२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मकवानपुरमा भूक्षयको उच्च जोखिम

प्रताप विष्ट

हेटौंडा — भूक्षय र पहिरोको दृष्ट्रिकोणले मकवानपुर उच्च जोखिमको क्षेत्र मानिन्छ । भूकम्पपछि भौगर्भिक सूचना प्रणालीबाट गरिएको अध्ययनअनुसार मकवानपुरमा साना–ठूला गरेर १ हजार ६३ वटा पहिरो गइसकेका छन् ।

मकवानपुरमा भूक्षयको उच्च जोखिम

जिल्लाको कुल भूभागमध्ये १५ हजार ६ सय ६० हेक्टर अर्थात् ६ दशमलब ४९ प्रतिशत जमिन मात्रै भू–क्षय र पहिरोको दृष्टिकोणले सुरक्षित छ । ७४ हजार १ सय ३२ हेक्टर जमिन अर्थात् कुल जमिनको ३० दशमलब ७३ प्रतिशत जमिन खहरे र बाढीपहिरोबाट सधैं जोखिममा छ भने जिल्लाको ६३ प्रतिशत जमिन अर्थात् ५१ हजार हेक्टर भूभाग भूक्षयका कारणले उच्च जोखिममा रहेको भूसंरक्षण कार्यालयका प्रमुख राजु दाहालले बताए । अवैज्ञानिक खेती प्रणाली, भूमिको सही उपयोग तथा व्यवस्थापन गर्न नसक्दा मकवानपुर प्राकृतिक प्रकोपको रूपमा पहिरो र भूक्षयको जोखिममा रहेको उनले बताए ।

भूक्षय र पहिरोको जोखिमको हिसाबले मकवानपुर देशमै सोलुखुम्बुपछि दोस्रोमा पर्छ । भुसंरक्षणका महत्त्वपूर्ण उपाय अवलम्बन नगरिएकाले मकवानपुरको ठूलो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको हो । भौगर्भिक सूचना प्रणाली अध्ययनपछि मकवानपुरमा एक हेक्टर क्षेत्रफलभन्दा सानो पहिरोको संख्या ७ सय ५१ रहेका छन् भने १ देखि २ हेक्टरभित्रका पहिरो १ सय ५६ वटा, २ देखि ३ हेक्टरसम्म क्षेत्रफल भएको पहिरोको संख्या ६१ वटा छन् । ३ हेक्टरदेखि १० हेक्टरसम्म क्षेत्रफल ओगटेका पहिरो ८५ वटा रहेको भूसंरक्षण कार्यालयका प्रमुख थापाले जनाए । ५ हेक्टरभन्दा माथि क्षेत्रफल भएका ४८ वटा पहिरो संवेदनशील रहेका छन् ।

नामटारको तारेभीर, भीमफेदी गापाअन्तर्गत पर्ने साविकको भैसे–५ को रातो पहिरो, राक्सिराङ गापामा पर्ने राक्सिराङ गाविस ५ को परेवाभीरको पहिरो र इन्द्रसरोवर गापाको साविकको मार्खु गाविस ९ को छहरे पाखोको पहिरो सबैभन्दा बढी संवेदनशील छन् ।

ती ४ वटा पहिरोका कारण नामटार तथा राक्सिराङको बस्ती र मार्खुको पहिरोले कुलेखानी जलाशय उच्च जोखिममा रहेको कार्यालय प्रमुख दाहालले भने, ‘समयमै विशेष गरी यी चारवटा पहिरोको जोखिमलाई न्यूनीकरण गर्नेतर्फ सबैको ध्यान जानु जरुरी छ ।’ जिल्लाको कुल भूभागको ४८ दशमलब ७५ प्रतिशत क्षेत्रफल चुरेक्षेत्रले ओगटेको छ । भूबनोटका दृष्टिले यस जिल्लाका लागि यो चुनौतीको रूपमा रहेको छ । चुरेक्षेत्रको खहरेबाट बर्सेनि मकवानपुर जिल्लाको २ सय बिगाहाभन्दा बढी ऊर्वर जमिन बगरमा परिणत हुँदै आएको छ भने सय परिवारभन्दा बढी सुकुम्बासी बन्दै आएका छनन् ।

जंगल मास्ने क्रममा र मानवीय गतिविधिमा भने कमी आउन सकेको छैन । मकवानपुरमा मात्र करिब १ सय ५० किलोमिटरभन्दा बढी लम्बाइमा फैलिएको चुरे पहाडको वन विनाशका खहरेले चुरे आसपासका बस्ती र ऊर्वर जमिनलाई क्रमश: बगरमा परिणत गर्दै गइरहेको छ भने शिवालिक क्षेत्रको जंगल पनि त्यही गतिमा मासिँदै गएको छ । विगतमा जिविसले निर्देशिका जारी गरिसकेपछि सरकारी तथा गैरसरकारी संस्थाहरूले आफूखुसी त्यस क्षेत्रमा योजना सञ्चालन गर्न नमिल्ने जिविसको ठहर थियो तर सबैले आफूखुसी काम गरिरहेका छन् । चुरे शिवालिक क्षेत्रमा सरकारी तथा गैरसरकारी संस्थाहरूले काम गरिरहेका छन् । तर प्रभावकारिता भने अत्यन्त न्यून छ ।

पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म फैलिएको चुरे क्षेत्रको विनाश र भूक्षय बर्सेनि २ दशमलब ७५ प्रतिशतले हुने गरेको छ । यो क्रम नरोकिएमा बर्सेनि जंगलको विनाश र भूक्षयको प्रतिशत बढ्दै जाने भएकाले कम्तीमा २५ वर्षमा मुलुकको अन्न भण्डारका रूपमा चिनिएका तराईका ऊर्वर जमिन बालुवामा परिणत हुने जिल्ला समन्वय समितिको ठहर छ । चुरे संरक्षणका लागि चुरे राष्ट्रपति कार्यक्रम विगत केही वर्षदेखि सञ्चालन गरिएको छ ।

कार्यक्रमले चुरे संरक्षणका कामलाई गति दिएको छ । मकवानपुरमा बकैया गापाको केही क्षेत्रमा संरक्षणका काम पनि भएका छन् । ८ सय ८५ किमि लामो रहेको उक्त चुरेक्षेत्र पहाडी तथा तराईका गरी ३४ जिल्लामा फैलिएको छ ।

पर्वतीय शृंखलाहरूमध्ये सबैभन्दा कान्छो र होचो पहाडका रूपमा रहेको चुरेक्षेत्रको माटो अस्थिर र भिरालो भएकाले वर्षाको पानीले नै यो क्षेत्र भूक्षय तथा पहिरोबाट ग्रसित हुने गर्छ भने अर्कोतिर मानवीय गतिविधि आगोमा मट्टितेल खन्याएको जस्तो भएको छ । मुलुकको १२ दशमलब ७ प्रतिशत भूभाग ओगटेको चुरेक्षेत्रको विनाश आफैंमा मात्रै सीमित नरहेर तराईको ऊर्वर भूमिको विनाशको कारण बन्न पुगेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?