३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

महानगरका दुई नियमावली सार्वजनिक

काठमाडौँ — महानगरपालिकाले बुधबार सार्वजनिक खरिद र विद्यालय शिक्षा व्यवस्थापन नियमावली सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरमा आयोजित एक कार्यक्रमका बीच राजपत्रमार्फत सार्वजनिक गरेका थिए ।

महानगरका दुई नियमावली सार्वजनिक

यी ऐन गत चैत सुरुआतमै कार्यपालिका बैठकबाट स्वीकृत भए पनि बुधबार राजपत्रमार्फत सार्वजनिक गरिएको महानगरले जनाएको छ । सार्वजनिक खरिद ऐन २०६३ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ सँग नबाझिने गरी ती नियमावली बनाएको महानगरको भनाइ छ ।

१ सय ३६ पृष्ठको सार्वजनिक खरिद नियमावलीमा १५ परिच्छेद, १ सय ४७ दफा र १२ अनुसूची छन् । एक वर्षभन्दा बढीसम्म लाग्ने योजनामा वार्षिक १० करोड रुपैयाँसम्मको खरिदका लागि महानगरले गुरुयोजना तयार गर्नुपर्ने हुन्छ । १० लाख रुपैयाँ लागतको निर्माण कार्य, ५ लाखसम्मको मालसामान खरिद, परामर्श लिने जस्ता कार्य अब महानगरले सहजै गर्न पाउने भएको छ ।

यसैगरी विद्यालय शिक्षा व्यवस्थापन नियमावलीमा माध्यमिक शिक्षा सम्बन्धी काम, कर्तव्य र अधिकारलाई प्रस्ट पारिएको छ । ८८ पृष्ठमा, १७ परिच्छेद, १०० दफा र १३ अनुसूची समेटिएको यो नियमावलीमा विद्यालय खोल्न अनुमति दिनेदेखि आवश्यक परे विद्यालय गाभ्नेसम्मका निर्णय गर्ने अधिकारको व्यवस्था गरिएको छ । शैक्षिक परामर्श दिने संस्था, ब्रिजकोर्स, कोचिङ सेन्टर जस्ता संस्थालाई पनि यो नियमावली मातहत समेटिएको छ । भाषा शिक्षण कक्षा, परीक्षा पूर्वतयारी कक्षा आदि सञ्चालन गर्न महानगरसँग स्वीकृति लिनुपर्ने हुन्छ । यी दुई नियमावलीसहित काठमाडौं महानगरपालिकाले ९ वटा ऐन तथा नियमावली राजपत्रमार्फत सार्वजनिक गरिसकेको जनाएको छ ।

संविधानको अनुसूची ८ मा महानगरपालिकाले २२ वटा ऐन बनाउनुपर्ने उल्लेख छ । जेठ १७ मा महानगरका निर्वाचित प्रतिनिधिले पदभार ग्रहण गरेका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?