कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मत्स्यनारायण मेला

प्रशान्त माली

काठमाडौँ — मच्छेगाउँस्थित पुण्यस्थल मत्स्यनारायण मन्दिरमा मलमास लागेपछि सुरु भएको मेला जेठ ३० सम्म चल्नेछ । राजधानीदेखि झन्डै ८ किलोमिटर दक्षिण–पश्चिममा अवस्थित मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्न थालेको छ ।

मत्स्यनारायण मेला

सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गदा र पद्म लिएको मूर्ति छ ।

मत्स्यनारायण मन्दिरका पुजारी शैलेश आर्चाय भन्छन्, ‘मत्स्य पुराणमा उल्लेख भएअनुसार सत्य युगका राजा सत्यव्रतले नदीमा सन्ध्या पाठ गर्ने क्रममा अञ्जुलीमा सानो माछा परेछ । माछा नदीमा बगाउन खोज्दा आफूलाई ठूलो माछाले खाने भन्दै उक्त माछाले राजाकै शरणमा बस्ने इच्छा व्यक्त गर्‍यो । माछाको तीव्र इच्छाका कारणले राजाले कमण्डलुमा पाले । माछा ठूलो हँुदै गएपछि कमण्डलुमा अटेन । पछि राजालाई शंख, चक्र, गदा र पद्मलाई लिएका आधा माछाको स्वरूपमा विष्णुले दर्शन दिए ।’

‘त्यो बेला सत्यव्रतले खनेको कुवा हालको देवस्थलको रूपमा रहेको मत्स्यनारायण कुण्ड हो,’ पुजारी आर्चायले भने, ‘मत्स्यको मुखबाट प्रकट भएकाले यिनलाई मत्स्यनारायण भनिएको हो । विष्णुले अवतार लिँदा सबैभन्दा पहिले मत्स्यअवतार लिएको किम्वदन्ती छ । त्रेता युगका राम सिकार खेल्ने क्रममा उक्त कुण्डमै प्यास मेटाएका थिए । द्वापर युगका कृष्ण पनि ग्वालहरूको साथमा उपत्यकाका पस्ने क्रममा मत्स्य कुण्डमै पुगे ।

सत्ययुगमा दैत्यसुरले भष्म गर्ने शिव डरले भाग्ने क्रममा लडेर शिर कुण्डमा परेको स्थान पनि मत्स्यकुण्ड नै हो ।’ मन्दिर परिसमा गरुडको मूर्ति र मत्स्यकुण्ड, ज्ञानकुण्ड र सुवर्ण गरेर १४ धारा छन् । मेला भर्न आउने श्रद्धालु भक्तजनले कुण्ड र धारामा स्नान गर्ने प्रचलन छ । कुण्ड र धारामा पानी आउन छाडेको ८ वर्ष बितिसक्यो । मत्स्यनारायाण मेला व्यवस्थापन समिति संयोजक एवं चन्द्रागिरि नगरपालिका ९ नम्बर अध्यक्ष देवेन्द्र महर्जन भन्छन्, ‘मेला भर्न आउने भक्तजनलाई स्नान गर्न समस्या हुने भएकाले ब्याँचा खोलामा डिप बोरिङ गरेर पानी ल्याएका छौं ।’

मलमास कसरी हुन्छ ?
सूर्य र चन्द्र ग्रहको मार्गमा २७ नक्षत्र तारा छन् । पूर्णिमा तिथिमा चन्द्र रहने नक्षेत्र ताराको आधारमा १२ महिनाको नाम राखिएको हुन्छ । चन्द्रमाको नियमअनुसार तिथि गणना गर्दा हुने टुटफुट सबै जम्मा गरेर साढे दुई वर्षमा एकपटक मिलान गर्दा हुने त्यस्तो महिनालाई अधिकमास वा मलमास भन्ने गरिन्छ । विष्णु पुराणअनुसार प्रतिवर्ष चन्द्रसम्वत्भन्दा सौर सम्वत् ११ दिनले बढी हुन्छ । यसैको मूल्यांकनमा २ वर्ष, ८ महिना १६ दिन र ४ घडीको हिसाब गर्दा एक पटक अधिकमास पर्न जान्छ ।

यसलाई नै मलमास भनिन्छ । मलमास ३ वर्षमा १ चोटि र ५ वर्षमा २ चोटि पर्न जान्छ । पुजारी आर्चाय बताउँछन्, ‘वैदिक कालमा पनि मलमासको परम्परा थियो । नामकरण भएको थिएन । पछि ‘पुरुषोत्तम महिना’ नामकरण गरियो । विष्णुको समर्पण गरिएकोले यस महिनाभरि नारायणको पूजा, पाठ, व्रत उपासना गरिन्छ । कृष्ण भूमण्डलमा आई भक्तजनहरूको पूजा अर्चना ग्रहण गर्ने विश्वास छ ।’ उनका अनुसार मच्छेगाउँमा मत्स्यनारायाण्को पूजा द्वापर युगका ख्यातिप्राप्त ग्वालाको पालादेखि चल्दै आएको हो ।

‘यहाँका पुराना पुस्ता गोपाली हुन् । अहिले पनि गोपालीद्वारा विषेश पूजा गर्ने चलन छ,’ उनले भने । मन्दिर शिखरशैलीमा बनेको छ । भक्तजन सुरुमा मन्दिरभित्र विराजमान पाञ्चायन देवता र विष्णुको दर्शन गर्छन् । पौराणिक शंखघण्टा बजाई दायाँ र बायाँ लक्ष्मी, सरस्वती, गणेश, राधा, कृष्ण, शिव, पार्वती, गरुड, हनुमान, सूर्य र मत्स्यनारायणको पूजाआर्चना गर्छन् । मत्स्यकुण्डको शिवलिंग, मन्दिरको पर्खालसँगै ऋषेश्वर महादेवको कलात्मक मूर्तिमा दर्शन गर्छन् ।

पहिला कुण्डको सर्वऔषधि र अमृत रूपमा लिइन्थ्यो । लिच्छवी राजाले यहाँको जलऔषधि रूपमा प्रयोग गर्दथे । अहिले पनि पेट फुल्ने, झाडावान्ता भएमा कुण्डको पानी पिए उनाले रोग निवारण हुने जनविश्वास छ । पुजारी भन्छन्, ‘मेलाको अवसरमा मन्दिरमा कासको थालीमा ३३ मालपुवा राखेर कासकै थाली, काजकै कचौरामा घ्यू र तेल राखेर पहेलो कपडाले छोपेर विधिअनुसार दान गरेमा अश्वमेध यज्ञ गरेको बराबर पुण्य मिल्ने विश्वास छ,’ उनले भने ।

मन्दिरमा पुरुषोतम महिनाबाहेक अन्य दिन पनि विशेष पूजा गरिन्छ । प्रत्येक दिन बिहान नृत्य र बेलुका आरती पूजा हुन्छ । कृष्णअष्टमी र रामनवमीमा रातभर मन्दिर खुला हुने, जागराम बसी बत्ती बाल्ने चलन छ ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?