरको इपा, गढी, छतिवन र लालगाउँ हुँदै बाराको निजगढ जोडिने द्रुतमार्ग काठमाडौंबाट १ घण्टामा पुग्न सकिने बताइएको छ । ४ लेनको द्रुतमार्गको २३ किलोमिटर भाग पहाड र बाँकी तराईमा पर्छ । द्रुतमार्गमा पर्ने सानाठूला गरेर करिब १ लाख १४ हजार रुख कटान गर्नुपर्ने हुन्छ । सरकारले सेनालाई फास्ट ट्रयाक निर्माण गर्न जिम्मेवारी दिएपछि १० स्थानमा सैन्य शिविर राखिएको छ ।

द्रुतमार्गमा रहने हरेक शिविरले ७/८ किलोमिटर सडक हेर्ने गरी व्यवस्थापन गर्ने सेनाले जनाएको छ । सेनाबाट हुने काम सेनाले गर्ने र नहुने निर्माण कार्य सेनाकै निगरानीमा अनुभवी निर्माण कम्पनीले काम गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

काठमाडौंमा ४ दशमलव ९, ललितपुरमा ७ दशमलव ९, मकवानपुरमा ५६ दशमलव ७ र बारामा ७ दशमलब ६ किलोमिटर गरी कुल ७६ दशमलब २ किलोमिटर लामो फास्टट्रयाकमा बत्ती जडानलगायत अन्य कार्यहरू भइरहेका छन् । द्रुतमार्ग निर्माण गर्न सरकारले सेनालाई ४ वर्षभित्र निर्माण गर्न जिम्मा दिएको थियो । आयोजना सम्पन्न भएपछि यस क्षेत्रको आर्थिक, सामाजिक र व्यापारमा वृद्धि हुन्छ । साथै वार्षिक १० अर्बको इन्धन बचत हुनेछ । द्रुतमार्ग बनेपछि काठमाडौं र निजगढ आउजाउ गर्न एकातिरबाट १ घण्टा मात्र लाग्नेछ । यस मार्गमा दैनिक पाँच हजार सवारीसाधनको आवागमन हुनेछ । २०६७ मा ९४ करोडको लागतमा २२ मिटर चौडाइको ट्रयाक पनि सेनाले ३ वर्ष लगाएर खोलेको थियो ।

प्रकाशित : वैशाख ११, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?