२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बन्द भए गलैंचा उद्योग

‘नयाँ पुस्तासँग बुन्ने सीप छैन, पहिलेकाले काम गर्न सक्दैनन्’
शिल्पा कर्ण

काठमाडौँ — कीर्तिपुरको नगाउँ चोकनजिकै हरियो रंग लगाएको ठूलो भवन छ । अहिले सहकारी रहेको यो भवनमा २० वर्षअघि एक तिब्बतियनले गलैंचा उद्योग सञ्चालन गरेका थिए । केही समय नबित्दै मजदुरहरूको आन्दोलन भयो । सञ्चालकले उद्योग बन्द गरे, बेच्ने निर्णय गरेको लामो समयसम्म उक्त भवन ‘भूतघर’ का रूपमा रहयो ।

बन्द भए गलैंचा उद्योग

यसैगरी ठूलागलैंचा उद्योगका अवशेष अझ पनि कीर्तिपुरका विभिन्न ठाउँमा छन् । त्यहाँको वडा ७ सालिक भन्ने ठाउँमा अहिले प्लटिङ गरिएको देखिन्छ । दशकअघिसम्म त्यहाँ पनि गलैंचा उद्योग थियो । त्यही वडामा पर्ने ‘स्नोल्यान्ड कार्पेट’ पनि अहिले बन्द छ । ‘सिनोन गलैंचा’ नामक उद्योग पनि बन्द भएको दशक नाघिसक्यो । त्यहाँ अहिले कम्प्लेक्स छ । लाखौंको लगानीमा खोलिएका गलैंचा कारखानाहरू अहिले बन्द छन् । निकै थोरै मात्र सञ्चालनमा रहेको स्थानीयको भनाइ छ । ती पनि स्थानीयले सञ्चालन गरेका हुन् । भाजंगलको चिहान वरिपरि अहिले बस्ती छ । कुनै समयमा यहाँ गलैंचा बुन्ने कारखाना रहको स्थानीय बताउँछन् ।

नयाँ बजारका प्रकाश महर्जन २०५९ सालदेखि कारखानामा व्यवस्थापकको हैसियले काम थालेका थिए । उनी भन्छन्, ‘त्यसबेला ठूलो लगानीमा खोलिएका उद्योग कीर्तिपुरमा मात्र झन्डै दर्जन जति थिए । पछि सशस्त्र द्वन्द्वकै क्रममा ती सबै बिस्तारै बन्द हुँदै गए । मजदुर आन्दोलन पनि चर्किएपछि लामो समय चल्न सकेनन् ।’ उद्योग बन्द भएसँगै त्यसले होटल, सिनेमा हलको व्यवसायलाई पनि प्रभाव पार्‍यो । त्यसबेला आफू कार्यरत उद्योगले स्थानीय महिलासहित सय जनालाई रोजगारी दिएको महर्जन बताउँछन् ।

गलैंचा उद्योग चलाउन नसकेर बन्द गर्ने निर्णय गरेकी एक उद्यमीले मजदुरहरूले अनावश्यक र नेपालको परिवेशमा दिन नमिल्ने सेवा सुविधा खोजेकाले बन्द गर्नुपरेको बताइन् । नगाउँ दोबाटोमा उनले सञ्चालन गरेको उद्योग १० वर्ष पनि चल्न सकेन । ‘बालबच्चाको पढाइ लेखाइ, सुत्केरी भत्तालगायतका माग थिए, जुन दिन सम्भव भएन,’ लाखांैको लगानी डुबेकोप्रति आक्रोशित उनले भनिन्, ‘त्यसमाथि झन् माओवादीले चन्दा माग्थे, कहाँबाट दिन सक्नु ।’ त्यस समय मजदुरले उठाएका दुर्घटना बिमा जस्ता केही माग जायज रहेको महर्जनको बुझाइ छ ।

दुई दशकअघिसम्म घरैपिच्छे तान हुन्थे, महिलाले सामान उद्योगबाट लिएर घरमै गलैंचा बुन्थे । अहिले उद्योग, तान र जनशक्ति तीनै छैनन् । अहिले चलिरहेका उद्योगलाई जनशक्ति अपुग भएको सञ्चालकको भनाइ छ । पाँगामा डेढ दशकदेखि कार्पेट उद्योग सञ्चालन गरिरहेका आइकरण तण्डुकारका अनुसार अहिले कीर्तिपुरमा गलैंचा उद्योगको अवस्था ‘खत्तम’ छ । चलिरहेका स–साना उद्योग पनि लगभग बन्द हुने अवस्थामा पुगिसकेका छन् । भाडामा घर लिएर उद्योग चलाइरहेकालाई यस व्यवसायमा खासै फाइदा नरहेको उनको बुझाइ छ । उनले अहिले कामदार पाउन पनि मुस्किल हुने गरेको बताए । ‘सीप जान्नेजति अहिले आँखा कमजोर भएकाले काम गर्न नसक्ने भइसके । नयाँ पुस्ता कोहीलाई यी कुरामा रुचि नै छैन,’ तण्डुकारले भने ।

इताछेंमा गलैंचा उद्योग सञ्चालन गरिरहेका शान्तबहादुर महर्जनको भनाइ पनि उस्तै छ । कामदार अभावले उद्योग सुक्दै गएको उनले बताए । त्यहाँ अहिले धेरै नयाँ पसल खुलेका छन् । महिलाहरू पसलमा वा घरमै बस्ने गरे पनि गलैंचा उद्योगमा काम गर्न रुचि देखाउँदैनन् । उनले भने, ‘नयाँ पुस्तासँग बुन्ने सीप छैन । पहिलेका पुस्ताले काम गर्न सक्दैनन् । तानहरू छन्, चलाउने मान्छे छैनन् ।’ अहिले पनि त्यहाँका उद्योगमा लामो समय गलैंचा बुनेरै बिताएका महिला भेटिन्छन् ।

यसले घरमा बसिरहेका महिलाको लागि राम्रो आर्जनका साथै समय व्यतीत हुने ४५ वर्षीया प्रेममाया महर्जनको भनाइ छ । ‘१८ वर्ष पुगेदेखि यहीँ काम गर्न सुरु गरेको हुँ । प्रतिस्क्वायर मिटर बुट्टाअनुसार ४७ सय देखि ५ हजार रुपैयाँसम्म पाइन्छ,’ स्नातक पढ्दै गरेकी छोरीकी आमा उनले गलैंचा बुन्नुलाई निरन्तरता दिनुको कारण खुलाइन्, ‘यसमा समयको कुनै सीमा हुन्न । जतिबेला आए पनि हुन्छ, आफूले काम गरेजति पाउने हो ।’

अहिले त्यहाँ गलैंचा उद्योग मुस्किलले आधा दर्जन पनि छैन । भएका पनि ठूला लगानीका छैनन् । साहुबाट सामान ल्याएर यहाँ बुन्न लगाउने गरिन्छ । केहीले चाहिँ आफैंले बनाएर नेपालीलाई नै बेच्छन् । नगरपालिकाले यस आर्थिक वर्षमा महिलाका लागि विभिन्न तालिम दिन बजेट छुट्याएको छ । जसमा बेकरी, सिलाइकटाइ र ब्युटिसियनजस्ता तालिम भए पनि गलैंचा बुन्नेसम्बन्धी तालिम छैन । कीर्तिपुर नगरपालिकामा दर्ता भएअनुसार अहिले एउटा मात्र गलैंचा कारखाना सञ्चालनमा छ । लेखा अधिकृत नरेन्द्र महर्जन नगरपालिकालाई जानकारी गराउने वा दर्ता गर्ने व्यवसाय निकै कम रहेको बताउँछन् । उनले भने, ‘केही गलैंचा उद्योग सञ्चालनमा रहेको जानकारीमा छ । अब आउने वर्षदेखि यहाँ दर्ता गराउँछन् होला ।’

प्रकाशित : वैशाख १८, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?