१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

मासियो सिलखाना

त्यति चर्चामा नआएको यो दरबारको ऐतिहासिक महत्त्व निकै भएको र यसलाई पुनर्निर्माण गर्नुपर्ने इतिहासकार बताउँछन् ।
दामोदर न्यौपाने

काठमाडौँ — पहिलो प्रधानमन्त्री भीमसेन थापाकालीन सिलखानाको अस्तित्व लोप हुने स्थितिमा पुगेको छ । लगनटोलस्थित सिलखाना झन्डै दुई सय वर्ष पुरानो सिलखाना महानगरले भत्काएको थियो ।

मासियो सिलखाना

साढे तीनतले भवनको उत्तर, मध्य र दक्षिणतिरको गरेर तीन भाग थिए । भत्काउने कामका लागि पुरातत्त्व विभागबाट खटिएका संरक्षण अधिकृत प्रकाश खड्काअनुसार यी तीन भागमध्ये उत्तरतिर र दक्षिणतिरको भाग बढी क्षतिग्रस्त थिए ।

क्षति निकै भएकाले यसलाई भत्काएर नयाँ बनाउनुपर्ने सुझाव प्राविधिकले दिएका थिए । नयाँ बनाउन पुरातत्त्व विभागले पनि सुझाव दिएको थियो । महानगरले खुला ठाउँ चाहिन्छ भन्दै नयाँ नबनाउने भएको हो । महानगरले बनाए पनि नबनाए पनि यसको नक्सा भने बनाएको पुरातत्त्व विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत्त घिमिरेले जानकारी दिए । ‘हामीले नाप सबै तयार पारेका छौं । नक्सा पनि तयार छ,’ घिमिरे भन्छन्, ‘यसलाई जोगाउन नसकिने सुझाव आएपछि हामीले पनि भत्काउन सहमति दिएका हौं ।’

उनले थपे, ‘जस्ताको तस्तै बनाउनेको लागि हामीले यसको सम्पूर्ण अध्ययन गरेका छौं ।’ पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिका, नेपाली सेना र पुरातत्त्व विभागबीच दरबार भत्काउने सहमति भएको थियो । भत्काउने क्रममा यहाँका दुई महत्त्वपूर्ण चित्र भने जोगाउन सफल भएको खड्काले जानकारी दिए । यहाँ दुई भित्तेचित्र थिए । एउटा भित्तामा विश्वरूपाको चित्र थियो । यसमा महाभारत युद्धमा कृष्णले अर्जुनलाई देखाएको विराट रूप देखाइएको छ ।

दुई महत्त्वपूर्ण चित्र
विराट रूपभित्र थुप्रै देवीदेवताको चित्र छ । त्यसलाई ‘म्याग्निफाइङ ग्लास’ ले मात्र देख्न सकिन्छ । कृष्णले मुरली बजाएको चित्र सुनौला अक्षरले समेत लेखिएको थियो । ‘यो चित्र निकै सावधानीपूर्वक जोगायौं,’ खड्का भन्छन्, ‘लिउन लगाएको भित्तोमा चित्र थियो । लिउनसहित चित्र उप्कायौं । भित्ताको पछाडितिरको इँटा विस्तारै भत्काइयो । अगाडि कार्डबोर्ड बनाएर अडयायौं । यसलाई सुरक्षित रूपमा जोगाएर छाउनी संग्रहालय पठाइएको छ ।’

भवनको तेस्रो तलामा रहेको चित्रको उचाइ ९ फिट, चौडाइ ५ फिट थियो । यसमा बनाएको मितिसमेत उल्लेख छ । विसं. १८८९ शुभ दिन रोज ७ लेखिएको छ । भीमसेन थापाका भाइ रणवीरसिंह थापाले बनाएका थिए । भीमसेन थापाका कान्छो भाइ रणवीर त्यति बेला कर्णेल थिए । भीमसेन थापाको पतनपछि थापाको सम्पत्ति राज्यले कब्जा गर्‍यो । थापा परिवारको सर्वस्वहरण गरिएका सम्पत्ति सरकारले फिर्ता गरिदियो । अरू भाइले सबै आफ्ना सम्पत्ति फिर्ता लिए ।

संन्यासी बनेका रणवीरले फिर्ता लिएनन् । उनले फिर्ता नलिएपछि यो सरकारको स्वामित्वमा रहँदै आयो र यहाँ सिलखाना बनाइयो । सिलखाना नेपाली सेना मातहात राखेर हतियारको सुरक्षा गरिँदै आएको थियो । सुरुमा पाँच तला थियो, यो दरबार । नब्बे सालको भुइँचालोले भत्काएर पछि साढे तीन तलामा सीमित भयो । सुरुमा झिँगटीको छानो थियो । पछि जस्ताको छानो हालियो । ‘सेनाले लिएपछि पटक–पटक मर्मतसम्भार गरेको देखिन्छ,’ खड्का भन्छन् ।


ऐतिहासिक महत्त्व
त्यति चर्चामा नआएको यो दरबारको ऐतिहासिक महत्त्व निकै भएको र यसलाई पुनर्निर्माण गर्नुपर्ने इतिहासकार बताउँछन् । रणवीर नेपाल अंग्रेजबीच भएको युद्धमा सामेल थिए । उनीसमेत सहभागी मकवानपुर युद्धमा आफ्नो भूभाग जोगाउन सफल भएको इतिहासकार बताउँछन् । त्यो युद्धमा अंग्रेज सेनाका जर्नेलसमेत मारिए । सन् १८१४ मा नेपाल अंग्रेज युद्ध सुरु भएको थियो । युद्ध समग्रमा भने नेपालले हारेको थियो । सुगौली सन्धिमार्फत नेपालले आफ्ना भूभागसमेत गुमाउनुपरेको थियो । भीमसेन थापाका थुप्रै सुधारका काममध्ये मुख्य सैनिक सुधार थियो । इस्ट इन्डिया कम्पनी सरकारको मुख्य योजना नेपाल कब्जा गरेर भोटसम्म व्यापारिक मार्ग बढाउने योजना थियो । यो योजनाबाट परिचित थिए, थापा । इतिहासकारका अनुसार अंग्रेज पूरा एसियामा आफ्नो साम्राज्य विस्तार गर्न चाहन्थे । भीमसेन थापा एसियाबाट अंग्रेज धमाउन चाहन्थे । अंग्रेजबाट बढ्दो प्रभावबाट देशलाई जोगाउन उनले सैनिकलाई आधुनिक रूपमा संगठित गरेका थिए ।

उनले विदेशी विशेषज्ञसमेत झिकाएर सल्लाह लिएका थिए । फ्रान्सका सैनिकविद्लाई झिकाएर नेपाली सेनालाई तालिमसमेत दिलाएका थिए । सल्लाह दिन फ्रान्सका सेनापति नै झिकाएको इतिहासकार बताउँछन् । त्यति बेला फ्रान्स बेलायतको विरोधी थियो । बेलायतको साम्रज्यवादी नीतिको विरोध गर्दै आएको थियो, फ्रान्सले । सैनिकको पूरै पुनर्गठन गरेका थिए । सैनिकको पोसाकसमेत फ्रान्सेली शैलीकै बनाएका थिए ।

सैनिकको दर्जा पनि युरोपेली शैलीकै राखे । जर्नेल, कप्तान, लप्टनजस्ता पद युरोपबाटै प्रभावित भएर राखेको इतिहासकार बताउँछन् । उनले सेनाको पुनर्गठन मात्रै गरेनन्, हातहतियारले सुसज्जितसमेत पारेका थिए । हतियार उत्पादन गर्ने कारखानै स्थापना गरेका थिए । सेनालाई बस्न ब्यारेकको समेत व्यवस्था गरेका थिए । कोही ठाउँमा छाउनी पनि बनाएका थिए । उनको पालामा सैनिक संख्यासमेत बढाएका थिए । सिलखानामा उनकै पालाका हातहतियारसमेत थिए ।


बेचिए पुराना हतियार
ती हतियार नेपाली सेनाले बेचिदियो । पुरातत्त्व विभागका एक उच्च अधिकारीका अनुसार सेनाले विभागसँग सल्लाहै नगरेर दुई पटक हतियार बेचेको थियो । सेनाले २०३० सालमा र २०५७ गरी दुई पटक हतियार बेच्ने निर्णय गरेको थियो । स्रोतका अनुसार हतियार अमेरिकालाई बेचेको थियो । २०५७ सालमा टेन्डर प्रक्रियाबाटै हतियार बिक्री गरिएको थियो । ‘हामीले ट्रकका ट्रक हतियार लगेको देखेका थियौं,’ श्रेष्ठ भन्छन्, ‘कता लगियो भन्ने थाहा भएन ।’

सेनाले पुराना हतियार बेचेर नयाँ किन्ने निर्णय गरेको थियो । स्रोतका अनुसार अमेरिकाको इन्टरनेसनल मिलिटरी एन्टिक्सका अध्यक्ष क्रिस्चियन क्रान्मरलाई हतियार बेचिएको थियो । त्यतिबेला नेपाली सेनाका प्रधानसेनापति प्रज्वलशमशेर जबरा थिए । स्रोतका अनुसार ४ सय ५० टन हतियार बेचिएको थियो । २०३० सालमा सेनाले सिंगापुरको कम्पनीलाई दुई सय टन हतियार बेचेको थियो । सय वर्ष नाघेका जुनसुकै सामान, भौतिक संरचना लगायतलाई पुरातात्त्विक महत्त्वको मानिन्छ ।

यति धेरै ऐतिहासिक महत्त्व भएको सम्पदा मास्न नहुने सम्पदाप्रेमीले माग गरेका छन् । भीमसेन थापाले नेपाली वास्तुकलालाई भन्दा फ्रान्सको वास्तुकला भित्र्याएका थिए । बागदरबार, सिलखाना, छाउनीलगायतका भौतिक संरचना फ्रान्सेली वास्तुकलाका नमुना हुन् । यसको छानामा गजुर थियो । गजुर राख्ने शैली चिनियाँ वास्तुकला हो । थापा चीनको महावाणिज्यदूतसमेत भएकाले भवन निर्माणमा त्यहाँको प्रभाव परेको इतिहासकार बताउँछन् । यो दरबारलाई नेपालकै पहिलो गजुर भएको दरबारसमेत भनेर चिनिन्छ ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?