३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इँटाभट्टामा भर्ना अभियान

विद्यार्थीले उद्योग परिसरमै पढ्न पाउने
हरिहरसिंह राठौर

धुनीबेंसी (धादिङ) — बालश्रम मुक्त गरी मजदुरका बालबालिकालाई शिक्षित बनाउन जिल्लाका इँटा उद्योगमा भर्ना अभियान चलाइएको छ । इँटा उद्योगमा कार्यरत हजारौं मजदुरका बालबालिकालाई भर्ना गरी उद्योग परिसरमै पढ्ने व्यवस्था समेत मिलाइएको छ ।

इँटाभट्टामा भर्ना अभियान

प्रयास नेपाल नामक गैरसरकारी संस्था र ग्लोबल फेयर नेसनल साझेदारीमा बेटर ब्रिक परियोजनाअन्तर्गत इँटा उद्योगका बालबालिकालाई भर्ना अभियान सञ्चालन गरिएको हो । यसै शैक्षिक सत्रबाट नेपाल सरकारले विद्यालय भर्ना अभियानलाई कडाइसाथ लागू गरेपछि धादिङका इँटा उद्योगमा काम गर्दै आएका श्रमिकका बालबालिकालाई विद्यालय भर्ना गर्न सुरु गरिएको हो । स–साना बालबालिकाका लागि उद्योग परिसरमै शिक्षकको व्यवस्था गरी बाल विकासको कक्षा सुरु गरिनुका साथै विद्यालय जान सक्ने बालबालिकालाई पायक पर्ने विद्यालयमै पठाई पढ्ने व्यवस्था मिलाइएको छ ।

धादिङका ४१ इँटा उद्योगमध्ये धुनीबेंसी नगरपालिकामामात्रै २९ र थाक्रे, गजुरी तथा नीलकण्ठ नगरपालिकामा अन्य सञ्चालनमा छन् । यी उद्योगमा भारत, लगायत तराईका विभिन्न जिल्लाबाट मजदुरहरू परिवारसहित आउने गर्छन् । उद्योगमा कार्यरत मजदुरले दैनिक ३ हजारसम्म कमाइ गर्छन् । आमाबाबुहरूसँग आएका सयौं बालबालिकाहरू दिनभर माटो खेलेर बस्ने गरेको देखेपछि भर्ना अभियानमा तीव्रता ल्याइएको गैरसरकारी संस्था महासंघका अध्यक्ष दामोदर अर्यालले बताए ।

सरकारी टोलीसहित विद्यालयका शिक्षकले उद्योगमै भर्ना अभियान चलाएका हुन् । धुनीबेंसी नगरपालिकाको इँटा उद्योगमा काम गर्दै आएकी महोत्तरी जिल्लाकी धनमाया घलेले आफ्ना तीन छोरीलाई भर्ना अभियानको टोली पुगेपछि नजिकै रहेको महेश धर्म माध्यमिक विद्यालयमा भर्ना गरिदिएकी थिइन् । आफूले पढ्न नपाएको गुनासो गर्दै धनमायाले भनिन्, ‘हामी काम खोज्दै महोत्तरी छाडेर हिँडेपछि नानीहरूलाई पढाउन पाएका थिएनौं, यहाँ मजदुरी सँगै काम गरेकै ठाउँमा बसेर पढाउन पाइने भइयो ।’ श्रीमान्सँगै इँटा उद्योगमा काम गर्दै आइरहेकी घले बिहानदेखि बेलुकासम्म उद्योगमै काम गरेर बिताउने गर्छिन् । छोरीहरूलाई पढाएर ठूलो मान्छे बनाउने रहर भए पनि आर्थिक अभाव र काम गर्नै पर्ने बाध्यताले आफूहरूले सँगै लिएर हिँड्नुपरेको गुनासो गरिन् ।

धादिङमा सञ्चालित कतिपय इँटा उद्योगमा बालबालिकाले समेत काम गरिरहेका छन् । धुनीबेंसी नगरपालिकास्थित महालक्ष्मी इँटा उद्योग, हिमाल इँटा उद्योग, थाक्रे–७ को एभरेस्ट इँटा उद्योग, थाक्रे–८ को यती टाइल एन्ड ब्रिक इन्डस्ट्रिज र गजुरी–५ को राजधानी इँटा उद्योगमा रहेका बालबालिकालाई श्रममुक्त गर्ने र शिक्षादीक्षा दिलाउने अभियान सञ्चालन गरिएको वेटर ब्रिक परियोजनाका संयोजक प्रदीप श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठले भने, ‘भर्ना गर्ने मात्रै होइन, वर्षभरि उनीहरूको पढाइ अनुगमन पनि गर्नेछौं । ५ उद्योगका २ सय बालबालिकालाई भर्ना गरिसकेका छौं ।’ मजदुरका बालबालिकाको शिक्षादीक्षाका साथै उद्योगलाई बाल श्रममुक्त बनाउँदै लैजाने श्रेष्ठले बताए ।

इँटा उद्योगमै पुगेर भर्ना अभियान सञ्चालन गरिए पनि त्यहाँ काम गर्ने मजदुर भने अस्थायी रूपमा घरपरिवार सहित मौसमी रोजगारका लागि आउने र अब वर्षात् लागेसँगै उद्योग बन्द भएपछि फर्केर जाने गर्नाले बालबालिकाको पढाइ छुट्ने गरेको छ । बीचबीचमा घर आउने–जाने गर्दा पढाइ छुट्ने गरेको शिक्षकहरू बताउँछन् । महेश धर्म उमाविका निमित्त प्रधानाध्यापक घनश्याम अधिकारीले भने, ‘विद्यालय भर्ना अभियान कार्यक्रममा मजदुरका बालबालिकाको पनि उत्साहजनक सहभागिता रहन्छ तर उनीहरूलाई टिकाइराख्न चाहिँ साह्रै गाह्रो हुन्छ ।’

प्रकाशित : वैशाख ३१, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?