कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आफ्नै रोगबारे अनविज्ञ 

‘कापीकलम, झोला, जुत्ता किन्ने हैसियत नहुँदा बीचमा पढाइ छोड्न बाध्य छन्’
फातिमा बानु

काठमाडौँ — जन्मदै एचआईभी संक्रमित उनलाई आमाबाबुबाट यो रोग सरेको थियो । जन्म दिनेले रोग चिनो दिएर संसारबाट बिदा भएको पनि पाँच वर्ष बितिसकेको छ । उनी हुन्, सल्यानकी एक १० वर्षीया बालिका । अविभावकको मृत्युपश्चात् उनी काठमाडौंस्थित मामाघरको संरक्षणमा बस्दै आएकी छन् ।

आफ्नै रोगबारे अनविज्ञ 

उनी दिनहुँ औषधि खान्छिन्, सातैपिच्छे अस्पताल पनि लगिन्छिन् । उनलाई थाहा छैन, औषधि केका लागि हो ? निरन्तर उपचार कुन रोगका लागि हो ?


रोगबारे थाहा दिए स्कुलमा भन्लिन् र निकालिदेलान् भन्ने डर छ, मावलीलाई । उनका मामाले भने, ‘उसको रोग ऊबाटै लुकाउन त नहुने हो, तर, एचआईभी संक्रमित भन्नासाथ कुनै स्कुलमा भर्ना लिँदैनन् के गर्नु त ?’ बालिकाले शिक्षिका बन्ने रहर गरेकी छन् । कसैले रोगबारे थाहा पाएर उसलाई विचलित गर्ला भन्ने पिरले उनका मामालाई खाइरहन्छ । एचआईभी सरुवा रोग हो । असुरक्षित यौन सम्पर्कबाहेक सँगै बस्दा, खाँदा, पढ्दा यो रोग सर्दैन ।


यति थाहा हुँदाहुँदै पनि संक्रमित बालबालिकालाई विद्यालयहरूले भर्ना लिन मान्दैनन् । परिवार, समाजबाटै विभेदमा परेका उनीहरू रोग लुकाएर पढ्न जान बाध्य छन् । एचआईभी प्रभावित तथा संक्रमित बालबालिकाहरू शिक्षा, स्वास्थ्य पोषण, कानुनी समस्या भोगिरहेका छन् । अविभावक गुमाएकाको जन्मदर्ता छैन, अधिकांश विद्यालय जान पाएका छैनन् । विद्यालय गएकाहरू पनि कोही बीचैमा छाड्छन्, कोही निकान्लिछन् ।


केन्द्रका प्रतिनिधि कृष्णप्रसाद धिताल भन्छन्, ‘उनीहरूका लागि विद्यालयमा नि:शुल्क पढाउने व्यवस्था छ, कापीकलम, झोला, जुत्ता किन्ने हैसियत नहुँदा बीचमा पढाइ छोड्न बाध्य छन्, बच्चाहरू ।’ शिक्षामा उनीहरूको पहुँच बढाउन सरकारले बजेट छुट्याउनुपर्ने उनको भनाइ छ । दुर्गमकाले औषधि–उपचार पाएका छैनन् । पोषणयुक्त खानेकुराको अभावमा ओछ्यान पर्न बाध्य छन् । सरकारी स्तरबाट यस्ता बालबालिकालाई नि:शुल्क सर्वोत्तम पिठो बाँड्ने व्यवस्था भए पनि यो कार्यान्वयनमा छैन ।


सामाजिक लाञ्छनाको डरका कारण उनीहरू थातथलो र परिवार छोडेर संस्थाको संरक्षणमा बस्ने गरेका छन् । दिनहुँ औषधि सेवन गर्नुपर्ने बालबालिकालाई भिटामिन भन्दै झुक्याएर खुवाउँछन्, परिवार र आफन्तले । यस्ता बालबालिकालाई सरकारले मासिक एक हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरे पनि जन्मदर्ताको प्रमाणपत्र नबन्दा कतिपय यो सेवाबाट वञ्चित भइरहेका छन् । संक्रमितको कागजपत्रको आधारमा उनीहरूलाई यस्ता सेवा दिनुपर्ने आवाजहरू उठिरहेका छन् ।


जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका उपस्वास्थ्य प्रशासक डा.नरेन्द्र झा भन्छन्, ‘बालबालिकालाई समयमै उनीहरूको रोगबारे भनिदिनुपर्छ, बिनाभेदभाव उनीहरूले पढ्न पाउने वातावारण बन्नुपर्छ ।’ नत्र यसले समाजमा नकरात्मक नतिजा ल्याउने उनी बताउँछन् । यिनै बालबालिका वयस्क भएपछि सम्बन्ध विस्तार गर्दा एचआईभी सार्ने र अवसरबाट वञ्चित गरिरहँदा उनीहरूमा प्रतिशोधको भावना उत्पन्न हुने डा. झा बताउँछन् । उनी थप्छन्, ‘यसले समाजमा द्वन्द्व सिर्जना गर्छ ।’


संक्रमित बालबालिकामध्ये केही नेपालमै बस्दै आएका भारतीय भएकाले पनि सबैमा सेवा पुर्‍याउन अप्ठ्यारो भइरहेको उनले बताए । राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रले ५७ जिल्लामा एचआईभी संक्रमितका लागि कार्यक्रम चलाएको छ । केन्द्रले गरेको अध्ययनअनुसार संक्रमित बालबालिकामध्ये १९ प्रतिशत मात्रै विद्यालय जाने गरेका छन् । स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार देशभर ४० हजारको हाराहारीमा एचआईभी संक्रमित छन् । त्यसको ४ प्रतिशत बालबालिका छन् ।

प्रकाशित : वैशाख ११, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?