बुद्ध जयन्ती र उँभौलीको रौनक

काठमाडौँ — राजधानी उपत्यकासहित मुलुकभर २५६२औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । किरात समुदायले पितृहरूको आत्माशान्तिको कामनासहित सोमबारै पूजाआजा, नाचगान गरी उँभौली पर्व मनाएका छन् ।

बुद्ध जयन्ती र उँभौलीको रौनक

बुद्ध जयन्तीका अवसरमा ललितपुरको पाटन क्वाबहालस्थित हीरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) को ऐतिहासिक बुद्धमूर्ति नगर परिक्रममा गराइएको थियो । बौद्ध धर्मावलम्बीले पाटनका महाविहारहरूमा पूजापाठ, पञ्चशील ग्रहण, प्रवचन सुन्ने, दान गरेका छन् । साथै मुलुकका विभिन्न क्षेत्रमा प्रभातफेरीसँगै शोभायात्रा पनि गरिएको छ ।

स्वयम्भूमा दर्शनका लागि आएका श्रद्धालु


हिन्दू दर्शनले बुद्धलाई विष्णु भगवान्को नवौं अवतार मानेको छ । वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउने गर्छन् । काठमाडौंको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमति विहारलगायत बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति र्‍याली निकालिएको छ । बुद्धको महापरिनिर्वाणको ३ सय वर्षपछि सम्राट् अशोक पाटन आएको बताइन्छ । ‘त्यतिबेला धातु राखेर पाटनको चारै दिशामा स्तूप बनाइयो,’ बौद्ध युवा कमिटी पाटनका पूर्वअध्यक्ष सुनील महर्जन भन्छन्, ‘लुम्बिनी सैद्धान्तिक अध्ययन गर्ने थलो हो । तर, पाटनमा बुद्धको जीवन्त देख्न सकिन्छ । पाटनलाई ऐतिहासिक, धार्मिक र पुरातात्त्विक क्षेत्रका रूपमा बृहत् विकास गर्ने नीति सरकारले बनाउनुपर्छ ।’ उनले पाटन क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । ‘राणाकालमा बौद्ध धर्मलाई विदेशी धर्म मानियो । भिक्षुहरूलाई देश निकाला गरे,’ उनले भने, ‘अहिले बौद्ध धर्मले एकखाले पुनर्निर्माणको बाटो लिएको छ ।’


राजधानीमा उँभौली साकेला
किरात समुदायले राजधानीमा पनि सोमबार विभिन्न कार्यक्रम आयोजना गरी उँभौली मनाएका छन् । यो पर्व वैशाख धान्य पूर्णिमादेखि ६ दिन (आउँदो शनिबार) सम्म मनाइन्छ । पर्वको अवसरमा राजधानीमा सोमबार किरात धर्मावलम्बीका युवायुवतीले ढोल, झयाम्टाको तालमा गाउँदै, नृत्य देखाए । उँभौलीलाई साकेन्वा पनि भनिन्छ ।


उँभौली ऋतु परिवर्तनसँग सम्बन्धित छ । गर्मी छल्न लेक चढ्ने र जाडो छल्न बेसी झर्ने पितृहरूको सम्झनामा साकेन्वा मनाइन्छ । यतिबेला गर्मी छल्न लेक चढ्ने पितृको सम्झानामा मनाइएको किरात राई यायोक्खाका महासचिव जीवन हाताचो राई बताउँछन् । किराती मान्यताअनुसार ६/६ महिनामा ऋतु परिवर्तन हुन्छ । पुर्खाहरू ६ महिना लेक र ६ महिना बेंसी बस्छन् भन्ने किम्वदन्ती छ । अन्नबाली लगाउने बेलाको उँभौली र भित्र्याउने बेलाको उँधौली गरी वर्षमा दुई पटक साकेन्वा मनाइन्छ ।

साकेला उँभौली पर्वका अवसरमा ललितपुरको नखीपोटमा परम्परागत पोसाकमा नृत्य गर्दै किरात समुदायका युवा


पर्वमा भूमिलाई सृष्टिकर्ता, जीवनदाता र संरक्षकको प्रतीकको रूपमा पनि पूजा गरिन्छ । यसलाई प्रकृति पूजासँग सम्बन्धित पर्वका रूपमा पनि लिइन्छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान प्राज्ञिक तथा अनुसन्धान महाशाखका पूर्वप्रमुख तारामणि राई भन्छन्, ‘पर्वलाई बान्तवाले साकेन्वा, चाम्लिङले साकेला, कोयीले साकेल (साखेल), पुमाले साकेन्वा, थुलुङले तोषी, सुनुवार (कोइच) ले श्यादर, दुमीले साखेल, खालिङले वास, मेवाहाङले साक्खेवा भन्छन् ।’ उनका अनुसार उँभौली शब्दलाई पनि चाम्लिङले धिरिनाम, बान्तवाले दोङाङा, कोयीले धोनम भन्छन् भने कोइच सुनुवारले पालिवा भन्छन् ।


यो पर्व किरात राई समुदायमा भ्रातृत्व, भाइचारा तथा आपसी सम्बन्धलाई प्रगाढ बनाउने माध्यमका रूपमा लिइन्छ । पूर्खाहरूले कन्दमूल खाएर जीविका गरेको स्मृतिमा खाने गरिन्छ । काँचो वन तरुलको टीका लगाएको सम्झानामा सबेरै काँचो वन तरुल चपाउने परम्परा छ । त्यसपछि मात्र उसिनेका वा भुटेर तारेका कन्दमूल भोजनका रूपमा ग्रहण गरिन्छ ।
उपत्यकामा ललितपुरको हात्तीवनस्थित माङखिममा किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले संयुक्त रूपमा अन्न, फलफूल चढाएर पूजाआजा गरेका थिए ।

तस्बिर : हेमन्त श्रेष्ठ, कविन अधिकारी र इलिट जोशी

प्रकाशित : वैशाख १८, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?