जथाभावी पार्किङले सास्ती

विद्या राई

काठमाडौँ — साँघुरो बाटोमा मोटरसाइकल र स्कुटरको जथाभावी पार्किङले असन बजारमा किनमेल गर्न पुगेकालाई हिँडडुल गर्न सधैं असहज भइदिन्छ । काठमाडौंका सर्वसाधारणहरूको मुख्य बजार भएकाले बिहानीदेखि बेलुकीसम्म किनमेल गर्नेको बाक्लै भीड लाग्छ ।

जथाभावी पार्किङले सास्ती

बाहिरी जिल्लाबाट काठमाडौं आएकाहरूले समेत यो ठाउँ किनमेलको मुख्य केन्द्र मान्छन् । उनीहरूलाई पैदल हिँड्ने ठाउँ पाउन मुस्किल भइरहँदा जथाभावी पार्किङले झनै सास्ती थपिने गर्छ ।

‘मोटरबाइक र स्कुटर मात्रै पनि टुंगोमा पार्किङ गरिदिए यत्तिको झमेला त हुने थिएन,’ बानेश्वरबाट लत्ताकपडा किन्न असन पुगेकी विमला श्रेष्ठले बताइन् ।

पार्किङले बाटो ढाकेपछि पैदल हिँड्ने र सवारीसाधन चढेर गएकाहरूको जाम नै हुन्छ । दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । न्युरोडको समस्या पनि उस्तै छ । मानिस यहाँ इलेक्ट्रोनिक तथा मेसिनरी सामान किनबेचका लागि पुग्छन् । किनमेल गर्नेको घुइँचो उति नै हुन्छ । जथाभावी पार्किङ पनि उस्तै । ‘दुईपांग्रे सवारी एक लाइन मात्रै पार्किङ गर्न पाइने’ होडिङबोर्ड राखिएका ठाउँमै तीन लाइनसम्म पार्किङ गरिएका हुन्छन् । महानगरका अधिकांश स्थानमा जथाभावी पार्किङको समस्या छ ।

विशेषगरी दुईपांग्रे र चारपांग्रे सवारी साधान जथाभावी पार्किङ गरिन्छन् । फुटपाथदेखि सडकको आधाजसो भाग ढाक्ने गरी लहरै पार्किङ गरिदिँदा पैदल हिँड्नेलाई मर्का पर्छ । वृद्धवृद्धा, केटाकेटी, महिला, अशक्त, असहाय तथा अपागंहरूलाई बढी सकस हुन्छ । सहज बाटोमा हिँड्न सहारा चाहिने उनीहरूलाई जथाभावी पार्किङ र मान्छेको तँछाडमछाड भीडले हिँड्न गाह्रो हुने गरेको बिजुलीबजारमा भेटिएका ६९ वर्षीय वृद्ध वीरबहादुर नेपालले बताए । यस्तो बेला वेगमा आएका सवारीसाधनको ठक्करमा परेर धेरैको ज्यान जोखिममा पर्ने गर्छ ।


महानगरको कार्यनीतिमा पार्किङ गर्दा सडकको कुल चौडाइको एक चौथाइभन्दा बढी ढाक्न नपाइने व्यवस्था छ । सवारीधनीले यसको पालना गरेका छैनन् । महानगर आफैंले प्रभावकारी पालना गराउन पनि सकेको छैन । गएको असारमा आर्थिक ऐनअन्तर्गत पार्किङस्थल तोकिएका क्षेत्रमा शुल्क तिरेर मात्रै पार्किङ गर्न पाउने निर्णय गरेको थियो । चालू आर्थिक वर्षमा स्मार्ट सवारी पार्किङ बनाउने योजना पनि अघि सारेको थियो । अनियन्त्रित र अव्यवस्थित पार्किङलाई सुधार्न भन्दै न्युरोड, धर्मपथ र टेकुमा ‘भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङ’ बनाउने योजना ल्याएको थियो ।


ऐनअनुसार महानगरले एउटा सवारीले एक घण्टासम्म पार्किङ गर्दा घण्टाको १५ देखि २ सय रुपैयाँसम्म तिर्नुपर्ने नियम बनाएको थियो । क्षेत्रगत आधारमा सडकमा स्पष्ट रेखांकन गरेर प्रवेश र बहिर्गमन फरक–फरक हुने गरी सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी पार्किङ गर्न पाउने उल्लेख थियो । यसका लागि महानगरलाई तीन क्षेत्रमा विभाजन गरिएको थियो । एक नम्बर क्षेत्रमा टेकुपुल उत्तरतर्फ सोह्रखुट्टे, नयाँ बजार, गोंगबु, सामाखुसी, धापासी, महाराजगन्ज चोक हुँदै चप्पल कारखानासम्मको सार्वजनिक बाटो तोकेको थियो ।


दुई नम्बर क्षेत्रमा न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायतका भित्री सहरी क्षेत्र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लौनचौर, सोह्रखुट्टे, विष्णुमती लिंकरोड, टेकु हुँदै त्रिपुरेश्वरसम्म तोकिएको थियो ।

यसैगरी तीन नम्बर क्षेत्रमा बिजुलीबजार पुल पूर्व मनोहरा पुल, पेप्सिकोलासम्म, पुतलीसडक, बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, गौशाला, चाबहिल, बौद्ध, कोटेश्वर, सुकेधारा, ज्ञानेश्वरलगायत, सो आसपासका क्षेत्र, टेकु पुल पश्चिम बल्खु, कलंकी, कालिमाटी, कुलेश्वर, कुमारी क्लब, सीतापाइला, माछापोखरी बालाजुसम्मका स्थानको सार्वजनिक बाटोलाई राखिएको थियो । तर, यिनै क्षेत्रका अधिकांश स्थानमा जथाभावी पार्किङ हुन्छ । सशुल्क पार्किङसहित ल्याएको उसको योजना कार्यान्वयन छैन ।

०७०/०७१ सम्म टेन्डरमार्फत महानगरले पार्किङस्थल सञ्चालन गर्दै आएको थियो । प्राविधिक कारण यसबारे सर्वोच्चमा मुद्दा परेपछि टेन्डर खारेज गरेर नि:शुल्क पार्किङ व्यवस्था ल्याएको थियो । नि:शुल्क पार्किङले जथाभावी पार्किङ, दुर्घटना बढेको तथा सहरमा कुरूपता थपेको भन्दै सशुल्क व्यवस्था ल्याएका थिए ।

नियम बनाए पनि लागू गर्न नसकेकाको महानगरको राजस्व फाँटले जानकारी गराएको छ । सहप्रवक्ता नमराज ढकालले आगामी दिनमा लागू गर्ने गरी योजनाहरू बनाएको बताएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?