प्रदेशसभा सदस्यलाई घर फर्कनै हतार

नगेन्द्र अधिकारी

हेटौंडा — आर्थिक वर्ष ०७५/७६ को पूर्व बजेट छलफलको दोस्रो दिन प्रदेश ३ को सभामा गणपूरक संख्या नपुगेर बैठक नै नचल्ने स्थिति आयो । पूर्वबजेट छलफलमा भाग लिन ३३ सदस्यले नाम टिपाएकोमा बैठकमा ३६ सांसद मात्रै थिए ।

प्रदेशसभा सदस्यलाई घर फर्कनै हतार

सभा सदस्यहरू दोस्रो दिनको हाजिर गरेलगत्तै घर फर्किएका थिए । ७२ सदस्यले शुक्रबार उपस्थिति पुस्तिकामा हाजिर गरे पनि आधा मात्रै बैठकमा सहभागी भए ।

सत्तारूढ दलका मुख्य सचेतक रामेश्वर फुँयालले बैठकमा उपस्थित सांसदलाई बैठक नसकी बाहिर नजान ‘कान नफुकेको भए’ बैठक रोकिने निश्चित थियो । आफ्नो बोल्ने पालो सकिएलगत्तै सदस्यहरू घर फर्किएकाले बैठक कक्षका कुर्सी खाली हुँदै गएका थिए ।


शुक्रबार सार्वजनिक लेखा, अर्थ तथा विकास र उद्योग, पर्यटन, वातावरण समितिको बैठक र प्रदेशसभा बैठकमा उपस्थित सदस्य दिनको हाजिर गरेलगत्तै बाहिरिएका थिए । सदस्यलाई उपस्थित भएको दिनको बैठक भत्ताबापत ७ सय ५० र यातायात खर्चबापत ७ सय ५० रुपैयाँ उपलब्ध हुन्छ । सत्तारूढ सांसद रामेश्वर फुँयालले आगामी बैठकमा कम उपस्थितिको समस्या नहुने दाबी गरे । ‘कोरम पुगेको थियो, बैठक रोक्नुपर्ने अवस्था थिएन,’ फुँयालले भने, ‘अर्को पटक यस्तो अवस्था आउन दिन्न ।’ संविधानको धारा १८५ मा प्रदेशसभा बैठकमा सम्पूर्ण सदस्यको एक चौथाइ उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गरिने छैन भन्ने उल्लेख छ ।

प्रदेशको स्थायी मुकामबारे निर्णय नभएकाले पनि सदस्यले हेटौंडामा डेरा लिएका पनि छैनन् । बैठकमा सहभागी हुन आउने सदस्यहरू लगत्तै घर फर्कने गरेका छन् । शुक्रबारपछि जेठ १३ का लागि मात्रै बैठक आह्वान गरिएकाले सांसदहरू घर फर्कन हतार गरेका हुन् । अधिकांश सदस्यहरू हेटौंडामा नबस्ने भएकाले उनीहरूको अनुकूलतामा बैठक बस्दै आएको छ । विषयगत समितिले पनि नियमित बैठक नबसी सभा बस्ने अघिल्लो वा पछिल्लो दिनमात्रै बैठक राख्ने गरेका छन् । स्थान अभाव भए पनि शुक्रबार मात्रै ३ विभिन्न समितिको बैठक बसेको थियो । बैठक सकिएलगत्तै उनीहरू काठमाडौं वा गृहजिल्ला जाने गर्छन् । मकवानपुरका केहीबाहेक कोही पनि प्रदेशसभा सदस्य हेटौंडा बस्दैनन् ।

प्रदेशसभाको बैठकमा ‘ठूला नेता’ अनुपस्थित हुने गरेका छन् । तत्कालीन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागार्इं बैठकमा धेरै अनुपस्थित हुने सदस्यमा पर्छन् । बैठकको कार्यसूची तय गर्ने कार्यव्यवस्था परामर्श समितिका सदस्यसमेत रहेका पाण्डे स्वास्थ्यको कारण उपस्थित हुन नसकेको बताउँछन् । ‘नियमावली समितिको नेतृत्व गरेर काम गरें, सुरुसुरुमा त नियमित उपस्थित थिएँ,’ पाण्डेले कान्तिपुरसँग भने, ‘बीचमा बिरामी र केन्द्रीय कमिटीको बैठक र पार्टी एकताको कारण सहभागी हुन सकिनँ ।’ आगामी आर्थिक वर्षको प्रि–बजेट छलफलमा पनि पार्टी केन्द्रीय कमिटीको बैठककै कारण सहभागी हुन नसकेको उनले स्वीकारे । प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, नेमकिपाका सांसद सुरेन्द्रराज गोसार्इं र सिर्जना सैंजू पनि नियमित बैठकमा उपस्थित हुने गरेका छैनन् ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?