‘भैपरी खर्च केका लागि ?’
हेटौंडा — प्रदेश ३ को सार्वजनिक लेखा समितिले सरकारले भैपरी आउने र विविध खर्च शीर्षकमा ठूलो रकम विनियोजन गरेको भन्दै अनियमितता आशंकामा सरकारको धारणा माग गरेको छ ।
कार्यकर्तालाई आर्थिक सहायता र चन्दाको नाममा उक्त रकम खर्च हुन सक्ने भन्दै समितिले सरकारको धारणा माग गरेको हो ।
बुधबार बसेको समितिको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई जेठ ४ गते समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको सभापति न्हुच्छेनारायण श्रेष्ठले जानकारी दिए । ‘चालू आर्थिक वर्षको बजेटमा सरकारले ठूलो रकम भैपरी र विविध शीर्षकमा विनियोजन गरेको पाइयो,’ श्रेष्ठले भने, ‘यसबारे अर्थमन्त्रीलाई बोलाएर सोध्ने निर्णय भएको हो ।’
चालू आर्थिक वर्षको बाँकी अवधिका लागि सरकारले ल्याएको आय/व्ययको अनुमानमा भैपरी खर्च शीर्षकमा चालूतर्फ ३० करोड र पुँजीगततर्फ ३३ करोड ६० लाख विनियोजन गरेको छ । विविध खर्च शीर्षकमा ६५ लाख विनियोजन भएको छ । विनियोजक विधेयकमाथिको छलफलमा सहभागी हुँदै प्रतिपक्षी दलका सांसदले कार्यकर्तालाई बाँड्ने नियतले विनियोजन भएको भन्दै आलोचना गरेका थिए । समितिको वार्षिक कार्यक्रम तथा बजेट खाका तयार गर्न रमेश पौडयालको संयोजकत्वमा जीवन डंगोल, बेलीमाया घले, मुनु सिग्देल र रत्न ढकाल रहेको उपसमिति गठन गरेको छ ।
शोक प्रस्ताव पारित
बुधबारको प्रदेशसभा बैठकले सांसद हरिशरण लामिछानेको निधनप्रति समवेदना व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ । भक्तपुर प्रदेशसभा १ (क) बाट निर्वाचित लामिछानको मस्तिष्काघातका कारण जेठ १ गते निधन भएको थियो ।