तंग्रिँदै हेलम्बुको पर्यटन

अनिश तिवारी

हेलम्बु (सिन्धुपाल्चोक) — भूकम्प गएको ३ वर्षपछि पूर्वाधार, धार्मिक स्थलको पुनर्निर्माणसँगै हेलम्बु गाउँपालिकाको पर्यटन व्यवसाय तंग्रिन थालेको छ ।

तंग्रिँदै हेलम्बुको पर्यटन

क्षतिग्रस्त बस्ती र धार्मिक स्थल विस्तारै उठ्न थालेपछि हेलम्बु गाउँपालिकाको प्रसिद्धस्थलमा दैनिक आउने पर्यटकको संख्या बढ्न थालेको छ ।

दैनिक सयभन्दा बढी पर्यटक भित्रिने हेलम्बु भूकम्पपछि शून्य भएको थियो । वार्षिक ३६ हजार पर्यटक पदमार्गको आनन्द लिँदै हेलम्बुको बस्तीदेखि विभिन्न धार्मिकस्थल अवलोकन गर्दथ्ये । अहिले पूर्वाधार र धार्मिक मन्दिरको निर्माण भइरहँदा दैनिक ४० पर्यटक आउने गरेका छन् ।

‘पर्यटकीय पदमार्गको लागि दिनहुँ १५ विदेशी आउँछन्, जसले माथिल्लो क्षेत्र घुम्न लक्ष्य राखेका हुन्छन्,’ हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले भने, ‘पर्यटकीय गाउँपालिका हेलम्बुमा सबै कुराको सुविधा सहज बनेपछि पर्यटक आउन थालेका हुन् ।’ ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा , मेलम्चीघ्याङ, महादेव पाइला, आमायांग्री घुम्न अत्यधिक आन्तरिक पर्यटक आउने गरेको उनले सुनाए ।

किउको शेर्माथान, मेलम्चीघ्याङस्थित पर्यटकको लागि लक्षित गरेर बनाइएको होटल, रिर्सोट पहिलेकै सुविधासम्पन्न अवस्थामा पुर्‍याउने कार्य भइरहेको छ । २ दर्जन सडक, बिजुलीदेखि खानेपानीलगायत सबै सुविधालाई लक्ष्य बनाएर सबै पूर्वाधारको काम एकैसाथ भइरहेको उनले बताए । ‘बाह्रै महिना चल्ने व्यवस्थित बनाउने काम हुँदै छ, जसले पर्यटक या यात्रीलाई आवतजावत गर्न सहज होस्,’ शेर्पाले भने । शेर्पाका अनुसार सामूहिक बासको व्यवस्थासहित आएका पर्यटकभन्दा एक्लै आएकालाई बासको समस्या हुने गरेको छ ।

साता दिन हेलम्बु घुम्ने प्याकेज लिएर अमेरिकाबाट आएकी केलिना केटले यहाँ स्वर्गीय आनन्द लिएको अनुभव सुनाइन् । ‘किउलको हरियो खेतमा लगाइएको धान र फाँटको रमाइलो लिँदै छांै, यसपछि मेलम्चीघ्याङ, तार्केघ्याङ हुँदै आमायांग्री महादेव पाइला हेरेर आनन्द लिने योजना बनाएका छौं,’ उनले भनिन् । पर्यटक आउने क्रम बढिरहेकाले किउल, हेलम्बु भेगका होटल तथा रिसोर्ट भरिन थालेको भण्डारी रिसोर्टका उत्तममणि भण्डारीले बताए ।

‘भूकम्पपछि शून्य बनेको पर्यटन फेरि उठ्न थाल्यो, दिनकै धेरैको संख्यामा आउने पर्यटकले यहाँको रिसोर्ट बुकिङ बढ्न थालेको छ,’ भण्डारीले भने । पूरा हेलम्बुको सुन्दरता चाखेर आएर पर्यटक बास बस्नका लागि किउल झर्ने गरेको उनले जनाए ।

‘किउलदेखिका माथिल्ला स्थानमा होटल बन्ने क्रममा छन्, होटल नबन्दा बासको समस्या टार्न उनीहरू तलतिर झर्ने गरेका छन्,’ उनले भने । पर्यटकी बस्तीको होमस्टे र कला संस्कृतिका कारण पर्यटक लोभिँदै हेलम्बु धाउने गरेको उनको कथन छ । गाउँपालिकाको पहलमा पूर्वाधारको योजनालाई सकेपछि पर्यटकले गर्दा स्थानीयलाई रोजगारी भइरहेको स्थानीय राजकुमार भण्डारीको अनुभव छ । ‘धार्मिक र प्राकृतिक सम्पदाले पर्यटक तानिन थालेका छन्,’ उनले भने ।

प्रकाशित : जेष्ठ ११, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?