२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सौर्य ऊर्जाले फेरियो चेपाङको दैनिकी

हेटौंडा — मकवानपुरका विकट क्षेत्रका अँध्यारा गाउँहरू सौर्य ऊर्जा र पेल्ट्रिक सेटका कारण झलमल्ल भएका छन् । सौर्य ऊर्जाको प्रयोगसँगै उनीहरूको सूचना तथा सञ्चारको पहुँचमा समेत वृद्धि भएको छ ।

सौर्य ऊर्जाले फेरियो चेपाङको दैनिकी

ऊर्जा आपूर्तिसँगै उनीहरू स्थानीय एफएम रेडियो र टेलिभिजनमार्फत देश–विदेशका ताजा खबर सुन्ने र मनोरञ्जन लिने कामसमेत गर्न थालेका छन् ।

‘सौर्य ऊर्जा र पेल्ट्रिक सेटका कारण उनीहरूको दैनिकीमा नै परिवर्तन आएको छ,’ राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘उज्यालोले बाहिरको अँध्यारोलाई मात्र मात्र नभई मनभित्रको अँध्यारो पनि हटाउने काम गरेको छ ।’

सोलार र पेल्ट्रिक सेटको उज्यालोका कारण स्कुले बालबालिकालाई पनि पठनपाठनमा सहज भएको छ । राक्सिराङ गाउँपालिकाका मानबहादुर चेपाङले भने, ‘अहिले छोराछोरीहरू अबेरसम्म पढ्ने गर्छन् ।’ त्यतिमात्र होइन, उज्यालोमा बाहिरको काम गरेर बेलुका घरायसी कामका लागि पनि सहज भएको छ । ‘सोलार बत्ती जडान गरेका बासिन्दाको दैनिकीमा परिवर्तन भएको छ,’ कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले भने, ‘टुकीको भरमा जीवन गुजार्दै आएका चेपाङ बस्तीका बासिन्दा गाउँमै उत्पादित बिजुलीको उज्यालोमा बस्न पाउँदा दंग छन् ।’

राक्सिराङ गाउँपालिका–६ काँकडास्थित सिदाम र तिलबारीका बासिन्दा विगत केही दिनदेखि बिजुलीको उज्यालोमा रमाउन पाएका हुन् । काँकडास्थित सिदाम खोलाको पानीबाट साढे ३ किलोवाट क्षमताका विद्युत् उत्पादन गरेर सिदाम र तिलबारीका ५० चेपाङ र तामाङ घरधुरीले बिजुली बालेका हुन् । टुकीको भरमा जीवन बिताउँदै आएका बासिन्दाको घरमात्र उज्यालो भएको छैन, घरमा टीभी पनि हेर्न थालेका छन् । वडाध्यक्ष सिंहबहादुर चेपाङले भने, ‘स्थानीयवासीका छोराछोरीले बेलुका पढ्ने अवसर पाउनुका साथै समाचार सुन्न थालेका छन् ।’ हेटौंडा–नारायणघाट सडक खण्डको लोथर बजारबाट ६ घण्टा पैदल हिँडेर पुगिने काँकडा सिदामका बासिन्दाहरू घर/घरमा बिजुली बलेपछि मक्ख परेका छन् । उनीहरूले दुर्गम गाउँमा पनि बिजुली बल्छ भन्ने सोचेका पनि थिएनन् ।

यसरी बिजुलीको उज्यालोमा बस्न पाइएला भनेर कल्पनासमेत नगरेको स्थानीयको भनाइ छ । ‘आजकल मोबाइल चार्ज गर्न बजार झर्न पर्दैन,’ तिलबारीका मनलाल चेपाङले भने, बिजुलीबाट गाउँमा धेरै सुविधा पुगेको छ ।’ खैराङस्थित कालिका माध्यामिक विद्यालयका प्रधानअध्यापक धीरेन्द्र झाले भने, ‘सोलार र पेल्ट्रिक सेटले यस क्षेत्रका बासिन्दाको जीवनशैली फेरिएको छ ।’ अनुदान तथा सस्तो मूल्यमा विभिन्न संघसंस्था र कम्पनीले पेल्ट्रिक सेटबाट विद्युत् उत्पादन र सौर्य ऊर्जाका सेटहरू उपलब्ध गराउन थालेपछि मकवानपुरका पश्चिमी भेगका चेपाङ क्षेत्रका बासिन्दाको जीवनशैलीमा नै परिवर्तन आएको हो । दियालो र मट्टितेलको सहारामा जीवन धानेकाहरूलाई सौर्य ऊर्जा र पेल्ट्रिक सेट वरदान साबित भएको छ ।

उक्त क्षेत्रका बालबालिकाहरू सोलारको उज्यालोमा अबेर रातिसम्म लेख्ने–पढ्ने काममा व्यस्त हुने गरेका छन् । मकवानपुरको राक्सिराङ, काँकडा, भार्ता, खैराङ, सरिखेत, डाँडाखर्क र कालिकाटारका अधिकांश चेपाङ बस्तीहरू सोलार र पेल्ट्रिक सेटको उज्यालोले झलमल्ल भएको छ । यस्सले उनीहरूको जीनवशैलीमा पर्ने परिवर्तन ल्याएको छ । यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका ९ खैराङको अठारे, काँकडाको मैसिराङ, खर्लिङ र राक्सिराङको जिर्खे र कैलाशको कटुन्जेका बासिन्दाहरू विगत केही समयदेखि बिजुलीको उज्यालोमा रमाउन थालेका छन् ।

‘सौर्य ऊर्जा र पेल्ट्रिक सेटको उज्यालोले उनीहरूको जीवनशैली बदलिएको छ ।’ काँकडास्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तारानाथ दुवाडीले भने, ‘सौर्य ऊर्जा र पेल्ट्रिक सेटको उज्यालो पुगेका घरका विद्यार्थी र नपुगेका घरका विद्यार्थीको पढाइमा नै फरक पर्ने गरेको छ ।’

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ र कैलाश गाउँपालिकाका खैराङ, काँकडा, राक्सिराङ, कालिकाटार, नामटार, भार्ता, गोगने र डाँडाखर्कमा १९ वटा पेल्ट्रिक सेटबाट ७३ किलोवाट विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युतबाट करिब १ हजार २ सय ५ घरधुरी लाभान्वित भएका छन् । ५ वटा पेल्ट्रिकसेट निर्माणाधीन अवस्थामा छन् । उक्त क्षेत्रमा विभिन्न संघसंस्थाको सहयोगमा चेपाङ बस्तीका घरहरूमा सोलार पनि जडान गरिएको छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?