बनेन जातीय संग्रहालय

शिल्पा कर्ण

काठमाडौँ — राजधानीवासीका लागि ‘दुर्लभ’ झैं, रूखहरू भएको जंगलनजिकैको एक शान्त स्थान । कीर्तिपुर नगरपालिकाको वडा नं. ४ मा पर्ने चम्पादेवी (धिना च्वँ) डाँडाको फेद, चम्पादेवी सामुदायिक वनक्षेत्र ।

बनेन जातीय संग्रहालय

सहरी कोलाहलबाट टाढाको शान्त, शीतल र सहरीकरणको असर खासै नदेखिएकोले पर्याप्त खुला स्थान भएको यो ठाउँमा ‘नेपाल राष्ट्रिय जातीय संग्रहालय’ बन्ने भनेको २० वर्ष भइसक्यो । तर अहिलेसम्म बन्न सकेको छैन ।

संग्रहालयका अध्यक्ष टीकाराम चौधरी भन्छन्, ‘सरकारले जग्गा दिए पनि धेरै पछि मात्र संग्रहालयको नाममा कायम गरियो ।

दोस्रो कुरा बर्सेनि निकै कम बजेट आउँछ, त्यो पनि आर्थिक वर्षको अन्त्यतिर मात्र ।’ यस क्षेत्रमा ५ वर्षअघिदेखि मात्र निर्माण कार्य सुरु भएको हो ।

अहिले त्यहाँ सुरक्षागार्ड बस्ने घर, चारैतिर पर्खाल, विद्युत्गृह, सय लिटरको पानी ट्यांकी र डिप बोरिङ छ । पछिल्लो ५ वर्षमा अढाइ करोड रुपैयाँ खर्च भइसकेको संग्रहालयले जनाएको छ । अब वन उपभोक्ता समितिबाट रूख कटानको अनुमति लिएपछि जग्गा सम्याई थप निर्माण कार्य हुने अध्यक्ष चौधरीले बताए ।

सुरुमा २०५८ सालको जनगणनालाई मध्यनजगर गरी १ सय ३ जातजातिका लागि भनेर गुरूयोजना बनाइएको थियो । पछि अर्को जनगणनापछि १ सय २५ जातजातिबारे अध्ययन गरी सबैका लागि क्लस्टर बनाएर जग्गा छुट्याइएकाले त्यसमा समय लागेको चौधरीले बताए ।

नेपालको परम्परा र रीतिरिवाज अध्ययन गर्न आउने अध्येतालाई बस्ने स्थान पनि उपलब्ध गराइनेछ । जग्गा सम्याएपछि जाति विशेषको समूहलाई हस्तान्तरण गरिने र उनीहरूले नै आफ्नो रहनसहन झल्किने गरी घर बनाउन दिइनेछ । उनीहरूले नै संस्कृति झल्काउने गरगहना, पोसाक र अन्य सामग्री थप्नेछन् । आवश्यक परे केही आर्थिक सहायता सरकारका तर्फबाट उपलब्ध गराइनेछ । हाल भृकुटीमण्डपमा स्थान अभावले २१ जातजातिसँग सम्बन्धित सामग्री राखिएको छ ।

‘यो नेपालको लघुचित्र वा मिनी नेपालका रूपमा हुन्छ,’ अध्यक्ष चौधरीले भने, ‘नेपालको जातीय र सांस्कृतिक दुवै पक्ष अध्ययन गर्न सर्वोत्तम स्थान हुनेछ । यसले नेपालको विविधता झल्काउनुका साथै सहअस्तित्वको सन्देश जान्छ ।’

‘ग्रामीण विकास संस्था’ को नामबाट २०५१ सालमा स्थापना भएको उक्त संग्रहालयलाई २०५४ सालमा नेपाल सरकारले चम्पादेवीमा २ सय रोपनी जग्गा दिएको थियो । २०६१ पुसमा नेपाल राष्ट्रिय जातीय संग्रहालय नाम दिइएपछि २०६७ सालमा संग्रहालयलाई भोगाधिकार प्राप्त भएको र जग्गाको प्रमाणपत्र उपलब्ध गराइएको हो ।

स्थानीय नेवार समुदायका साथै हिन्दु र बौद्ध धर्मावलम्बीका लागि धिना च्वँ डाँडा र चम्पादेवी मन्दिरको आफ्नै महत्त्व छ । यसबाहेक उक्त क्षेत्र वरपर मच्छेनारायण र बाघभैरवको मन्दिर छ । पर्यटकीय दृष्टिले पनि यो महत्त्वपूर्ण छ । यो रूट हुँदै भष्मासुर डाँडा, मकवानपुरसम्म हाइकिङ जाने पनि उत्तिकै हुन्छन् ।

यी सब कारणले स्थानीय केही सशंकित पनि छन् । विकासका नाममा यहाँ पनि जथाभावी निर्माण हुने, नजिकैको खोला र पानीका मुहान सुक्ने, फोहोर बढ्ने र जैविक विविधता मासिने खतरा भएकोले स्थानीयमा केही त्रास छ । चम्पादेवी डाँडा चन्द्रागिरि रेन्जमा पर्छ, यहाँ पानीको मुहान छ । नौमूले, टौदहसम्ममा पानी नसुक्नुमा यहीको जंगल कारण हो ।

हुन त अहिले कंक्रिट संरचना मातातीर्थ, बोसन, डाँडा आदिमा बनिसकेकाले पहिलेभन्दा धेरै मूल सुकेको स्थानीय बताउँछन् । भएको पानी पनि जंगल मास्दा सुक्ने हो कि भन्ने डर छ ।

वन उपभोक्ता समितिकी सहसचिव मीना खड्का भन्छिन्, ‘काठमाडौंमा यस्तो शीतल, सफा ठाउँ पाउनै मुस्किल छ । सबैभन्दा नजिक यही हो । आफैंले रोपेको, हुर्काएको यस्तो राम्रा, पुराना रूख काटिँदा दु:ख लाग्नु स्वाभाविक हो ।’ २०३४ सालमा रानी ऐश्वर्यले यो वनमा वृक्षरोपण गरेकाले यसलाई ‘रानीवन’ पनि भनिन्छ ।

वडा नं. ४ का अध्यक्ष राजेन्द्र बानियाँ निर्माण कार्यको औपचारिक जानकारी स्थानीय निर्वाचनपश्चात् वडालाई नदिइएकोले बढी जानकारी नभएको बताउँछन् । ‘पछिल्लो समय त्यहाँ पर्खाल र १/२ वटा संरचना निर्माण भएका र केही रूखहरू काटिने सुनेका छौं,’ उनले भने, ‘यस विषयलाई लिएर संग्रहालयसँग कुराकानी भएको छैन । उहाँहरूको गुरूयोजना हेर्न पाए हुन्थ्यो ।’ वातावरणलाई असर नपर्ने गरी निर्माण कार्य गरिए वडा र नगरपालिकाको सदैव साथ रहने उनको भनाइ छ ।

उक्त वनमा कालिजलगायत विभिन्न जातका चराचुरूंगी छन् । सिजन फेर्न बर्दियाका चराहरूसमेत यहाँ आउने वातावरणका अध्येताहरूको भनाइ छ । २०३४ साल र त्यसअघिका विभिन्न प्रजातिका रूख रहेको उक्त वनमा संरचना निर्माण हुँदा पानी सुक्ने हो कि भन्ने चिन्ता पर्यावरण संरक्षकहरूमा छ । स्थानीय वीरेन्द्र शाक्य भन्छन्, ‘पहिले सधंै बग्ने खोल्सा अहिले साउनेमूल भएको छ । वातावरण जोगाएर निर्माण कार्य गरिए यसले पर्यटक झन् बढाउँथ्यो ।’

इलाका वन कार्यालय मच्छेनारायणका वन अधिकृत जगदीश रेग्मीले उक्त क्षेत्रमा संरचना बन्ने स्थानका रूख मात्र काटिने जानकारी दिए । ती रूख नापेर काट्न सिफारिस गरिने जानकारी दिँदै उनले भने, ‘त्यहाँ नियमित रूपमा रूखमा चिनो लाउने कार्य भइरहेको छ । २ सय २० सल्लाका रूख नाप्ने र चिनो लाउने काम भइसके, लगभग २ सय जति अझै बाँकी छन् ।’ काठका किला गाडिइसकेको उनले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?