कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धमाधम बन्दै विद्यालय

हरिहरसिंह राठौर

धादिङ — विनाशकारी भूकम्पबाट क्षतिग्रस्त अधिकांश विद्यालयको पुनर्निर्माण भएको छ । विशेषगरी चेपाङ बाहुल्य रहेको दक्षिणी धादिङका पीडा र महादेवस्थानमा विद्यालयहरू निर्माण भएका हुन् ।

धमाधम बन्दै विद्यालय

भूकम्पको ३ वर्षसम्म टहरा, टेन्ट र खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले अहिले नयाँ भवनमा बसेर पढ्न पाएका छन् । नयाँ भवनमा पढ्न पाएसँगै विद्यार्थी पनि खुसी छन् ।

बेनीघाटको सीतामाई आधारभूत विद्यालयको व्यवस्थापन समितिका सदस्य भूमि त्रिपाठीले भने, ‘भूकम्पपछि भवन नहुँदा निकै गाह्रो भयो, पानी परेपछि विद्यार्थीलाई घर पठाउनुपर्ने बाध्यता हट्यो ।’ भवन बनेपछि विद्यार्थीलाई पढाउन सजिलो भएको त्रिपाठीले बताए । उनले नयाँ बनेका दुई ठूला कोठालाई विभाजन गरेर ४ वटा कक्षा सजिलै सञ्चालन गर्न सकिने बताए ।

नयाँ बनाइएका कक्षाकोठा बालमैत्री छन् । जसले विद्यालयको पढाइमा समेत सुधार हुने शिक्षकहरू बताउँछन् । विद्यालयका अनुसार यस शैक्षिक सत्रमा ४४ जना विद्यार्थी भर्ना भएका छन् । तीमध्ये ८० प्रतिशत चेपाङ छन् ।भवन निर्माणपछि पढाइमा पनि सहज भएको महादेवस्थान आधारभूत विद्यालयकाका प्रधानाध्यापक सीमा रावतले बताइन् । उनले पक्की भवन भएपछि बर्खामा घामपानी तथा हावाहुरीको समस्या र जाडोमा कठयांग्रिनुपर्ने समस्या टरेको बताइन् । नवनिर्मित विद्यालय भवनहरू भूकम्पप्रतिरोधी हुन् ।

त्यसैगरी, उत्तरी धादिङको खनियाँबास ९ विद्यालय भवनको पनि पुनर्निर्माण भएको छ । लेकाली आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज गिरीले विद्यार्थीलाई पढाउनेभन्दा कसरी सुरक्षित राख्ने भन्ने चिन्ता हटेको बताए । खनियाँबास गाउँपालिकाको १ र २ मा ९ विद्यालयका ११ भवन निर्माण गरिएको हो । युनाइटेड मिसन टु नेपालसँगको साझेदारीमा स्थानीय प्रयास नेपाल नामक गैरसरकारी संस्थाले जिल्लाका दक्षिण चेपाङ बसोबास रहेको क्षेत्रमा विद्यालय निर्माण गरिरहेको छ ।

महादेवस्थान र पीडाका ३९ विद्यालयमा ७८ कक्षाकोठा निर्माण भइसकेका छन् । त्यसमध्ये २५ विद्यालयमा अपांग तथा छात्रामैत्री शौचालयसमेत छन् । भवनहरू ह्वील चेयरमैत्री रहेको युनाइटेड मिसन टु नेपाल जिल्ला संयोजक शिव अधिकारीले बताए । उनले भने, ‘भवन मात्र नभई बालबालिकाको स्वास्थ्य तथा सरसफाइलाई पनि ध्यान दिएर विद्यालयमा सुविधासम्पन्न शौचालय तथा धारा निर्माण गरिएको छ ।’

जिल्लाको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ र गजुरी गाउँपालिकामा सिमान्तकृत चेपाङ समुदायको बाहुल्य छ । उनीहरूको न्यून आर्थिक अवस्थाका कारण पनि विद्यार्थीलाई नियमित गराउन समस्या छ । भौगोलिक विकटता, गरिबी र खाद्यान्न अभावका कारण विद्यार्थी विद्यालयमा उपस्थित हुँदैनन् ।

विद्यालय भवन बनेपछि आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउने कतिपय अभिभावकले प्रतिबद्धता जनाएका छन् । भूकम्पका कारण जिल्लाका ४ सय ६५ विद्यालयका ३ हजार ७ सय २५ कक्षाकोठा ध्वस्त भएका थिए । तीमध्ये १ हजार ९ सय ९४ कक्षाकोठा मात्रै निर्माण भएका छन् । २ सय ७५ विद्यालयका ८ सय २५ कक्षाकोठा निर्माणाधीन रहेको शिक्षा कार्यालयअन्तर्गतको आयोजना कार्यान्वयन इकाईका प्रमुख ईश्वरी ज्ञवालीले जनाए । उनले भने, ‘अहिलेसम्म विद्यालयको पुनर्निर्माण ५३ प्रतिशत सकिएको छ, २०७५ सालभित्र ७५ प्रतिशत पुनर्निर्माण सक्ने लक्ष्य छ ।’

प्रकाशित : जेष्ठ ६, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?