१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

हराए सोह्रखुट्टे पाटीका सामान

सडक विस्तार गर्न रातिको समयमा सरकारले डोजर लगाएपछि मासिन पुग्यो ३१४ वर्ष पुरानो सत्तल
दामोदर न्यौपाने

काठमाडौँ — सडक विभागले सोह्रखुट्टे पाटीको नामोनिसाना मेटाएको चार वर्ष बितेको छ । चार वर्षपछि आएर यसको पुननिर्माण गर्न स्थानीयवासीले आवाज उठाएका छन् । यस सम्बन्धी समाचार समेत सार्वजनिक भएपछि पुनर्निर्माण गर्न सडक विभागले बजेटसमेत छुट्याएको छ ।

हराए सोह्रखुट्टे पाटीका सामान

यहाँका पुरातात्त्विक सामान कहाँ गए भनेर स्थानीयवासी, जनप्रतिनिधि लगायतले खोजी गरेका छन् । ‘यहाँ भएका सामान कहाँ गए ? यहाँका काठ कहाँ गए ?’

१६ खुट्टे बनाउने विषयमा छलफल गर्न पुरातत्त्व विभागमा आयोजना गरिएको छलफल कार्यक्रममा काठमाडौं महानगर वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले भने, ‘यी महत्त्वपूर्ण प्राचीन सामान कहाँ छन् ? चुकुल राख्ने ढुंगा थिए । ती ढुंगा पनि ल्याउनुस् । छानो भिँmगटीको थियो । ती भिँmगटी पनि चाहियो । हामीलाई एक–एक हिसाब चाहियो ।’ वि.सं. १८६४ मा बनेको हो, यो पाटी । वल्लो छेउमा चार, पल्लो छेउमा चार र बीचमा एक लाइनमा चार, अर्काे लाइनमा चार गरेर १६ खुट्टा टेकेर उभिएको एउटा पाटी थियो यहाँ ।

सडक विभागले २०७१ सालमा विस्तार गर्ने क्रममा यो पाटी समेत भत्काइदिएको थियो । एकतले छ यो पाटी । छानो भिँmगटीको छ । जंगलको बीचमा थियो, पाटी । पछि जंगल मासिएर यहाँ बस्ती बसेको थियो । यही पाटीको नामबाटै बजारको नाम रह्यो, सोह्रखुट्टे ।


जंगल मासिएर बस्ती बसेको धेरै भइसक्यो ।

अब जंगल मात्रै मासिएन, सोह्रखुट्टे समेत एकादेशको कथा भइसक्यो । सडक विस्तार गर्ने क्रममा रातिको समयमा सरकारले डोजर लगाइदियो ।

यही ठाउँमा अहिले पकनाजोलतिर जाने बाटो बनेको छ । बाटो बनेसँगै झन्डै दुई सय चौध वर्ष पुरानो सत्तल मासिएको हो । ‘यो जुन ठाउँमा थियो, त्यही ठाउँमा बन्नुपर्छ,’ स्थानीयवासी यादवलाल कायस्थ भन्छन्, ‘जस्तो थियो त्यस्तै बन्नुपर्छ ।’ पूर्वीय सभ्यतामा पाटीपौवा, मठ–मन्दिर निर्माण गर्नुलाई धर्मकर्म र सामाजिक सेवाको रूपमा समेत लिइने गरिन्थ्यो । अझै पनि लिइन्छ । सोह्रखुट्टे पाटी संस्कृति, धर्मकर्मसँग मात्रै सम्बन्धित छैन । यो यही पाटी हो, जहाँ थुप्रै भरिया बास बसेका हुन्थे । काम गरेर लखतरान परेका किसान थकाइ मारिरहेका हुन्थे । कोही बेला राज्यलाई तिर्नुपर्ने कर तिर्न समेत करदाताको भीड लाग्थ्यो । यसको परिचय यति मात्रै थिएन, खोतल्दै जाँदा यससँग इतिहास पनि जोडिएको छ । जुन अहिले नामेट पारिएको छ । ‘यहाँ ढुंगेधारा थिए,’ वडाअध्यक्ष रिजाल भन्छन्, ‘ढुंगेधाराको समेत नामोनिसान मेटिएको देखिन्छ । हाम्रो चासो पाटी जसरी पनि बन्नुपर्छ भन्ने हो । यहाँको धारा पनि बन्नुपर्छ भन्ने हो ।’

पुरातत्त्व विभागले भने आफूहरूलाई थाहै नदिई पाटी भत्काएको दाबी गरेको छ । ‘हामीले पनि भत्काइसकेपछि थाहा पायौं,’ विभागका प्रवक्ता रामबहादुर कुँवर भन्छन्, ‘यहाँका काठ कहाँ गए, इँटा कहाँ गए, हामी सडक विभागसँग माग्छौं । यो ऐतिहासिक सम्पदामा हाम्रो पनि चासो छ । यसलाई स्थानीयवासीको सल्लाहअनुसार नै बनाउन हामी तयार छौं । सम्पदा जोगाउनु हाम्रो दायित्व हो । स्थानीयवासी यसरी जागरुक हुनु झन् खुसीको कुरा हो ।’

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?