कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेलम्बुमा विकास कार्यक्रम तीब्र

अनिश तिवारी

हेलम्बु (सिन्धुपाल्चोक) — स्थानीय सरकार गठनको एक वर्षमा हेलम्बु गाउँपालिकामा विकास कार्यक्रमले तीव्रता पाएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७३/२०७४ को ८० प्रतिशत काम सकेर योजना कार्यान्वयनमा आफूलाई जिल्लाकै अग्रस्थानमा उभ्याएको छ ।

हेलम्बुमा विकास कार्यक्रम तीब्र

कुल २४ करोड ९४ लाख ८२ हजार रकममा विषयगत शीर्षकमा छुट्टयाइएको ८० प्रतिशत कार्यक्रम सम्पन्न भएका छन् । २० प्रतिशत कार्यान्वयनको चरणमा रहेको छ ।

जिल्लाका १२ वटा स्थानीय तहमध्ये हेलम्बु योजना कार्यान्वयनमा अग्रस्थानमा रहेको दाबी जनप्रतिनिधिको छ । गाउँपालिकाको १३ करोड ४४ लाख ३२ हजार चालु र ११ करोड ५० लाख ५० हजार पुजीगत बजेत रहेको छ । आगामी असार मसान्तमा शतप्रतिशत योजना पूरा गर्ने लक्ष्य राखेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘योजनाको कामलाई अन्तिम बनाउने तरखरमा लगिरहेका छौं,’ प्रमुख शेर्पाले भने, ‘विकास निर्माणको फड्को मार्ने तरखरमा छौं ।

एक/दुई वटा मात्रै योजना भुक्तानीको क्रममा रहेका छन् ।’ पूर्वाधार विकासको क्रममा २४ करोड बराबर ग्रामीण सडकलाई सुधार गर्ने काममा लगाएको उनले बताए । ‘झन्डै तीन दर्जनभन्दा बढी सडक सम्बन्धी योजनाको काम सकाइसकेका छौं,’ उनले भने । शेर्पाका अनुसार सुरुङ मार्ग, म्हेचया कुमा घर, एकीकृत दलित औद्योगिक होमस्टे अध्ययन तथा तालिम गरी एक करोड ६० लाख बराबरको काम भएको छ ।

सार्वजनिक निर्माणमा ग्वोयोच्यो डाँडा, जोहेनडाँडा भ्यु टावर, बुद्ध स्मारक पार्कलगायतका योजनामा ४३ लाखको सुरुवाती काम हुँदै छ । याङदाङ क्षेकी ढुपु ग्याङ, च्याम्बेदो स्याज्यालगायतका ७ वटा खानेपानीको कार्य तीव्र रूपमा भएको छ । सडकको पर्यटकीय गोरेटो र पदमार्ग, पुल मर्मत, सुधारको कामलाई सँगै लगिरहेको उनले प्रस्ट्याए । गाउँपालिकाले ५० लाख र जिल्ला कृषि कार्यालयबाट प्राप्त ३ लाख ७४ हजार ३० रुपैयाँ रहेको छ ।

जम्मा कृषिमा मात्रै ७८ लाख ६४ हजार खर्च रहेको थियो । त्यस्तै गरी पशुसेवा शाखाको प्रजनन राँगो वितरण, परजीवी नियन्त्रण, पशु सेवा प्रसार, पशु बिमा, लोकल कुखुरा पालन, व्यवासायिक पशुपालकजस्तै १२ कार्यक्रम गरिएको छ । जसमा २५ लाख ३१ हजार खर्च गरिएको छ । शिक्षातर्फ ३५ सामुदायिक विद्यालय र दुई निजी मा गरी ३ हजार ७ सय विद्यार्थी छन् । शैक्षिक योग्यतालाई सुधार्नका लागि सबै शिक्षकदेखि प्रधानाध्यापकलाई अलग्गै तालिम दिइएको छ ।

वर्षैपिच्छै शत प्रतिशत विशिष्ट ल्याउने मेलम्चीघ्याङगाउँस्थित मेलम्चीघ्याङ माध्यमिक विद्यालयजस्तै बनाउने अभियान सुरु गरिएको छ । शर्तत अनुदानसहित गरी स्वास्थ्य क्षेत्रमा ८८ लाखको कार्य भएको छ । पर्यटकीय गाउँपालिकाको रूपमा चर्चित हेलम्बुका सबै पूर्वाधारको विकास गरेर उकास्ने कामलाई तीव्र बनाइएको छ । बाह्रै महिना चल्ने व्यवस्थित सडक निर्माणको अभियानलाई अगाडि बढाइरहेको शेर्पाको भनाइ छ । ‘हेलम्बुलाई पुरानो स्वरूपमा फर्काउने उद्देश्य राखेर कामलाई धमाधम सकेका हौं,’ उनले भने ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पा गाउँपालिकाले गरेका कामबारे समीक्षा गर्दै । जिल्लाका १२ स्थानीय निकायमध्ये सबैभन्दा बढी योजना हेलम्बु गाउँपालिकाले सम्पन्न गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?