रामेछापमा ५ दिनदेखि ढुवानी ठप्प

चामल, चिउरा, दाल, चिनी, मैदा, तेल, तरकारी लगायतका समाग्री अभाव

मन्थली — सडक सुविधा उपयोग गर्न नपाएपछि रामेछापमा ५ दिनदेखि ढुवानीका साधन गुडेका छैनन् । बीपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा ठूला सवारीसाधन गुडाउन सरकारले प्रतिबन्ध लगाएपछि तराईबाट रामेछापतर्फ हुने ढुवानी ठप्प भएको हो ।

रामेछापमा ५ दिनदेखि ढुवानी ठप्प

सिन्धुली प्रशासनले अनुमतिपत्र नभएका सवारीसाधनलाई बीपी राजमार्ग प्रवेशमा रोक लगाएपछि ढुवानी नभएपछि दैनिक उपभोग्य समान तथा खाद्यान्नको अभाव हुन थालेको छ । बीपी राजमार्गमा सामानसहित १० टनभन्दा बढीका सवारीसाधन गुडाउन नपाउने यातायात व्यवस्था विभागको निर्देशन छ । विभागले सोही नियमलाई कडाइका साथ लागू गराउनका लागि उक्त सडकमा ठूला सवारीसाधनलाई गुड्न अनुमति दिएको छैन ।


तराईबाट आउने ठूला ढुवानीका साधनबाट सामान सिन्धुलीसम्म आउन अनुमति छ । सिन्धुलीसम्म ठूला सवारीले ल्याउने सामान ओरालेर सानोमा हाल्दै रामेछापतर्फ ढुवानी हुने गरेको थियो । टाटाको ११०९ मोडेलका गाडीले रामेछापतर्फको सामान ढुवानी गर्थे । उक्त गाडीमा ८ टन सामान अटाउँछ । गाडीको वजनसहित १४ टन हुने भएकाले प्रशासनले रोक लगाएको हो । यसअघि इजाजत पत्र नभएको अभियोग लगाउँदै सवारीसाधनसँग जरिवाना असुल गरी ढुवानी गर्न दिएको थियो ।


सामानसहित १० टनभन्दा बढीका सवारीसाधन गुड्न नदिँदा तराईबाट रामेछाप र दोलखातर्फ खाद्यान्न र निर्माण सामग्री रोकिएका हुन् । चामल, चिउरा, दाल, चिनी, मैदा, तरकारीलगायतका दैनिक उपभोग्य सामान रामेछापमा तराई हुँदै भित्रिने गर्छन् । मन्थलीदेखि सिन्धुली हुँदै महेन्द्र राजमार्ग सबैभन्दा छोटो मार्ग हो । काठमाडौंबाट घुमाएर आउने दैनिक उपभोग्यका सामग्रीको ढुवानीमा प्रतिकिलो ५ रुपैयाँसम्म महँगो हुने व्यवसायीको भनाइ छ ।


भूकम्पबाट जर्जर रामेछापमा पुनर्निर्माणमा अभियान सञ्चालन भइरहेको छ । रामेछापका लागि छड, सिमेन्ट र इँटा तराईबाटै भित्रिने गरेका थिए । रड सिमेन्टको ढुवानी रोकिँदा मन्थलीमा कृत्रिम अभाव हुन थालेको छ । व्यवसायीले रडमा प्रतिकिलो ५ रुपैयाँसम्म भाउ बढाइसकेको गुनासो स्थानीय गोविन्दबहादुर थापाले बताए ।

दैनिक सरदर ५ सय ५० मालवाहक सवारी ओहोरदोहोर गर्ने रामेछापमा दैनिक उपभोग्यका सामग्रीको अभाव सृजना भएको जनाउँदै रामेछाप उद्योग वाणिज्य संघले आइतबार रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई ज्ञापनपत्रसमेत बुझाएको छ । संघका अध्यक्ष श्याम थापाले हस्ताक्षर गरी बुझाएको ज्ञापन पत्रमा यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरिएको छ । संघले आपूर्ति व्यवस्था सहज नभए संघर्षमा उत्रने चेतावनी दिएको छ ।


बीपी राजमार्गमा परेको ढुवानी समस्यालाई लिएर वर्षौंदेखि स्थानीय प्रशासन गुहारे पनि केही उपाय नलागेको तामाकोसी ढुवानी व्यवसायी संघका अध्यक्ष नवीन कार्की बताउँछन् । उनले हालसम्म व्यवसायीले पाउने पैसाबाटै राज्यलाई जरिवाना तिरेर ढुवानी हुँदै आएकोमा अब त्यो पनि नदिने भएकोले ढुवानी बन्द भएको बताए ।


कार्कीले बीपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा मात्र ठूला सवारीमा रोक लगाउने सरकारको निर्णय लज्जास्पद भएको जिकीर गरे । उही प्रकृतिको नेपालथोक–धुलिखेल खण्डमा रोडा बालुवा बोक्ने ट्रिपरलाई चल्न दिने तर सिन्धुली–खुर्कोट खण्डमा त्यही सरह सामान बोक्ने साधनमा रोक लाग्नु विडम्बना भएको बताए ।

स्थानीय प्रशासनले सिन्धुलीदेखि खुर्कोटसम्मको सडकमा मालवाहक सवारीसाधनलाई निर्बाध रूपमा सञ्चालन गर्न दिन इजाजतपत्र दिन माथिल्लो निकायलाई पटकपटक आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शर्माले स्थानीय व्यवसायीको मागलाई सम्बोधन गर्न माथिल्लो निकायमा लेखिपठाइएको बताए । ‘जिल्लामा आउने मन्त्री, पार्टीका शीर्ष नेताहरू सबैलाई उक्त समस्याको समाधानका लागि धेरैपटक अनुरोध गरेर थाकिसकियो,’ रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीन केसीले भने, ‘समस्या समाधान हुनुको साटो थप बल्झेको छ ।’

बीपी राजमार्गको खुर्कोट–सिन्धुली खण्डमा साँघुरो मोड र भिरालो जमिनबाट सडक निर्माण भएको आधारमा विज्ञहरूले १० टनभन्दा कम क्षमताका भारवहन साधन र १८ सिट क्षमताका यात्रुवाहक सवारी मात्र सञ्चालनका लागि सुझाएका थिए । सोही आधारमा यातायात व्यवस्था विभागले राजमार्गमा त्यसभन्दा माथिका सवारीसाधनलाई सञ्चालन इजाजत दिएको छैन ।

प्रकाशित : जेष्ठ ९, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?