कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङबेंसी–टारीबेंसी सडक ठेकेदारको लापरबाहीले बनेन

१८ महिनामा २० प्रतिशत मात्रै काम
नगरपालिका क्षेत्रमै हिलो
६ किलोमिटर पार गर्न ७ घण्टा
हरिहरसिंह राठौर

धादिङ — सदरमुकामदेखि टारीबेंसी हुँदै बसेरी जान तयार भएको ना ४ ख ५३४९ नम्बरको बसले गत बिहीबारदेखि टिकट काट्दै फिर्ता गर्दै आएको छ । हरेक बिहान यात्रुहरू पुछार बजारको काउन्टरमा पुग्छन्, बस जाने आशामा चलनचल्तीको मूल्यभन्दा बढीमा टिकट काट्छन् तर बस भने गन्तव्यतर्फ जाँदैन ।

धादिङबेंसी–टारीबेंसी सडक ठेकेदारको लापरबाहीले बनेन

यात्रुकै करकापले आइतबार बिहान पुछार बजारबाट छुटेको ना३ख ९०४० नम्बरको बसलाई सदरमुकामदेखि ६ किलोमिटर टाढा पुग्न ७ घण्टा लाग्यो । आइतबार बिहान घाम लागेको देखेर सदरमुकामदेखि टारीबेंसी हुँदै सल्यानटार जाने बस तथा ढुवानी साधन सदरमुकामकै मुरली भञ्ज्याङका दर्जनौं हिलाम्मे तालमा चोपलिँदै फर्के ।

जिल्ला सदरमुकाम धादिङबेंसीबाट २८ किमि दूरीको टारीबेंसी जोड्ने सडकखण्ड स्तरोन्नतिका नाममा जनतालाई सास्ती भएको छ । स्तरोन्नति गर्ने जिम्मा लिएको लामा कन्ट्रक्सनले निर्माण थालेको १८ महिना बित्न लागिसक्यो तर अपेक्षित प्रगति भने हुन सकेको छैन । सडक स्तरोन्नतिका नाममा खनेर लथालिङ्ग छोडा सडकमा पैदल, मोटरसाइकल मात्रै हैन ढुवानी साधनसमेत हिलोमा फस्ने गरेका छन् ।

निर्माण कार्य भइरहँदा एम्बुलेन्स लगायत अत्यावश्यक सवारीसाधनसमेत चल्न सकेका छैनन् । स्थानीय विद्यालयहरूमा बालबालिकाहरू पढ्न जानसमेत कठिन भएको छ । ‘सडकको साटो मकैबारीबाट हिँड्नुपर्ने हुन्छ,’ पाल्पाभञ्ज्याङकी स्थानीय भगवती अधिकारीले भनिन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा हुन लागेको २५ वर्ष पुरानो सदरमुकाम सल्यानटार सडक यसअघि पनि २ पटक स्तरोन्नति र वाटरसिल भइसकेको छ । जिल्लाका पश्चिम, उत्तर र छिमेकी जिल्ला गोरखाको मनास्लु पदमार्ग जाने प्रमुख मार्गका रूपमा परिचित उक्त सडक स्तरोन्नति गर्न लामा कन्स्ट्रक्सनका ठेकेदार जिपछिरिङ लामाले ६२ करोडमा जिम्मा लिएका छन् । लामा उनै हुन् जसले नारायणगढ मुग्लिन सडक खण्डको दोस्रो खण्ड दासढुंगा सिमलतालको पनि जिम्मा लिएका छन् ।

दुई वर्षमै निर्माण सम्पन्न भइसक्नुपर्नेमा बितेका १८ महिनामा २० प्रतिशत पनि कार्यप्रगति नदेखिएपछि प्रदेश सांसद जगत सिंखडाले निर्माण कम्पनीमै पुगेर चेतावनी दिए । सल्यानटार निवासी सांसद सिंखडाले भीर, पहिरो, चट्टान कुनै पनि नभएको सडक निर्माणको गर्न ठेकेदार कम्पनीले लापरबाही गरेको पाइएपछि समयमा काम सक्न मौखिक चेतावनी दिएर फर्केको र प्रदेश सरकारले मूल ठेकेदारलाई सम्पर्क गर्न बोलाएको बताए ।

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी, गंगाजमुना र ज्वालामुखी लगायत उत्तर पश्चिमी क्षेत्रका बासिन्दा सडक निर्माणमा ढिलासुस्ती हुँदा मारमा परेका छन् । वर्षायाम सुरु नहुँदै स्थानीय बासिन्दाले झनै सास्ती भोग्नुपरेको छ । ‘भूकम्पको राहतको रकमले घर बनाइसक्नुपर्नेछ । तर गाडी जान नसक्दा निर्माण सामग्री लान सकिएको छैन,’ त्रिपुरासुन्दरी गाउँपालिका सल्यान्टारका राजन कुमालले भने, ‘राहतको रकम लिएर घर बनाउने सामन लिएर जानुपर्ने छ । तर, बाटो भत्किएका कारण लैजान सकिएको छैन ।’

ठेकेदार जिपछिरिङ लामाको ‘लामा कन्सट्रक्सन’ ले करिब ६२ करोडको ठेक्का हात पारेको थियो । तर, उनले भने निर्माणका लागि ठेकेदारलाई दिएका छन् ।

‘हामीले जिल्लाको पेटी ठेकेदारलाई काम दिएका हौं । हामीले त निगरानी गर्ने मात्रै हो,’ लामा कन्ट्रक्सनका एक अधिकारीले भने, ‘हामीले पेटी ठेकेदारलाई नै दिने गरेका छाँै ।’

प्रकाशित : जेष्ठ १२, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?