समीक्षामा व्यस्त जनप्रतिनिधि

भक्तपुर, मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाले वर्ष दिनको कार्य विवरण सार्वजनिक गरेका छन्
लीला श्रेष्ठ

भक्तपुर — करिब दुई दशकपछि सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरेको वर्ष दिन बित्यो । जनप्रतिनिधिले नेतृत्व गरेपछि स्थानीय तहमा भए गरेका उपलब्धि तथा गर्नुपर्ने सुधारबारे जनप्रतिनिधिहरू समीक्षा गर्नमा व्यस्त छन् ।

समीक्षामा व्यस्त जनप्रतिनिधि

जिल्लाका चार स्थानीय तहमध्ये भक्तपुर, मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिले वर्ष दिनको कार्य विवरण सार्वजनिक गरेका छन् ।

झन्डै डेढ दशकदेखि रिक्त रहेका स्थानीय तहहरूमा संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न स्थानीय सरकारको रूपमा निर्वाचित भएसँगै आम नागरिकले समृद्धिको अपेक्षा गरेका छन् । नागरिकको अपेक्षाबमोजिम कार्य गर्न पर्याप्त स्रोत र साधन अभावमा अपेक्षाकृत उपलब्धि हुन नसके पनि जनप्रतिनिधिले नगरपालिकाको कार्य प्रभावकारी रूपले सञ्चालन गर्नका लागि तर्जुमा भएका ऐन, नियमावली एवं निर्देशिकाहरू निर्माणमै व्यस्त भएको प्रस्ट पारेका छन् ।

जसअनुरूप, भक्तपुर नगरपालिकाले शिक्षा ऐन, सहकारी ऐन, खेलकुदसम्बन्धी नीति, वडा बजेट खर्चसम्बन्धी नीति, जनप्रतिनिधिको आचारसंहिता, बैठक सञ्चालनसम्बन्धी कार्यविधि, नक्सापाससम्बन्धी संक्षिप्त कार्यविधि निर्माण गरी कार्य गरेको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भएपछि नगरपालिकालाई कक्षा १ देखि १२ सम्म सञ्चालन गर्ने अधिकार प्राप्त भयो । सोही अधिकारको सदुपयोग गर्दै भक्तपुर नगरपालिकाले आधारभूत तह (कक्षा ८) को छुट्टै परीक्षा लिएको छ ।

नगरपालिकालाई स्थानीय पाठ्यक्रम बन्दोबस्त गर्ने अधिकार प्राप्त भएकाले चालु शैक्षिक सत्रका लागि कक्षा १ र कक्षा ६ का लागि स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको नगरप्रमुख सुनिल प्रजापतिले बताए । नगरपालिकाले आगामी शैक्षिक सत्रभित्र कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरिसक्ने लक्ष्य लिएको जनाएको छ ।

जनप्रतिनिधिले स्थानीय तह नेतृत्व थालेपछि २५ शय्याको अस्पतालको तयारी गरेको जनाएको छ । नगरपालिकाले घरदैलोमा नर्सिङ सेवा सञ्चालनका लागि नगरका १० वटै वडामा नर्सिङ सेवा सञ्चालन गरेको छ । वडावडामा १ जना नर्सका साथ एक स्वास्थ्य स्वयंसेविकाको व्यवस्था मिलाएको छ । नगरपालिकाले कृषकलाई कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले कम जमिनमा बढी उत्पादन गर्न नि:शुल्क बीउ वितरण कार्यको थालनी गरेको जनाएको छ ।

नगरपालिकाले भूकम्पका कारण क्षतिग्रस्त सम्पदा पुनर्निर्माणलाई प्रमुख कार्यका रूपमा अघि बढाएको जनाएको छ । ससाना विकास निर्माण तथा सम्पदाहरू जीर्णोद्धार तथा पुनर्निर्माणको काम स्थानीयको सहभागितामा वडास्तरबाटै गर्ने नीति पारित गरी प्रत्येक वडाका लागि ५० लाख रुपैयाँका दरले विकास बजेट छुट्याएको जनाएको छ ।

त्यस्तै, सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिले सहकारी ऐन, कृषि बजार तथा व्यवसाय प्रवद्र्धन ऐन, शिक्षा नियमावली, व्यवसाय कर निर्देशिका, विज्ञापन कर निर्देशिका, निर्माण व्यवसाय निर्देशिका, भवन निर्माण मापदण्ड तथा नक्सापास कार्यविधि, वातावरण सरसफाइ तथा फोहोरमैला व्यवस्थापन निर्देशिका, जग्गा विकास निर्देशिका, पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका, योजना सञ्चालन कार्यविधि र टोल सुधार समिति कार्यविधि बनाएर कार्य प्रारम्भ गरेको जनाएको छ ।

नगरपालिकाले ८ करोड ४८ लाख ५० हजार रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य राखेकामा हालसम्म ७ करोड १५ लाख रुपैयाँ संलकन गरिसकेको सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले बताए । जनप्रतिनिधिले नेतृत्व थालेको वर्ष दिनमा ८० प्रतिशत विकासको बजेट खर्च भई अपेक्षाकृत कार्य भएको जनाएको छ ।

नगरपालिकाले नगरभित्रको विद्यालयको व्यवस्थापकीय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ । विद्यालयको व्यवस्थापकीय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापक र नगरप्रमुखबीच २७ बुँदे कार्यसम्पादन सम्झौता गरिएको जनाएको छ ।

नगरपालिकाले एकीकृत राजस्व सफ्टवेयर प्रणालीबाट संकलन गर्न सुरु गरेको छ । नगरपालिकाको मेरुदण्डका रूपमा रहेको लेखापालन कार्यलाई समयानुकूल सुधार गरी छिटोछरितो, सरल, शुद्ध एवं पद्धतिमूलक बनाउन राजस्व अनलाइन प्रणालीबाट संकलन थालिएको छ ।

सफ्टवेयर प्रणाली अपनाउँदा राजस्व छली नियन्त्रण गर्न सकिने नगरपालिकाले जनाएको छ । सेवाग्राहीले नगरपालिकाभित्र जुनसुकै स्थानमा घरजग्गा भए पनि नगरपालिकाको कार्यालय एवं वडा कार्यालयबाट राजस्व तिर्न सक्छ । नगरपालिकाले प्रत्येक वडा कार्यालयको राजस्व संकलन कक्षको कम्प्युटरमा ‘ई बिलिङ सिस्टम जडान गरी नगरपालिकामा उठेको राजस्वसमेत सिधै नगर प्रमुखको कार्यकक्षबाट हेर्ने सकिने व्यवस्था गरेको छ ।

नगरभित्रका १० वडा कार्यालय, १० स्वास्थ्यचौकी र ९ सामुदायिक विद्यालयको निगरानी नगरपालिकाको कार्यालयले एकैपल्ट गर्न सक्ने विद्युतीय प्रणालीको विकास गरेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा ११ सदस्यीय नगर प्रहरी भर्ना गरिएको जनाएको छ । सूर्यविनायक नगरप्रमुख वासुदेव थापाको नेतृत्वमा हनुमन्ते सफाइ अभियान सञ्चालन भइरहेको, आधुनिक कृषि व्यवसाय प्रवद्र्धनका लागि बीउ वितरण, चार वटा स्वास्थ्यचौकीमा ल्याब स्थापना, १० वटै वडामा स्वास्थ्य खोप क्लिनिक र गाउँघर क्लिनिक सञ्चालनको थालनी गरेको जनाएको छ ।

त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाका जनप्रतिनिधिले स्थानीय तहको कार्यसम्पादनलाई कानुनसम्मत बनाउन नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि/नियमावली, कार्यविभाजन/नियमावली, कार्यसम्पादन/नियमावली, बैठक सञ्चालन कार्यविधि, नगरसभा बैठक सञ्चालन कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?