सिन्धुली खुर्कोट खण्डमा ठूला सवारी प्रतिबन्ध

रामेछापमा चार दिन देखि ढुवानी ठप्प
टीकाप्रसाद भट्ट

रामेछाप — सडक सुविधा उपयोग गर्न नपाएपछि रामेछापमा ४ दिनदेखि ढुवानीका साधन गुडेका छैनन् । विपी राजमार्गको सिन्धुली –खुर्कोट खण्डमा ठूला सवारी साधन गुड्न सरकारले प्रतिबन्ध लगाएपछि तराईबाट रामेछापतर्फ जाने सबै ढुवानी ठप्प छ । 

सिन्धुली खुर्कोट खण्डमा ठूला सवारी प्रतिबन्ध

सिन्धुली प्रशासनले अनुमति पत्र नभएका सवारी साधनलाइ विपी राजमार्ग प्रवेशमा रोक लगाएपछि ढुवानी समस्या देखिएको हो । विपी राजमार्गमा सामान सहित १० टन भन्दा बढीका सवारी साधन गुडाउन नपाउने यातायात व्यवस्था विभागको निर्देशन छ ।

विभागले सोहि नियमलाइ कडाइका साथ लागू गराउनका लागि उक्त सडकमा ठूला सवारी साधनलाइ गुड्न अनुमति दिएको छैन ।


तराइबाट आउने ठुला ढुवानीका साधनबाट सामान सिन्धुली सम्म आउन अनुमति छ । सिन्धुलीसम्म ठूला सवारीले ल्याउने सामान ओरालेर सानोमा हाल्दै रामेछापतर्फ ढुवानी हुने गरेको थियो । टाटाको ११०९ मोडेलका गाडीले रामेछापतर्फको सामान ढुवानी गर्थे ।

उक्त गाडीमा ८ टन सामान अटाउँछ । गाडीको वजनसहित १४ टन हुने भएकाले प्रशासनले रोक लगाएको हो । यसअघि इजाजत पत्र नभएको अभियोग लगाउदै सवारी साधनसँग जरिवाना अशुल गरी ढुवानी गर्न दिएको थियो ।


सामान सहित १० टन भन्दा बढीका सवारी साधन गुड्न नदिदा तराईबाट रामेछाप र दोलखातर्फ खाद्यान्न र निर्माण सामाग्री रोकिएका छन् । चामल, चिउरा, दाल, चिनी, मैदा, तरकारी लगायतका दैनिक उपभोग्यका सामान रामेछापमा तराई हुँदै भित्रिने गर्छ ।

मन्थलीदेखि सिन्धुली हुँदै महेन्द्र राजमार्ग सबैभन्दा छोटो मार्ग हो । काठमाडौंबाट घुमाएर आउने दैनिक उपभोग्यका सामाग्री प्रति केजी ५ रुपैयाँसम्म महंगो हुने व्यवसायीहरुको दावी छ ।


विपी राजमार्गको खुर्कोट–सिन्धुली खण्डमा साँघुरो मोड र भिरालो जमिनबाट सडक निर्माण भएको आधारमा विज्ञहरुले १० टनभन्दा कम क्षमताका भारवहन साधन र १८ सिट क्षमताका यात्रुवाहक सवारी मात्र सञ्चालनका लागि सुझाएका थिए ।

सोही आधारमा यातायात व्यवस्था विभागले उक्त राजमार्गमा त्यस भन्दा माथिका सवारी साधनलाई सञ्चालन इजाजत दिएको छैन ।

प्रकाशित : जेष्ठ ७, २०७५ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?