कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटको पञ्चकन्या माविलाई जग्गादान

नुवाकोट — जिल्लाको पञ्चकन्या गाउँपालिका-३ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयलाई एक दम्पतीले जग्गा र खानेपानी योजना गरी ७ लाख बराबरको दान गरेका छन् ।

नुवाकोटको पञ्चकन्या माविलाई जग्गादान

सहयोग दाता मानबहादुर (भरत) कार्की र उनकी श्रीमती सीता कार्कीले विद्यालयलाई पाँच लाख मूल्यबराबरको १ रोपनी जग्गा र खानेपानी सुविधा दिलाएका हुन् । बिहीबार जग्गा र खानेपानी सुविधा प्रतिनिधि सभाका सांसद् एवं माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य हितबहादुर तामाङको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको हो । कार्की दम्पतीले जग्गाको लालपूर्जा, नगद १५ हजारसहित विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङलाई हस्तान्तरण गरेका थिए ।


तीन किलोमिटर दूरीमा रहेको मुहानमा ट्यांकी बनाइ विद्यालयका बालबालिकाका लागि खानेपानी सुविधा पुर्‍याइएको छ । खानेपानी ट्यांकी, पाइप, धारा जडानका लागि करिब दुई लाख रुपैयाँ खर्च भएको कार्कीले सुनाए ।


कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हितबहादुर तामाङले शिक्षा र खानेपानी क्षेत्रमा कार्की दम्पतीले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए । उनले समाज र देश विकासको प्रमुख आधार शिक्षा क्षेत्र भएको उल्लेख गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता बढाउन सबैले सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए ।


सहयोगदाता कार्कीले विद्यार्थीलाई स्वच्छ खानेपानी र कक्षा ११ र १२ अध्ययन/अध्यापन गराउने कार्यमा मद्दत मिलोस् भन्ने उद्देश्यले दान दिएको बताए ।

प्रकाशित : वैशाख २७, २०७५ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?