कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टहरामा मुस्किल जीवन

भक्तपुर — तीन वर्षअघिको भूकम्पले भक्तपुर ४ मङ्गलाछेंकी संगीता कपालीको परिवारलाई घरबाट टहरामा विस्थापित गर्‍यो । उनको चारजनाको परिवार तीन वर्षदेखि हनुमन्ते किनारामा दाताले बनाइदिएको अस्थायी टहरामा बसिरहेको छ ।

टहरामा मुस्किल जीवन

अस्थायी टहरामा कष्टकर जीवन गुजारिरहेको उनको परिवारमा भूकम्पभन्दा ठूलो बज्रपात आइलाग्यो । भूकम्प अघिदेखि श्वासप्रश्वासको समस्या भोगिरहेकी ६३ वर्षीया आमाको अस्थायी टहराको चिसोकै कारण मृत्यु भयो । ‘भूकम्पले बास टुटायो, क्षतिग्रस्त घर उभ्याउन नपाउँदै आमाले संसार त्याग्नुभयो,’ उनले भनिन्, ‘चिसो टहरामा आमालाई बचाउन सकेनौं ।’ महाभूकम्पमा बचाएकी आमालाई टहराबाट बचाउन नसकेको उनले बताइन् ।

गर्मीमा बसिनसक्नु गर्मी, जाडोमा मुटु काप्ने चिसो खेप्दै दिन गुजार्न बाध्य भएको उनको गुनासो छ । भूकम्प जाँदाको दिनको अवस्था जस्तो थियो, अवस्था अहिलेसम्म उस्तै रहेको उनी बताउँछिन् । ‘भूकम्पपछिको परकम्पमा आमा साथ हुनुहुन्थ्यो, सहारा उहाँ नै हुनुहुन्थ्यो,’ उनले गुनासो गरिन्, ‘अहिले टहराबाहेक केही छैन ।’ भूकम्पपछि वर्ष फेरियो तर, जीवनशैली फेर्न मुस्किल भएको उनी बताउँछिन् ।

एक कुनामा खाट, अर्को कुनामा लुगा सिलाउने मेसिनसहित दैनिक उपभोग्य सामग्री एउटै टहरामा अटाएको छ । संगीता त्यहीँ टेलरिङको काम गर्छिन् । ‘साँझ/बिहान हातमुख जोड्नै पर्‍यो, छरछिमेक, आफन्तले दिएको अर्डरबमोजिम कपडा सिलाउँदै आएकी छु,’ उनले भनिन्, ‘भूकम्पको धक्काले क्षतिग्रस्त घरको पुनर्निर्माण अन्योल छ ।’

तीन दाजुभाइको बहुस्वामित्वको क्षतिग्रस्त घरको भग्नावशेष अझै व्यवस्थापन हुन सकेको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले वितरण गरेको अनुदानको पहिलो किस्ताको ५० हजारले जस्ता किनेको उनले बताइन् ।

संगीताको जस्तै, मङ्गलाछेंकै माया कपालीको अवस्था पनि उस्तै छ । मायाका श्रीमान् डकर्मी काम गर्छन् । उनले भूकम्पले ढलेका कैयौंको घर निर्माण गरे । तर, आफ्नो घरको भग्नावशेषसमेत व्यवस्थापन गर्न नसकेको उनले बताइन् । ‘भूकम्पपीडित (लाभग्राही) को सूचीमा नाम निस्किएन, त्यसले गर्दा अनुदानबाट वञ्चित हुनुपर्‍यो,’ उनको दु:खेसो छ ।
हनुमन्ते करिडोर निर्माणका लागि ढल खन्ने कार्य भइरहेकाले अस्थायी टहराबाट समेत विस्थापित हुनुपर्ने अवस्था आएको उनीहरू बताउँछन् । मङ्गलाछेंस्थित हनुमन्ते खोला किनाराको पर्ती जग्गामा करिब १५ परिवार भूकम्पपीडित बसिरहेका छन् । भक्तपुर नगरको सानोब्याँसी, देकोचा, लिवाली, सूर्यमढी, वासिकचा, गरुडकुण्डलगायत स्थानका भूकम्पपीडित अस्थायी शिविरमा बसिरहेका छन् ।

भक्तपुर नगरपालिकामा मात्र नभई जिल्लाका चारवटै स्थानीय तहका विभिन्न स्थानमा आन्तरिक समस्याका कारण पुनर्निर्माण गर्न नसकेका पीडितहरू शिविरमै टाउको लुकाउन बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भक्तपुरले भने अनुदान रकम लिइसकेका लाभग्राहीले पनि पुनर्निर्माणमा तत्परता नदेखाएको जनाएको छ । जग्गाको समस्या, नगरपालिकाले तोकेको मापदण्डमा भवन निर्माण गर्न नसक्नेलगायतका कारण अस्थायी टहरामा बसोबास गर्नुपर्ने अवस्था आएको पुनर्निर्माण प्राधिकरण भक्तपुर प्रमुख शिवराम गेलालले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रमाणीकरण गरी दुई चरणमा पठाएका २७ हजार ६ सय ४४ लाभग्राहीमध्ये २३ हजार ३ सय ७४ जनासँग निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भइसकेको भूकम्पीय आवास पुनर्निर्माण कार्यान्वयन इकाई (ईएचआरपी) भक्तपुरले जनाएको छ । जसमध्ये २३ हजार ३ सय ६४ लाभग्राहीको खातामा पहिलो किस्ताको रकम गइसकेको ईएचआरपी भक्तपुरका सूचना व्यवस्थापन विशेषज्ञ भोजराज भट्टले बताए । पहिलो किस्तामा ५० हजार अनुदान लिई घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएका २ हजार ८ सय ८३ लाभग्राहीले दोस्रो किस्ता र २ हजार १ सय २५ ले मात्र तेस्रो किस्ता प्राप्त गरेको भट्टले बताए ।

प्रकाशित : वैशाख १३, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?