कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिलोले अस्तव्यस्त नुवाकोटका सडक

कृष्ण थापा

नुवाकोट — आइतबार राति परेको भारी वर्षाका कारण जिल्ला बाहिरिने र भित्रने सवारी साधनलाई समस्या भएको छ । पासाङ ल्हामु मार्गको बालाजु–त्रिशूली सडक खण्डको ठाउँ–ठाउँमा पानी जमेर यात्रुहरुलाई आवतजावत गर्न समस्या भएको छ । 

हिलोले अस्तव्यस्त नुवाकोटका सडक

त्यसैगरी गल्छी–देविघाट–त्रिशूली सडक खण्डको रातोमाटे, महादेवफाँट, कोल्पुटार, पिपलटार लगायतका स्थानमा सवारी ओहोरदोहोरमा समस्या परेको छ ।


गंगटे–ढिकुरे–छहरे–टोखा सडक खण्डमा पनि वर्षात्ले बगाएर ल्याएको हिलो माटोका कारण यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ । ढिकुरेमा एउटा ट्रक हिलोमा दबिएर निकाल्ने प्रयास भैइरहेको छ ।


सोमबार दिउँसोसम्म ट्रक निकाल्न नसक्दा जिल्लाको पूर्वीभेग र काठमाडौंबाट आउने सवारी जाममा परेका थिए । त्यसैगरी त्रिशूली–सामरी, त्रिशुली–देउराली, त्रिशूली–किस्पाङ जाने यात्रुहरु समस्यामा परेका छन् ।


जिल्लाका अधिकांश सडक निर्माणाधिन छन् । सडक निर्माणको क्रममा झिकिएको माटो र वर्षात्को पानीले बगाएर ल्याएको माटोले सडक आवतजावतमा समस्या परेको हो ।


विदुर बजार क्षेत्रमा रहेका कतिपय घरमा भल र लेदोमाटो पसेर समस्या भएको छ भने हिँडडुल गर्न यात्रुले सास्ती व्यहोर्नु परेको छ । त्यसैगरी पञ्चकन्या गाउँपालिका कार्यालय जाने छहरे–घलेगाउँ बाटोमा समेत आवतजावत गर्न समस्या भएको छ ।

प्रकाशित : वैशाख ३१, २०७५ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?