लाङटाङ र गोसाइँकुण्ड प्लास्टिकमुक्त बनाइने

बलराम घिमिरे

रसुवा — पर्यटकीय क्षेत्र लाङटाङ र गोसाइँकुण्डलाई प्लास्टिक र सिसाजन्य फोहोरबाट मुक्त गर्न अभियान थालिएको छ ।

लाङटाङ र गोसाइँकुण्ड प्लास्टिकमुक्त बनाइने

लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड गाउँपालिकाले ३ वर्षभित्र लाङटाङ र गोसाइँकुण्ड क्षेत्रलाई प्लास्टिक र सिसाजन्य फोहोरमुक्त क्षेत्र घोषणा गर्ने जनाएसँगै रणनीतिक योजना बनाएर अभियान थालिएको हो ।

पर्यटकीय क्षेत्रको प्लास्टिक र सिसाजन्य फोहोरको दिगो व्यवस्थापन गर्न ३ वर्षे रणनीतिक योजनासमेत तयार पारिएको छ । योजना आर्थिक वर्ष ०७५/०७६ बाट लागू हुने लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए । २३ वटा बुँदा समेटिएको रणनीतिक योजनामा लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा सिसाका बोतल बिक्री गर्न निषेध गर्ने तथा प्लास्टिकको झोला प्रयोगमा निषेध गर्ने उल्लेख गरिएको छ । विकल्पमा क्यान बियरलाई प्रयोगमा ल्याउने र प्लास्टिक झोलाको सट्टा कपडा र कागजको झोला प्रयोगमा ल्याउने जनाइएको छ ।

उक्त नीतिको अवज्ञा गर्ने घरधुरीलाई निकुञ्ज र पालिकाबाट दिइने सुविधा रोक्का गर्ने उल्लेख गरिएको छ । ‘रणनीतिक योजना कार्यन्वयन गर्न अभियान सफल बनाउन सरोकारवाला सबैलाई आग्रह गरिएको छ,’ रेग्मीले भने । आर्थिक वर्ष ०७८/०७९ मा पर्यटकीय क्षेत्र लाङटाङ र गोसाइँकुण्डलाई प्लास्टिक र सिसाजन्य फोहोरबाट मुक्त भएको घोषण गरिनेछ । निकुञ्जको ४२ औं स्थापना दिवसका अवसरमा गरिएको प्रतिबद्धताअनुसार स्वच्छ र सफा लाङटाङ निर्माण गर्न अभियान सुरु गरिएको रेग्मीले बताए । अभियानको पहिलो चरणमा पर्यटकीय क्षेत्रमा फोहोर संकलन गर्न युवाहरूलाई स्वयंसेवकका रूपमा परिचालनसमेत गरिएको छ ।

निकुञ्जभित्र होटल सञ्चालन गरेका व्यवसायीसँग प्लास्टिक र सिसाजन्य फोहोर व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तरक्रिया सञ्चालन गरिएको छ । फोहोर संकलन र जनचेतना अभियान सञ्चालन गर्न लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा दुइटा टोली निर्माण गरी परिचालन गरिएको छ । उक्त अभियानमा स्वयंसेवकका रूपमा हरित युवा पर्यटन विकास समाजका युवा र पर्यटन प्रहरी सहभागी छन् ।

स्वयंसेवकहरूले सातासम्म दुवै रुटमा भएका फोहोर संकलन गर्ने तथा जनचेतनामूलक अभियान सञ्चालन गर्ने हरित युवा पर्यटन विकास समाजका अध्यक्ष प्रमोद तितुङले बताए । उनले भने, ‘लाङटाङ र गोसाइँकुण्ड पदमार्गमा अभियान सञ्चालन गर्न १९ जना परिचालन भएका छन् ।’ गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले पर्यटकीय क्षेत्रहरूमा फोहोरको मात्रा बढदै जाँदा पर्यटन व्यवसाय नै धरापमा पर्ने सम्भावना बढेकाले निकुञ्जसँग सहकार्य गरेर संयुक्त रूपमा अभियान थालेको बताए । ‘पर्यटकीय क्षेत्रमा फोहोरको मात्रा बढदै जाँदा पर्यटन व्यवसायमा नकारात्मक असर पर्छ,’ उनले भने, ‘निकुञ्ज क्षेत्रभित्र पर्ने होटल तथा पदमार्गमा भएका फोहोर व्यवस्थापन गर्ने र फोहोर हुन नदिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरिनेछ ।’

खच्चर व्यवसाय सञ्चालन गर्न गाउँपालिकामा दर्ता गर्नुपर्ने नीति बनाउने र लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड रुटमा सामान लिएर जाने प्रत्येक खच्चरले ८ किलो र हेलिकप्टरले ४० किलो फोहोर तल झार्ने नीति बनाएर कार्यान्वन गर्ने गाउँपालिकाको योजना रहेको तामाङले बताए । फोहोमैला व्यवस्थापनका लागि प्रत्येक बस्ती र टोलमा फोहोरमैला व्यवस्थापन समूहसमेत गठन गरिनेछ ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?