प्रदेशप्रमुखको सम्बोधन आज

हेटौंडा — प्रदेशसभा बैठकमा आज प्रदेश प्रमुख अनुराधा कोइरालाले सम्बोधन गर्दै छिन् । प्रदेशसभा निर्वाचनपछिको र वर्षको पहिलो अधिवेशनलाई प्रदेशप्रमुखले सम्बोधन गर्ने संवैधानिक व्यवस्थाअनुरूप कोइरालाले सम्बोधन गर्न लागेकी हुन् ।

प्रदेशप्रमुखको सम्बोधन आज

कोइरालाले चालू आर्थिक वर्ष २०७४/०७५ को अन्तिम ३ महिनाको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्ने छैनन् । संविधानको धारा १८४ को उपधारा २ बमोजिम प्रदेशप्रमुखले बैठकमा आवश्यकताअनुसार सम्बोधन गर्न सक्ने व्यवस्थाअनुरूप सम्बोधन हुन लागेको हो । मन्त्रिपरिषद्ले यसअघि नै प्रदेशप्रमुखलाई सम्बोधनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो । प्रदेशप्रमुखको सम्बोधनलगत्तै बस्ने प्रदेशसभा बैठकले धन्यवाद प्रस्ताव पारित गर्नेछ । नीति तथा कार्यक्रम नभई सम्बोधन मात्रै भएकाले त्यसमाथि छलफलसमेत नहुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटीले जानकारी दिए ।

‘आय र व्ययको अनुमान’ आउने
प्रदेशप्रमुखको सम्बोधनलगत्तै प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि ‘आय र व्ययको अनुमान’ प्रस्तुत गर्ने भएको छ । हालसम्मको खर्च र बाँकी अवधिको खर्च विवरण समेटेर ‘आय र व्ययको अनुमान’ ल्याउने तयारी रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव वसन्त अधिकारीले जानकारी दिए ।

‘संविधानमा पनि राजस्व र व्ययको अनुमानको व्यवस्था छ, चालु आवमा राजस्व नभएको कारण आय र व्ययको अनुमान पेस गर्छौं,’ सचिव अधिकारीले भने, ‘समानीकरण अनुदानको खर्च व्यवस्थापन मात्रै गर्न लागेका हौं, खर्च नभएको रकम प्रदेश सञ्चित कोषमा रहने भएर समस्या छैन ।’ संघीय सरकारले प्रदेशका लागि १ अर्ब २ करोड ५ लाख अनुदान पठाएको थियो । अख्तियारी गएर बजेट कार्यान्वयन गर्न समय, जनशक्ति र प्रणाली स्थापित नभएकोले कार्यक्रमसहित बजेट नल्याएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउँदै आएका छन् ।

सचिव अधिकारीले प्रदेश भर्खरै स्थापना भएकाले प्रणाली र मापदण्ड स्थापना गर्न खोजिएको बताए । ‘प्रणाली र मापदण्ड स्थापना गर्ने, परियोजना बैंक तयार गर्ने र प्रदेश गौरवका आयोजना छनोट गर्ने चरणमा छौं,’ अधिकारीले भने । आर्थिक कार्यविधि ऐन प्रदेशसभा बैठकबाट पारित भएपछि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहे पनि समय अभावले पछि धकेलिएको हो ।

प्रकाशित : वैशाख ११, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?