कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागदरबार भत्काउन तानाबाना

जुद्धशमशेर प्रधानमन्त्री भएपछि उनका छोरा हरि शमशेरलाई दरबार दिइएको थियो
दामोदर न्यौपाने

काठमाडौँ — काठमाडौं महानगरले ऐतिहासिक बागदबार भत्काउन गत वर्षको भदौमा बोलपत्र आहान गर्‍यो । भत्काउन झन्डै तीन करोडको हाराहारीमा टेन्डरसमेत परेका थिए ।

बागदरबार भत्काउन तानाबाना

यसको चौतर्फी विरोध भएपछि महानगरले भत्काउने प्रक्रिया अघि बढाएन । यससम्बन्धी कान्तिपुरमा समाचार सार्वजनिक भएपछि पुरातत्त्व विभाग र उपत्यका विकास प्राधिकरणले पनि यसलाई भत्काउने प्रक्रिया नबढाउन पत्राचार गर्‍यो ।

यी निकायको पत्राचारपछि काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले यो बागदरबार नभई हरिदरबार भएकाले भत्काएर अर्काे अत्याधुनिक भवन बनाउने स्केचसहितको योजना सार्वजनिक गरेका थिए । त्यसको पनि विरोध भएपछि महानगरले तत्काल भवन भत्काएन । महानगर स्रोतका अनुसार यसलाई भत्काएरै छाड्न गोप्य रूपमा महानगरले योजना बनाएको छ । यो बागदरबार नभई हरिदरबार हो, सय वर्ष नपुगेकाले भत्काउन अनुमति माग्दै पुरातत्त्व विभागमा माग गरेको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्य यसलाई भत्काउने उद्देश्यले पटक पटक हरिदरबार भन्दै आएका छन् । ‘यो बागदरबार होइन, हरिदरबार हो,’ महानगरका मेयर शाक्य भन्छन्, ‘हरिदरबार सय वर्ष पुगेको छैन । सय वर्ष नपुगेकाले यो पुरातात्त्विक होइन । त्यही भएर यसलाई भत्काउन कुनै अप्ठेरो पर्दैन ।’ पुरातत्त्व विभागले सय वर्ष नपुगेको भए पनि अद्वितीय कलाकृतिले भरिपूर्ण विशिष्ट वास्तु लक्षणले युक्त भवन संरक्षण गर्नु विभागको दायित्व भएको बताएको छ ।

‘बागदरबार २०७२ सालको भुइँचालोले क्षतिग्रस्त हुन गई नेपालकै ऐतिहासिक कालखण्डको प्रतिनिधित्व गर्ने बागदरबार भत्काई नयाँ भवन बनाउने कार्य हुन थालेको व्यहोरा विभिन्न पत्रपत्रिका एव् सञ्चार माध्यमबाट आइरहेको हुँदा महत्त्वपूर्ण ऐतिहासिक स्थल धरहरा र सुनधरासँग सम्बन्धित अद्वितीय कलाकृतिसहित विशिष्ट वास्तु लक्षणले युक्त उक्त ऐतिहासिक महत्त्वको दरबारलाई सबलीकरण गरी जोगाउनुपर्ने सम्बन्धित निकायको दायित्व हो,’ पुरातत्त्व विभागकी लिपि अधिकृत सविता न्यौपाने पौडेलले केही महिनाअघि लेखेको पत्रमा उल्लेख छ ।

विभागले प्राचीन स्मारक ऐन २०१३ अनुसार सय वर्ष ननाघे पनि संरक्षण गर्नु आफ्नो दायित्व रहेको समेत सम्झाएको थियो । विभागले आफूले अध्ययन गर्दा दरबारको भित्री भाग केही पनि नभएको उल्लेख गरेको छ । ‘पुरातत्त्व विभागले २०७४ मा गरेको उत्खननबाट पनि दरबारको भित्री जग बलियो रहेको पाइएको र महानगरपालिकामार्फत उक्त दरबार सबलीकरणको सम्भाव्यता अध्ययन गर्न दिइएको परामर्शदाताले दिएको प्रतिवेदनमा पनि दरबारलाई वर्तमान स्वरूपमै जोगाउन सकिने सुझाव दिएको जानकारी प्राप्त भएको हुँदा भत्काउने कार्य तत्काल रोक्क गर्न निर्देशनअनुसार अनुरोध गर्छ,’ पत्रमा उल्लेख छ ।

विभागले यो दरबार बागदरबार नै भएको ऐतिहासिक प्रमाणसहित पत्राचार गरेको थियो । इतिहासविद्का अनुसार अमरसिंह थापाले यहाँ बनाएको दरबार सानो थियो पहिला । भीमसेन थापाको दरबारसँग नजिक सम्बन्ध भएपछि हनुमानढोका दरबार नजिकै पर्ने भएकाले यहाँ बस्न भीमसेन थापालाई थप १ सय २० रोपनी जग्गा दिएका थिए । बुबाले बनाएको घर भएका ठाउँमा भीमसेन थापाले थप भव्य भवन बनाउन लगाए । यही बेला भीमसेन थापाले धरहरा पनि बनाए ।

धरहरा र बागदरबारमा मुगल वास्तुकला भित्र्याएका थिए । विसं १८९४ मा भीमसेन थापाको पतन भयो । उनको पतनपछि यो दरबार सरकारीकरण गरिएको थियो । विसं १९०१ मा माथवरसिंह थापा प्रधानमन्त्री भए । माथवरसिंह प्रधानमन्त्री भएपछि भीमसेन थापाको हरण भएको सम्पत्ति फेरि थापाहरूको स्वामित्वमा आयो । माथवरसिंह थापा पनि भीमसेन थापाको यही दरबारमा बस्थे । माथवरसिंह थापाले दरबारमा एउटा पाटे बाघ पालेका थिए ।

त्यही भएर यो दरबारलाई स्थानीयवासीले बाघदरबार भन्न थालेको इतिहासकारहरूले बताएका छन् । बाघदरबारबाट अपभ्रंश भएर बागदरबार भन्न थालियो । यहाँ पछिसम्म पनि बाघको खोर थियो । राणाकालमा समेत यहाँ बाघ पाल्ने गरिन्थ्यो । विभागका अनुसार यो दरबारको नाम माथवरसिंह थापाका छोरा नयनसिंह थापाले बागदरबार राखेका थिए । नामकरण गर्नासाथ दरबार आफ्ना बहिनीजुवाइँ राजेन्द्रविक्रम शाहलाई दिएका थिए । त्यसपछि सुरेन्द्रविक्रम शाह, धीरेन्द्रविक्रम शाह, मोहनविक्रम शाह, चैतरिया नरेन्द्रविक्रम शाहलगायत बसेका थिए ।

जुद्धशमशेर प्रधानमन्त्री भएपछि उनका छोरा हरि शमशेरलाई दरबार दिइएको थियो । १९९० सालको भुइँचालाले क्षति पुर्‍याएपछि हरिशमशेरले बागदबारलाई पुनर्निर्माण गरेका थिए । महानगरले भुइँचालो आएपछि यहाँको दरबारको केही भाग भत्काएर इँटा संकलन गरेको थियो । इँटा जुद्धशमशेरका पालामा बनेको पाइएको छ । त्यही आधारमा महानगरले यसलाई सय वर्ष नपुगेको सम्पदा भन्दै आएको छ । ‘बागदरबारलाई हरिदरबार भन्नु हास्यास्पद छ,’ सम्पदा अभियन्ता तथा कानुनको विद्यार्थी सञ्जय अधिकारी भन्छन्, ‘त्यसो हो भने चाँगुनारायणलाई मानदेवका पालाको भन्ने कि नभन्ने ?

जीर्णाेद्धार त धेरै पटक भएको छ । पशुपतिनाथलाई प्राचीन मान्ने कि नमान्ने ? पशुपतिको पनि जीर्णाेद्धार बीस वर्षअघि मात्रै भएको थियो । यो सब बागदबार मास्ने प्रपञ्चबाहेक केही होइन । बागदबारलाई हरिदरबार भन्नु भनेको केटाकेटी कुरा हो ।’ बागदरबार भुइँचालोले क्षति पुर्‍याएको भन्दै महानगरले तीन वर्ष पहिला भत्काउने योजना बनाएको थियो । तर पुरातत्त्व विभागले रेक्टोफिट गरेर यसलाई जोगाउन सक्ने भन्दै भत्काउन दिएको थिएन । महानगरमा विद्यासुन्दर शाक्य मेयर हुनासाथ बागदरबार भत्काउने अभिव्यक्ति दिँदै आएका थिए ।

शाक्य महानगरको दलीय संयन्त्रमा भएकै बेला यसलाई जोगाउने निर्णय भएको थियो । आफैं संयन्त्रमा हुँदा जोगाउने भनेर गरेको निर्णयलाई पछि आफू शक्तिमा आएपछि भत्काउन खोजेको महानगरका एक उच्च अधिकारी बताउँछन् । उपत्यकाका ४५ पुराना दरबारमध्ये राष्ट्र बैंक बसेको थापाथली दरबार र बालुवाटारको दरबार मात्रै भत्काउनुपर्ने प्राविधिकले सुझाव दिएका थिए । बाँकी दरबार रेक्टोफिट गरेर जोगाउन सकिने थिए ।

बागदरबार भत्काउन पुरातत्त्व विभागले रोक लगाएपछि तत्कालीन कार्यकारी प्रमुख रुद्रसिंह तामाङका पालामा यो दरबारलाई सांस्कृतिक केन्द्रका रूपमा विकसित गरिने योजना अघि सारेका थिए । बागदरबार केही वर्षदेखि काठमाडौं महानगरपालिकाले प्रयोग गर्दै आएको छ । त्यसअघि यहाँ अर्थ मन्त्रालय थियो । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएको भवन काठमाडौं महानगरपालिकाले आफ्ना लागि बनाएको थियो ।

यहाँ सर्वसाधारणलाई पायक नपर्ने भएकाले त्यो भवन अख्तियारलाई दिएर महानगर बागदरबार सरेको थियो । राणाकालीन समयमा ४५ भवन बनेको तथ्यांक छ । त्यसमध्ये ३० वटा दरबार विशेष आकर्षक र कलात्मक तरिकाले बनेका थिए । राष्ट्र बैंक प्रयोग गरेको थापाथली दरबार र बालुवाटारको ललिता भवन मात्रै भत्काउन पुरातत्त्व विभागले अनुमति दिएको छ । अरू भवन ‘रेक्टोफिटिङ’ गर्न सकिने अवस्थामा रहेको पुरातत्त्व विभागले जनाएको छ ।

‘थापाथली दरबार र ललिता दरबार भत्काएर बनाउन सुरु भइसकेको छ,’ दाहाल भन्छन्, ‘अरूलाई सबलीकरण गरेर जोगाउने योजना छ ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि बागदरबार नभत्काउन पत्राचार गरिसकेको छ । बगदरबार मात्रै नभएर कुनै पनि प्राचीन दरबार मास्न नपाइने सम्पदाप्रेमीले माग गरेका छन् । ‘बागदबार मात्रै होइन, कुनै पनि राणाकालीन दरबार मास्न पाइँदैन । मास्नै लागेको सिंहदरबारसमेत हामीले जोगायौं,’ सम्पदा अभियन्ता रवीन्द्र पुरीले भने, ‘बागदबार भत्काउनुपर्ने कुनै कारण छैन । यसलाई सबलीकरण गरेर जोगाउनुपर्छ ।’ बागदरमा भन्दा कैयौं गुणा जीर्ण घरसमेत मर्मत गरेर आकर्षक बनाएको पुरीले बताए । ‘हामीले सबलीकरण गरेर राम्रा बनाएका घरका नमुना हामी महानगरलाई देखाइदिन सक्छौंं,’ पुरीले भने, ‘हामीले जोगाएका भवन देखेर महानगरलाई पनि संरक्षण गर्नुपर्छ भन्ने भाव जागोस् ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?