पीडित अझै बिचल्लीमा

भक्तपुर — चाँगुनारायण नगरपालिका–४ बेंसीका ५० वर्षीय ज्ञानबहादुर भँडेल डेढ महिनाअघि घरसँगैको खेतमा लडे । लडेर उनको करङ भाँचियो । अस्पताल गए, चिकित्सकले अपरेसन गर्न सल्लाह दिए । आर्थिक अभावले अपरेसन गर्न सकेनन् ।

पीडित अझै बिचल्लीमा

उपचार नपाएर थल्लिएका ज्ञानबहादुर अस्थायी टहरा कुरुवा भएका छन् । उनको दुईतले कच्ची घर २०७२ वैशाख १२ को भूकम्पका कारण भत्कियो । ज्ञानबहादुरको ६ जनाको परिवार तीन वर्षदेखि अस्थायी टहरामा बसोबास गरिरहेका छन् ।

‘भत्किएको घरका काठ, जस्ता संकलन गरेर अस्थायी टहरा बनाएको हो,’ उनले भने, ‘पुरानो जस्ताले छाएको टहराबाट पानी चुहिन्छ ।’ वर्षामा भाँडा थापेर रात कटाउनुपर्ने बाध्यता रहेको उनले बताए । भूकम्पले घर ढलेपछि झन्डै एक महिना त्रिपालमा बिताएका ज्ञानबहादुरको परिवार अस्थायी टहरामा कष्टकर रूपमा बसोबास गरिरहेका छन् । एक कुनामा चुल्हो, अर्को कुनामा राखनधरन, सँगै ओछ्यान । ‘छोरा/छोरीहरू खाटमा सुत्छन्, हामी भुइँमा ओछ्यान लगाउँछौं,’ उनले भने ।

उनले थपे, ‘घर बनाउन सकेनौं, साँझबिहान हातमुख जोर्नै मुस्किल छ ।’ ज्ञानबहादुरकी पत्नी वसन्ती भँडेल ज्यामी काम गर्छिन् । ज्यामी कामबाट आएको ज्यालाले घर चलाउनमा धौधौ छ । तीन छोरी र छोरा सामुदायिक विद्यालयमा पढाउनसमेत मुस्किल परेको छ । सामुदायिक विद्यालयमा शुल्क बुझाउन नपरे पनि कापी, किताब, विद्यालय पोसाक, खाजाको व्यवस्था गर्न नसक्दा छोरीले बीचैमा पढाइ छोड्न बाध्य भएको र बाँकी तीन सन्तानलाई उचित शिक्षा दिन नसकेको उनको गुनासो छ ।

भूकम्पका कारण क्षतिग्रस्त आवास निर्माणका लागि सरकारले वितरण गरेको पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान लिएका छन् । पुनर्निर्माणका लागि वितरण गरेको अनुदान रकम घर खर्चमै सकिएको बताउने ज्ञानबहादुरले भूकम्पले ढलाएको घर उभ्याउने सपना देख्न छोडिसके । ‘साँझबिहान हातमुख जोड्न, बालबच्चा पढाउन त सकेका छैनौं,’ उनले प्रतिप्रश्न गरे, ‘कसरी घर बनाउनु, घर बनाउने पैसा भए त उपचार गर्नुहुन्थ्यो ।’ ‘जग्गा बेचेर घर बनाउँ भने, जग्गा आफ्नो नाममा छैन,’ उनले भने ।

पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा गुठीको नाममा भएको र बिक्री गर्न मोहियानी हकसमेत प्राप्त भइनसकेको उनको गुनासो छ । ज्ञानबहादुरको जस्तै, कल्पना भँडेलको अवस्था पनि उस्तै छ । उनको पाँच जनाको परिवार अस्थायी टहरामा बसोबास गरिरहेका छन् । क्षतिग्रस्त घर पुनर्निर्माणका लागि लिएको पहिलो किस्ताको अनुदान रकम टहरा निर्माणमा खर्च भएको उनी बताउँछिन् ।

‘आम्दानीको स्रोत केही छैन, बालबच्चा पढाउनै पर्‍यो,’ कल्पनाले भनिन्,‘ज्यामी काम गरेर कमाएको पैसाले घर ठड्याउन मुस्किल छ ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जीएमएएलआई) भक्तपुरले भने अनुदान रकम लिइसकेका लाभग्राही आफ्नै व्यावहारिक समस्यामा अल्झेका कारण पुनर्निर्माण प्रभावित भएको जनाएको छ । जग्गाको समस्या, नगरपालिकाले तोकेको मापदण्डमा भवन निर्माण गर्न नसक्नेलगायतका आन्तरिक कारणले गर्दा अस्थायी टहरामा बसोबास गर्नुपर्ने अवस्था आएको जीएमएएलआईका सूचना व्यवस्थापन विशेषज्ञ भोजराज भट्टले बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रमाणीकरण गरी दुई चरणमा पठाएका २७ हजार ६ सय ४४ लाभग्राहीमध्ये २३ हजार ४ सय ३८ लाभग्राहीसँग निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भइसकेको भट्टले बताए । अनुदान सम्झौता भएका सबै लाभग्राहीको खातामा पहिलो किस्ताको रकम गइसकेको उनले बताए । पहिलो किस्तामा ५० हजार रुपैयाँ अनुदान लिई घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएका ३ हजार ४ सय ३७ लाभग्राहीले दोस्रो किस्ता र २ हजार ७ सय ५१ ले तेस्रो किस्ता पाएको जीएमएएलआई भक्तपुरले जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?