१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रदेशको बजेट बारे अझै अन्यौल छ : मुख्यमन्त्री

नगेन्द्र अधिकारी

हेटौंडा — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको बजेट र स्थानीय तहमा लागू गर्ने योजनाका बारेमा अझै अन्यौल रहेको बताएका छन् । 

प्रदेशको बजेट बारे अझै अन्यौल छ : मुख्यमन्त्री

प्रदेश समन्वय परिषद बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै उनले संघीय सरकारको नीति तथा कार्यक्रम पछि मात्रै स्पष्ट धारणा दिन सकिने बताए ।


‘प्रत्येक जिल्ला, प्रत्येक घरबाट योजनाको थाक लागेको छ, प्रदेश आफैँ बजेट कति हुन्छ भन्ने अन्यौलमा छौँ,’ उनले भने, ‘संघीय सरकारको नीति तथा कार्यक्रमले एउटा मार्गदर्शन दिनेछ, त्यसपछि स्पष्ट धारणा आउँछ र स्थानीय तहमा कुन कुन किसिमका योजना लागू गराउछौँ भन्ने भन्न सक्छौँ ।’


प्रदेश सरकार गठन भएको सय दिन पुग्न लागेको भन्दै मात्रै भएको भन्दै स्थानीय तह, प्रदेश र संघको भूमिकाबारे अझै अन्यौल भएको तर्क गरे । प्रदेश र स्थानीय तहबिच समन्वय गर्नकै लागि परिषदको बैठक बसेको भन्दै विकासका मोडल, समन्वयका विषयबारे छलफल गरेर स्पष्ट धारणा बनाएर जाने स्पष्ट पारे ।


सभामुख सानुकुमार श्रेष्ठले संविधान अनुरुप ऐन, नियम बनाउने क्रममा रहेको भन्दै साझा अधिकारका सूचीका विषयमा परिषदलाई समन्वय गर्न सुझाव दिए । प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बाँनियाले प्रदेशलाई भन्दा स्थानीय तहलाई बढी अधिकार संविधानले नै ग्यारेन्टी गरेको भन्दै त्यसको सदुपयोग गर्न अनुरोध गरे ।


पहिलो पटक प्रदेश समन्वय परिषदको बैठक बसेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा १३ जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहभागी छन् ।


दुई तहबिचको समन्वय, साझा अधिकारका सूची र प्राकृतिक श्रोत साधनको बाँडफाँड लगायतका बिषयमा छलफल हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयका कानून सचिव इन्दिरा दाहालले जानकारी दिइन् ।

प्रकाशित : जेष्ठ ७, २०७५ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?