कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश प्रमुख कोइरालाको सम्बोधन - ‘तालमेलले प्रतिफल दिन्छ’ 

नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा, सरकार र यसका अंगहरुबीचको तालमेलले नै नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारा प्रदेश ३ मा पनि सजिलै स्थापित गराउन सकिने तर्क गरेकी छिन् । 

प्रदेश प्रमुख कोइरालाको सम्बोधन - ‘तालमेलले प्रतिफल दिन्छ’ 

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रदेशको आवधिक योजना र विस्तृत परियोजना प्रतिवेदन तथा भू–उपयोग नीतिजस्ता कार्यलाई प्राथमिकतामा राखी वार्षिक नीति तथा कार्यक्रम बनाएर अगाडि जाने प्रदेश सरकारको तयारीले रहेकाले त्यसले छिटो प्रतिफल दिने विश्वास समेत व्यक्त गरिन् । त्यसका लागि आवश्यक कानुन समयमै निर्माण गरिसक्ने, प्रदेश सरकारको संगठनात्मक तथा जनशक्ति व्यवस्थापन एवं विधि, पद्धति र प्रक्रियालाई व्यवस्थित गर्नुपर्ने सुझाव दिइन् । उनले ती विषय आ.व २०७५/०७६ को नीति तथा कार्यक्रममा समेटिएर आउने विश्वास समेत व्यक्त गरिन् ।

कानुनत : दलीय व्यवस्थाले सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहे पनि अबको लक्ष्य प्राप्तिका लागि विभाजित हुनुपर्ने अवस्था नरहेको भन्दै उनले कृषि तथा पशुपालनको व्यावसायीकरण, स्वाधीन अर्थतन्त्रको प्रवर्द्धन र बढ्दो ब्यापार घाटाको न्यूनिकरण गर्दै अगाडि बढ्ने उनको विश्वास थियो । प्रदेशभित्र रोजगारीको अवसर सिर्जना गरी विदेश पलायन भएका आफ्ना ‘अति प्रिय’ छोराछोरीहरुलाई स्वदेशमै फिर्ता भइ आफ्नो प्रतिभा, सीप, दक्षता र उद्यमशीलतालाई मातृभूमिमै प्रस्फुटन गर्न सक्ने गरी उपयुक्त वातावरण सिर्जना गर्नु पनि प्रदेश सरकारको मुख्य दायित्व रहेको तर्क गरिन् ।

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पबाट पीडित सिंगो प्रदेश अहिले पनि छानामुनि पुग्न नसकेको यथार्थ प्रस्तुत गर्दै उनले सरकारले दिने राहत पनि करिब तीस प्रतिशतसम्मले आंशिक मात्रामा लिन सकेको दाबी गरिन् । प्रदेश सभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्थाअनुरुप मंगलबारको बैठकमा प्रदेश प्रमुखले सम्बोधन गरेकी हुन् । प्रदेश ३ मन्त्रिपरिषद्ले यसअघि नै प्रदेश प्रमुखलाई संबोधन मात्रैको लागि अनुरोध गर्ने निर्णय गरेको थियो । प्रदेशसभाले सम्बोधनको लागि प्रदेश प्रमुखलाई धन्यवाद समेत दिएको छ ।


चालु आव २०७४/७ को अन्तिम ३ महिनाको लागि नीति तथा कार्यक्रम भने प्रस्तुत भएन । नीति तथा कार्यक्रमअनुसार बजेट बनाएर राजस्व संकलनलगायतका काम नहुने भएर संबोधन मात्रै भएको हो । सम्बोधन माथि कुनै छलफल भने हुने छैन ।

यसैबीच, प्रदेशसभा सदस्यको मर्यादाक्रम टुंग्याइदिन प्रदेश सरकारले संघीय सरकारलाई लेखेको पत्रको प्रदेशसभा बैठकमा जानकारी गराइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखेको पत्रको बोधार्थ सभामुख सानुकुमार श्रेष्ठले पढेर सुनाएका थिए ।


मर्यादाक्रम नटुंग्याई ‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि छलफल नै नहुने स्थिति भएपछि चैत्र २९ गतको बैठकमा सभामुखले मर्यादाक्रम टुंग्याउन पहल गर्न प्रदेशसभालाई रुलिङ गरेपछि मात्रै चारवटै विधेयक छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतले पारित भएको थियो ।

प्रकाशित : वैशाख ११, २०७५ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?