२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

प्रहरी प्रशासनकै संरक्षणमा अवैध खानी

स्थानीयले नियन्त्रणमा लिए १२ मिनी ट्रक र २ वटा स्काइभेटर
लीला श्रेष्ठ

भक्तपुर — चाँगुनारायण नगरपालिकाका चारवटा वडाका विभिन्न स्थानमा अवैध रूपमा बालुवा खानी सञ्चालन गरिएका छन् । चाँगुनारायण १, २, ३ र ४ वडाका सरस्वतीखेल, दुवाकोट, बेंसी, पोखरेल डाँडा, गाउँडोल, भूते खहरे, मगरगाउँ, नारायणटार, गौतमेश्वर, ज्योर्तिलिंगेश्वर, झौखेललगायत स्थानमा अवैध बालुवा निकालिएको हो ।

प्रहरी प्रशासनकै संरक्षणमा अवैध खानी

खानी क्षेत्रबाट माटो उत्खनन गर्न पाएको स्वीकृतिलाई बाहना बनाएर व्यवसायीले बालुवा चोरी निकासी गरेका हुन् । चाँगुनारायण नगरपालिकाले इँटाभट्टालाई खानी क्षेत्रबाट माटो ओसारपसारको स्वीकृति दिएको थियो । तर व्यवसायीले अवैध रूपमा बालुवा चोरी निकासी गर्दै आएका छन् । नगरपालिकाले गत माघ १० मा नगरकार्यपालिकाको बैठक राखी कार्यविधि नै नबनाई इँटाभट्टासँग राजस्व लिएका नाममा खानी क्षेत्रबाट माटो निकाल्न स्वीकृति दिएपछि तस्करीले छुट पाएको स्थानीयको भनाइ छ । नगरपालिकाको निर्णयलाई उल्लंघन गर्दै व्यवसायीले स्काइभेटर प्रयोग गरी बालुवा चोरी निकासी जारी राखेका छन् । माटो उत्खननका नाममा व्यवसायीले एउटै खानीबाट माटो तथा बालुवा निकाली बिक्री गरिरहेको स्थानीय रवि केसीले बताए ।


स्थानीय तहका जनप्रतिनिधिको प्रत्यक्ष सहभागितामा अवैध खानी सञ्चालन एवं तस्करी भएको स्थानीय बासिन्दाको गुनासो छ । नगरपालिकाका केही वडाध्यक्षले अवैधानिक रूपमा खानी सञ्चालन गरेको उनीहरूले बताए । उनीहरूका अनुसार वडाध्यक्षले अवैध खानी सञ्चालनसँगै बालुवा डिपोसमेत राखेका छन् । चाँगुनारायण १ सरस्वतीखेल, २ दुवाकोट, झौखेल र ४ नारायणटारस्थित व्यवसायीले ढिस्को नै भासिने गरी सय मिटरभन्दा बढी स्लोभ काटेर बालुवा निकालेको देखिन्छ । मनोहरा खोलाबाट पनि उत्तिकै बालुवा तस्करी भइरहेको छ ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, प्रहरी र चाँगुनारायण नगरपालिका एकअर्काप्रति आरोपप्रत्यारोप गरिरहेका छन् । नगरपालिकाले कुनै सीमांकन, अनुगमन तथा अवलोकन नै नगरी हचुवाका भरमा माटो निकासीको स्वीकृति दिँदा बालुवा तस्करी मौलाएको हो । २०७१ फागुन १५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि जिल्लामा सञ्चालित बालुवा, माटो, ढुंगा, पाङ्गोमाटोलगायतका २६ खानीको फाइल नियन्त्रणमा लिएको थियो । तर हालसम्म अख्तियारको अनुसन्धान र कारबाही अघि बढेको देखिँदैन । अख्तियारले फाइल नियन्त्रणमा लिएलगत्तै साबिक जिल्ला विकास समितिले भक्तपुरमा सञ्चालनमा रहेका सम्पूर्ण खानी बन्द गराएको थियो । नगरपालिकाले माटो ओसारपसारका लागि स्वीकृति दिएको क्षेत्रमा कर्मचारी खटाएर राजस्व संकलन गरेको बताए पनि कुनै पनि खानी क्षेत्रमा कर्मचारी भेटिएनन् । स्थानीय बासिन्दाले भने कर्मचारीकै मिलेमतोमा बालुवा चोरी निकासी भइरहेको बताउँदै आएका छन् ।


चाँगुनारायण–२ झौखेलस्थित व्यवसायीले सार्वजनिक सडक अतिक्रमण गरी माटो/बालुवा निकालेका छन् । ‘तीन महिनादेखि नडोल टोलमा अवैध बालुवा खानी तथा वासिङ्ग सञ्चालित छ,’ स्थानीय प्रदीपराज पन्तले भने, ‘अवैध खानीका कारण व्यक्तिको (निजी) तथा सार्वजनिक सडक अतिक्रमण भएको छ ।’ अवैध बालुवा खानी सञ्चालन रोक्न ४९ जनाको हस्ताक्षरसहित नगरपालिकाको पत्र लिएर जिल्ला प्रशासन जाँदा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रहरी बोलाएर हत्कडी लगाएको उनले बताए ।

जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, नगरपालिकाले हालसम्म सार्वजनिक जग्गा संरक्षण, वातावरण/पर्यावरण संरक्षणका लागि कुनै पनि नीतिगत निर्णय गर्न सकेका छैनन् । व्यवसायीले प्रहरी प्रशासनकै संरक्षणमा अवैध खानी सञ्चालन गरिरहेका छन् ।

‘म नयाँ भएकाले खानी क्षेत्र र सञ्चालनबारे अध्ययन गर्दै छु,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘अवैध बालुवा तस्करी रोक्नुपर्नेमा म स्पष्ट छु ।’ प्रहरी, प्रशासनको अटेरीपनलाई चिर्दै चाँगुनारायण नगरपालिका ४ वडाका वडाध्यक्ष बुद्धिलाल महर्जनको नेतृत्वमा बुधबार साँझ वडा सदस्यहरू, स्थानीय बासिन्दाले नारायणटारस्थित बालुवा खानीबाट १२ वटा मिनी ट्रक र २ वटा स्काइभेटर नियन्त्रणमा लिएका छन् ।

प्रकाशित : वैशाख २८, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?