कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कपनको धूलो, कपनको हिलो

विमल खतिवडा

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने टुंगो लागेसँगै त्रिभुवन विमानस्थलदेखि हायात होटलसम्मको बाटो रातारात कालोपत्रे गरियो । दुईदिने काठमाडौं बसाइक्रममा मोदीले प्रयोग गर्ने सबै रुटका धुलाम्मे सडक टलक्क टल्काइए । वर्षौंदेखिका खाल्डाखुल्डी दुई दिनमै पुरिए ।

कपनको धूलो, कपनको हिलो

सरकार र महानगरको तदारुकता र स्फूर्ति देख्दा लाग्थ्यो, सहरले दुई दिनमै काँचुली फेर्दै छ । तर एक वर्षदेखि जीर्ण चाबहिल–जोरपाटी सडकको हायात गेटसम्मको खण्ड रातारात टल्किँदा त्यसउताका बासिन्दालाई त्यसले कुनै खुसी दिन सकेन । हिलोमा घस्रिँदै यात्रा गर्नुपर्ने उनीहरूको दैनिकी फेरिएन ।

यस्तै हालतमा गुज्रिरहेका कपनवासीमा पनि महानगरको सक्रियताले आशा जगायो । एकै दिनमा सडकको स्वरूप बदलिएको देखेका उनीहरूले फेसबुक र ट्वीटरमा व्यंग्य गर्दै लेखे, ‘मोदीलाई कपन पनि ल्याइदिनुपर्‍यो, यहाँको पनि बाटो बन्थ्यो कि ?’

मोदी भ्रमणका बेला धूलोमा पुरिएजसरी बसेको कपन अहिले जलमग्न छ । पानी पर्नासाथ सडक खोलो बनेको छ । पानी र हिलोमा दैनिक मोटरसाइकल चिप्लिने गरेका छन् । हिलोकै कारण पैदल यात्रुसमेत चिप्लिएर लड्छन् । गुनासो सुन्न आउने जनप्रतिनिधिसँग कपनवासी एउटै आग्रह गर्छन्, ‘हिलो र धूलोबाट मुक्त गरिदेऊ ।’

‘कपनमा हिलोले बस्न सकिएन,’ ट्याक्सी चालक कृष्ण खतिवडाले भने, ‘त्यसैले डेरा सरें ।’ एक वर्षदेखि कपन बसेका उनी अहिले न्युरो अस्पतालनजिक सरेका छन् । उनले हिलोले गर्दा दुर्घटनाको जोखिम बढेको गुनासो गरे । हिलोकै कारण अन्यत्रबाट ट्याक्सी कपन जान मान्दैनन् । दोब्बर भाडा दिन यात्रु तयार हुँदा पनि ट्याक्सी चालक हिलोलाई देखाउँदै पन्छिन्छन् ।

‘गाडी चलाउनै समस्या हुने गरेको छ,’ सुन्दरबस्तीबाट कलंकीसम्म संयुक्त यातायात चलाउँदै आएका राजन मगरले भने, ‘जति समस्या खेपे पनि समाधान गर्ने कोही भएनन् ।’ उनले यो रुटमा गाडी चलाउन थालेको तीन वर्ष भयो । धूलो र हिलोको समस्या नखेपेको दिनै हुँदैन । ‘सडकमा पोखरी बनेको हुन्छ, बिस्तारै गाडी चलाए पनि पानी उछिट्टिन्छ,’ उनले भने, ‘तर पैदल यात्रु यो कुरा बुझ्दैनन्, तथानाम गाली गर्छन् । सडक राम्रो भए यस्तो गाली खानु पर्दैनथ्यो होला ।’

घाम लाग्दा धूलोले पुरिने कपनवासी एक दिन मात्रै वर्षा भयो भने पनि आत्तिने गरेका छन् । वर्षायाम लागेसँगै उनीहरूको चिन्ता बढ्न थालेको छ । ‘एक वर्ष भयो, मोटरसाइकल घर पुर्‍याउन सकेको छैन,’ सुन्दरबस्ती बस्दै आएका अधिवक्ता श्रीराम प्याकुरेलले भने, ‘एक किमि टाढै मोटरसाइकल राखेर घर जाने गरेको छु ।’ सुरुका दिन मोटरसाइकल लिएर घरसम्म पुग्ने प्रयास गरें तर २/३ पटक चिप्लिएर लडेपछि फेरि आँट गरेनन् । ‘कपनवासीको मुख्य समस्या भनेकै सडक हो,’ उनले भने, ‘यो ठाउँलाई हिलो र धूलोबाट मुक्त गरिदिए राहतको सास फेर्ने थियौं ।’

२०६२ सालदेखि सुन्दरबस्तीमा किराना पसल गर्दै आएकी फत्तकुमारी बस्नेतले हिलोले गर्दा व्यवसाय नै चौपट भएको गुनासो गरिन् । ‘पहिला पिच थियो, पछि फराकिलो बनाउने भन्दै भत्काए,’ उनले भनिन्, ‘बाटो बन्ला भन्ने लागेको थियो तर पोखरी बनाइदिए । बाटो हिँड्नेले नसरापेको दिन हँुदैन ।’ वर्षा सुरु नहुँदै हिलोको समस्या भोग्नुपरेको उनले बताइन् ।

सडक हिलो भएको दिन पसलमा ग्राहक कम आउँछन् । ‘यो सबै ठेकेदारको लापरबाही हो, कमसेकम बाटो खनेपछि ग्राभेल त गरिदिनुपर्छ । यहाँ त बनाउनेभन्दा बिगार्ने मात्रै काम भयो,’ उनले भनिन् । उनका अनुसार जहाँ गहिरो छ, त्यहींको माटो निकालेर झन् खाल्डो बनाइएको छ । टोलवासी मिलेर नगरपालिकामा डेलिगेसन जाने तयारीमा रहेको उनले बताइन् ।

बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल ठेकेदारका कारण सडक निर्माण ढिलो भएको बताउँछन् । उनका अनुसार नगरपालिकाभित्र डेढ वर्षदेखि ठेक्का लागेका सडक छन् । त्यस्ता सातमध्ये कपनका मात्रै तीनवटा योजना छन् । साततलेदेखि बालुवाखानी हुँदै मानबहादुर मार्ग, मानबहादुर मार्ग हुँदै चुनिखेल र भृकुटीचोक–चुनिखेल हुँदै बूढानीलकण्ठसम्म जाने सडकको ठेक्का लागेर पनि काम शून्य छ । बूढानीलकण्ठबाट शिवपुरी जाने दुईवटा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र जाने एउटा सडकको ठेक्का लागेको छ ।

‘डेढ वर्षअघि सरकारले ठेक्का लगाएकामध्ये केही सडकको समय सकिइसकेको छ । केहीको असार र केहीको असोजसम्म समय भए पनि ढिलासुस्ती भइरहेको छ,’ उनले भने, ‘एक वर्षअघि स्थानीय तहको चुनावताका ठेक्का लागेका सबै सडक बनिसक्नुपर्ने हो तर ठेकदारले कतै आधा काम सकेका छन्, कतै कामै भएकै छैन ।’ उनले निरन्तर घचघच्याउँदा पनि ठेकदारले समयमै काम गर्ने छाँट नदेखाएको गुनासो गरे । ‘काम भइरहेको १० करोडको बाटोमा मैले २० लाखको ग्राभेल हालेर केही हुँदैन,’ उनले भने, ‘मैले नसकेको काम यही हो ।’ असार मसान्तभित्र सबै सडक हिँड्न सक्ने बनाउन ठेकेदारलाई कबुल गराएका छौं ।’ कपन साततलेदेखिको मूल बाटो बनाउने ठेकेदार शारदा अधिकारी हुन् ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?