१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

३२ वर्षमा पनि निर्माण सकिएन

हरिहरसिंह राठौर

धादिङ — सडक सञ्जालबाट टाढा रहेको धादिङको उत्तरी क्षेत्रमा सडकको अझै पहुँच पुग्न सकेको छैन । ३२ वर्षअघि नै उत्तरी भेग पुग्न सहज त्रिशूलीबाट रसुवाको स्याफ्रुबेंसी हुँदै गणेश हिमालको काखसम्म पुर्‍याइएको १ सय ७ किमि सडकमध्ये ३९ किमि सडकको निर्माण कार्य अझै अलपत्र छ ।

३२ वर्षमा पनि निर्माण सकिएन

नुवाकोट जिल्लाको त्रिशूली–बेत्रावती हुँदै रसुवा सदरमुकाम धुन्चेबाट १६ किमि टाढाको स्याफ्रबेंसी सम्मको सडक निर्माण गरिए पनि हाल जीर्ण बनिसकेको छ ।

धादिङको रुबी भ्याली गाउँपालिकाका अध्यक्ष चे रुङ तामाङले सरकारको बेवास्थाका कारण ३२ वर्षसम्म पनि सडक निर्माण हुन नसकेको बताए । उनले भने, ‘स्याफ्रुबेंसीबाट गत्लाङ, पार्वतीकुण्ड खुर्पु भञ्ज्याङ हुँदै सोमदाङसम्मको सडक ३२ वर्षदेखि स्तरोन्नति गर्न राज्यले कुनै पहल गरेको छैन ।’

सडक गणेश हिमालको फेदीमा जस्ता खानी सञ्चालन गर्न नेपाली सेनाले ३२ वर्षअघि निर्माण गरेको हो । रसुवाका स्थानीयले प्रयोग गर्ने उक्त सडक विभिन्न जलविद्युत् आयोजनाका सामाग्री ढुवानीका लागि पनि प्रयोग हुँदै आएको छ । सडकले धादिङका उत्तरी भेक पुग्न पनि सहज भएको छ । हाल जस्ता खानी सञ्चालनमा नभए पनि यो सडकको उपयोगिता बढदै गएको जिल्लाको उत्तरी भेकमा वन्यजन्तुको अध्ययन तथा संरक्षणमा खटिएका युवा प्रजोल तामाङले बताए ।

नेपाली सेनाले २०४४ सालमा निर्माण सम्पन्न गरेको सडककै कारण रसुवा र धादिङको सिमाना सोमदाङ पर्यटकीय स्थलका रूपमा परिचय बढाएको छ । समद्री सतहबाट ३ हजार ४ सय ४० मिटर उचाइमा रहेको सोमदाङ सानो ग्रामीण बजार हो । रसुवाको लाङटाङबाट सोमदाङ हँुदै रुबी भ्याली प्रवेश गर्ने मार्गका रूपमा परिचित छ । सोमदाङ हँुदै विदेशी पर्यटकहरू गोरखाको मनास्लु पदमार्गतिर पनि जाने गर्छन् । नेपाल पर्यटन बोर्डले स्थानीय निकायको सहयोगमा सोमदाङमा व्यवस्थित पर्यटकीय सूचना केन्द्रको निर्माण थालनी गरेको रुबी भ्याली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमबहादुर खत्रीले बताए ।

सोमदाङबाटै यातायातको सुविधाबाट निकै टाढा रहेको तिप्लिङमा धमाधम सडक निर्माण भइरहेको छ । सोमदाङबाट ३ हजार ९ सय मिटरको पाङसाङ देउराली कटाइ गत निर्माण गरिएको ग्रामीण सडक आगामी हिउँदसम्ममा तिप्लिङसम्म पुग्ने जनाइएको छ । ३ वर्षअघिको भूकम्पपछि यो सडक नियमित सञ्चालनमा आएर हाल निर्माण ठूला जलविद्युत् आयोजना तथा पुनर्निर्माण सामग्री ढुवानी गर्न प्रयोगमा आइसकेको छ ।

कम्तीमा ३ दिनको पैदल दूरी लाग्ने तिब्बतसँग जोडिएका विकट तामाङ बस्तीलाई सदरमुकामसम्म जोडने सडक निर्माण योजना सञ्चालन भएको अढाइ दशक बितेको छ । अढाइ दशकका अवधिमा २२ किमिको लवाङफेदी, जुम्रे, स्याउली, टोडेसम्मका चौबाटोमा पर्ने स्थानीय बजारहरू निकै फस्टाए । ‘जब सडक अगाडि बढयो, सबै सुनसान हुँदै गए ।’ एक स्थानीयले भने । लवाङफेदीबाट किगंताग फेदी हँुदै ११ किमि दूरीको डुण्डेरेबीचमा पर्ने घ्यान्गसँग, धाम्से बजारको पनि यस्तै हालत छ । ‘रसुवाका ग्रामीण पर्यटकीय क्षेत्रहरू गत्लाङ, गोल्जुङ, पार्वती कुण्ड, सोमदाङ हुँदै रुबी भ्याली प्रवेश गर्ने सडक तत्काल स्तरोन्नति गर्न हामीले केन्द्रमा प्रस्ताव राखेका छौं,’ प्रतिनिधिसभा सदस्य खेम लोहनीले बताए ।

प्रकाशित : जेष्ठ १, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?