१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

ग्रामीण सडकमा यातायात ठप्प

हरिहरसिंह राठौर

धादिङ — बेमौसमी वर्षाले सडक हिलाम्मे बनेपछि धादिङ सदरमुकामबाट सञ्चालन हुने सबैखाले यातायात र ढुवानी साधन ठप्प भएका छन् ।

ग्रामीण सडकमा यातायात ठप्प

सदरमुकामबाट जिल्लाका विभिन्न ग्रामीण बस्तीहरूमा सञ्चालन हुने सडकमा सवारी आवतजावत कठिन बनेको हो । गत चैत अन्तिम सातादेखिको वर्षाले साङ्गकोष–तिप्लिङ्ग, पुछार बजार–सल्यानटार, बीचबजार–खाल्टे, सिरान बजार–धुवाँकोट सडक हिलाम्मे र धुलाम्मे बन्ने गरेका छन् । पानी परेको समयमा माटो बगेर हिलाम्मे बन्ने गर्छन् भने घाम लाग्दा धुलाम्मे । सडकको अवस्थाले सडक छेउछाउ घर हुने र पैदल यात्रा गर्नेहरूलाई निकै कठिन हुने गरेको नीलकण्ठ नगरपालिका ९ का प्रमोद लम्साल बताउँछन् ।

‘एक दिन पानी पर्‍यो भने पैदल हिंड्नै सकिन्न,’ लम्सालले भने, ‘घाम लागेपछि धूलोले सताउँछ र पानी परेपछि हिलोले सताउने गरेको छ ।’ जिल्लामा त्रिभुवन राजपथ र पृथ्वीराजमार्गबाहेक पिच सडक भएको मलेखुदेखि सदरमुकामसम्मको १८ किमि मात्रै हो । जिल्लाका ४ हजार ५ सय किमि ग्रामीण सडक कच्ची र धुले मात्रै छ । सदरमुकाम धादिङबेंसीबाट टारीबेंसी, आरुघाट र खहरे जाने लामो दूरीको सडकमा अत्यधिक सवारीसाधन आवतजावत गर्दा बाहै्र महिना अत्यधिक धूलो उड्ने गर्छ ।

अहिले हावाहुरी बढी चल्ने मौसम भएकाले घाम लागेको बेला सडकमा धेरै धूलो उड्ने र पानी पर्दा २ फिटसम्म हिलो भएर हिँड्नै नसक्ने लम्साल बताउँछन् । ‘सडक छेउछाउका बस्तीमा सास फेर्नसमेत गाह्रो हुने गर्छ,’ लम्सालले भने, ‘बिहान बेलुका खाना पकाउन, खान र धोएका लत्ताकपडा सुकाउन पनि समस्या हुने गरेको छ ।’ धादिङबेंसी–सल्यानटार, साङ्गकोष–तिप्लिङ, आदमघाट–किराञ्चोक, मलेखु–ताल्तीलगायत सुरु हुँदै गरेका सडक पानीले बिगारेको छ । यातायात सञ्चालनमा आउन नसक्दा यात्रुहरू समस्यामा परेका छन् । यातायात सेवा सञ्चालन भएका ठाउँमा पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडकभन्दा तल्लो क्षेत्रका बारीभरी हिलैहिलो बग्दा खेतीपातीमा समेत समस्या हुने गरेको साङ्गकोषका किसानको गुनासो छ । खेतबारीमा लगाएको तरकारी बाली र घाँसपातमा पनि धुलैधूलो हुदाँ वस्तुभाउहरूमा नाम्लेकीराको प्रकोप बढेको छ ।

विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी बिरामी पर्ने गरेका छन् । विद्यालयमा पढ्ने साना बालबालिका कहिले धुलैधूलो त कहिले हिलैहिलो भएर घर फर्कने गरेको निगलपानीकी सपना लम्सालले बताइन् । स्तरोन्नति भइरहेका अधिकांश सडक निर्माण ढिलासुस्तीले अलपत्र परेका छन् । सडक निमार्णलाई तीव्रता दिई समस्या चाँडो समाधान गर्न स्थानीयवासीले आग्रह गरेका छन् । बाटोको अवस्था यति जोखिमपूर्ण छ कि स्थानीय बासिन्दाहरू सवारीसाधनमा यात्रा गर्नुभन्दा पैदल हिँड्न सुरक्षित र छिटो मान्ने गर्छन् ।

सरकारी निकाय तथा सडक विभागले निर्माणमा बर्सेनि लाखौं खर्च गर्ने गरेको भए पनि सडकको अवस्था उस्तै हुने गरेको छ । हिउँदमै स्तरोन्नति गर्नुपर्ने भए पनि बर्खा लागेपछि मात्रै काम सुरु गर्ने प्रवृत्तिका कारण सडकको अवस्था झन् बिग्रने गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले गत शुक्रबार सडक निर्माणमा ढिलाइ गर्ने ठेकेदार कम्पनी र यातायात व्यवसायीलाई बोलाएर छलफल गरेको थियो । छलफलमा ठेकेदारहरूले सडक तोकिएको समयमा पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । ‘निर्माणाधीन सडक तोकिएको समयमा सम्पन्न गर्ने र अवरुद्ध भए सम्बन्धित ठेकेदारले खुलाउने प्रतिबद्धता जाहेर गरेका छन्,’ निमित्त प्रजिअ धोलकराज ढकालले भने ।

प्रकाशित : जेष्ठ ४, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?